nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काम नगर्ने ठेकेदारलाई थाहा नगरपालिकाले कारबाही प्रक्रिया थाल्यो

मकवानपुरको थाहा नगरपालिकाले ठेक्का सम्झौता गरेर लामो समयसम्म काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले दुई निर्माण कम्पनीले पाँच वटा योजना समयमै सम्पन्न नगरेपछि ८ असोजमा सूचना प्रकाशित गरी कारबाही थालेको हो । आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा विभिन्न योजनाहरुको ठेक्का पाई हालसम्म पनि योजना सम्पन्न नगरेका ठेकेदारहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भई २०७५ असार मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने थाहा नगरपालिका वडा नम्बर ७ र ८ को वडा कार्यालय भवन निर्माण हालसम्म पनि सम्पन्न नगरेपछि टि.एफ.टि. कन्सट्रक्शन सिनधुपाल्चोकका ठेकेदार शम्भु बानियाँलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नगरपालिकाले सूचीत गरेको छ । पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएपछि नगरपालिकाले ८ असोजमा प्रकाशित गोरखापत्रमा सूचना प्रकाशित गरेको छ । 

त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा ठेक्का सम्झौता भई २०७६ असार मसान्तसम्ममा सम्पन्न गनुृपर्ने थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन बसपार्क र थाहा स्मारक पार्क तथा वडा नम्बर २ मा संचालित पालुङ बँदेली सडक निर्माण कार्य हालसम्म पनि सम्पन्न नगरेकोले प्रोग्रेसिभ कन्सट्रक्शन कालिमाटीका आशिष कार्कीलाई पनि ७ दिन भित्र कार्यालयमा सम्पर्क राख्ने व्यहोराको सूचना ८ असोजको  गोरखापत्रमा सूचना प्रकाशित गरीएको छ । थाहा नगरपालिकाले पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुँदा ७ दिन भित्र कार्यालयमा उपस्थित हुन र उपस्थित नभएमा आवश्यक प्रक्रिया अघि बढाइने भनी गोरखापत्र दैनिकमा सूचना प्रकाशन भएको हो । 

ठेकेदारहरुले ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगरेको भनी ठेकेदारहरुलाई थाहा नगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाएको यो पहिलो घटना हो । गोरखापत्रमा ८ असोजमा प्रकाशित ७ दिने सम्पर्क राख्न आउने बारेको सूचना बमोजिम ठेकेदारहरु सम्पर्क राख्न नआएमा सार्वजनिक खरिद नियमावली बमोजिम ठेक्क सम्झौता तोड्ने र कालोसूचीमा राख्ने सम्मको कारबाही हुने थाहा नगरपालिका योजना महाशाखा प्रमुख विवेक विडारीले बताए । 

आर्थिक वर्ष २०७५/०७६ मै ठेक्का सम्झौता भई हालसम्म काम सम्पन्न नभएको वडा नम्बर ५ को सरस्वती बजार–बुढिचौर सडक र चित्लाङ ताकातार खर्क सडक भने ठेकेदार सम्पर्कमा आई काम संचालनमा रहेकोले २०७७ असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्य अघि बढाएकोले उक्त योजनाका ठेकेदारलाई भने कारबाही प्रक्रिया अघि नबढाएको थाहा नगरपालिका आर्थिक प्रशासन शाखाले जनाएको छ । यद्यपि काम ढिला गरे वापत निर्माण व्यवशायीलाई हर्जना भने लाग्ने नगरपालिका आर्थिक प्रशासन शाखाले जानकारी दिएको छ । 

गोरखापत्रमा सूचना प्रकाशन गरी थाहा नगरपालिकाले ठेकेदारलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको सम्बन्धमा मकवानपुर निर्माण व्यवशायी संघ थाहानगर समितिका अध्यक्ष राजन ढकालले ठेकेदारकै कारणले समयमै ठेक्का सम्पन्न नगरिदिँदा सबै निर्माण व्यवशायीले त्यसको बदनामी सहनु परेको बताए । नेपालमा कोभिड–१९ का कारण भएको लकडाउनले काम सम्पन्न गर्न केही ढिला भएता पनि कार्यालयमा ठेकेदारले सम्पर्क गरी निश्चित समयमा काम सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेमा र कार्य शुरु गरेमा कार्यालयले केही लचकता अपनाइदिन अध्यक्ष ढकालले अनुरोध गरे । 

हेर्नुहोस् गोरखापत्र दैनिकमा प्रकाशित सूचना:



 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)