Monday, 15th June, 2026
वि.स.

कोरोना नियन्त्रणमा बागमती प्रदेशको पहल

samajik-bikas-mantralaya-1588487279.jpg

नेपालमा कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि संघीय संरचना सार्थक देखिएको छ । काम थालेको दुई वर्षमा आफ्नै संरचनासमेत राम्रो व्यवस्थित गरिनसकेको बागमती प्रदेशले अस्पताल निर्माण गर्नेदेखि राहत वितरणसम्मको काममा संघले भन्दा बढी सक्रियता देखाएका छन् ।

ठूला केन्द्रीय अस्पताल र प्रयोगशाला आफ्नै प्रदेशमा रहेका कारण वाग्मती प्रदेशलाई भने केही सहज छ । काठमाडौंमा गरिने उपचार र परीक्षणलगायतका काम संघ सरकारबाटै भइरहेकाले प्रदेशलाई सजिलो भएको हो । तर, प्रदेश सरकार संघकै तयारीमा निर्भर छैन । काठमाडौंबाहिर भरतपुरमा कोभिड अस्पताल सञ्चालनका लागि प्रदेशले १ करोड सहयोग गरेको छ ।

प्रदेश सरकारले काठमाडौं विश्वविद्यालयमातहतको धुलिखेल अस्पताललाई कोभिड उपचारमा सक्रिय पार्न २० लाख र रत्ननगरस्थित अस्पताललाई २० लाख सहयोग रहेको सामाजिक विकासमन्त्री युवराज दुलाल बताउँछन् । प्रदेश मातहतका ८ जिल्ला र स्थानीय तहअन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिडकै उपचारका लागि प्रदेशले ८ करोड रुपैयाँ विनियोजन गरेको छ । आईसीयू शय्या नरहेका हेटौंडामा १० तथा भक्तपुर र सिन्धुलीका अस्पतालमा ५र५ वटा आईसीयू शय्या प्रदेशले तयार पारेको छ । भक्तपुरमा ३ र हेटौंडामा २ वटा भेन्टिलेटर पनि जडान गरिएका छन् ।

प्रदेशहरुले आफ्ना प्रदेशभित्र कोभिड उपचारका लागि तोकेका अस्पताललाई चाहिने आवश्यक भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्थापन गरेको छ । त्यसलाई चाहिने बजेटका लागि प्रदेशको ढुकुटी खोलिएका छन् ।

संघ सरकारले फागुन १८ गते कोभिडसम्बन्धी काम गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएपछि कामले गति लिन थालेको हो तर प्रदेश सरकारहरु चीनको वुहानमा कोरानाको संक्रमण तिब्र गतिमा फैलिएलगत्तै तातेका थिए । गण्डकी प्रदेशले माघ १२ बाटै विभिन्न कार्यदलहरु बनाएर काम थालेको सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताइन् । संघले पोखरास्थित गण्डकी अस्पताललाई कोभिडको उपचारका लागि नतोक्दै प्रदेशले आफू मातहतको बाग्लुङस्थित धौलागिरि अस्पताललाई त्यसका लागि तयार पारेको थियो । 
इकान्तिपुरबाट ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०