Tuesday, 16th June, 2026
वि.स.

ओमानबाट आइपुगे १६६ नेपाली, अर्को उडान असार ४ गते

udan-1592219561.jpg

ओमानबाट १६६ नेपाली काठमाण्डौमा आइपुगेका छन् । कोरानाको कारण समस्यामा परेका १६६ जना नेपाली सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत स्वदेश फर्किएका हुन् । जहाजले एउटा शव पनि ल्याएको छ ।

समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर सार्वजनिक गरे पनि त्यहाँ रहको नेपाली दूतावासले सरकारले तोकेको मूल्यभन्दा सस्तो भाडादरमा नेपालीलाई स्वदेश पठाएको हो ।

एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकिएको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो ।

ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभएको छ । पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।कतिपय नेपालीले आफैंले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ । समस्यामा परेका १३ जना महिलालाई भने दूतावासले नै खर्चको व्यवस्थापन गरेर पठाएको राजदूत पराजुलीले जानकारी दिनुभयो ।

दोस्रो उडान असार ४ गते हुँदैछ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कनेछन् । उनीहरुको सूची दूतावासले सार्वजनिक गरिसकेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०