Tuesday, 16th June, 2026
वि.स.

अहिले कहाँ छ नेपाल आइपुगेको सलहको झुण्ड?

IMG_20200628_225637-1593364326.jpg

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अहिलेसम्म सलहले नेपालमा ठूलो क्षति नगरेको जानकारी दिएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी रुपन्देहीको सैनामैनास्थित मकैबारीमा बसेको सलहले सामान्य क्षति गरेको जनाएको छ ।

मन्त्रालयद्वारा सलहको अध्ययन तथा नियन्त्रण र रोकथामका लागि गठीत प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईले बाली नै नष्ट हुने गरी क्षति नगरेको बताए ।

बयस्क किरा फूल पार्ने स्थानको खोजिमा रहेकाले पनि छिटो छिटो स्थानान्तरण भइरहेको हुनसक्ने कृषि विज्ञहरुको अनुमान छ ।

“दुई किसिमका सलह किरा आएका छन् । एउटा परिपक्क वयस्क छ भने एउटा अपरिपक्क वयस्क छ । परिपक्क वयस्कको फूलपार्ने समय भएकाले तिनिहरु फूलपार्ने ठाउँको खोजिमा रहेका छन् । उपर्युक्त ठाउँ पाएनन् । त्यसैले पनि स्थान परिवर्तन गरेको हुनसक्छ,” प्लाण्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख समेत रहेका हुमागाई भन्छन् “भारतमा ठूलो मात्रामा विषादी प्रयोग भएको र बाँचेका किराहरु फुत्केर हावाको चापसंगै नेपालमा आएका हुन् । अर्को झुण्ड प्रवेश गरेन भने त्यति धेरै आत्तिनु पर्ने अवस्था छैन ।”

सलहलाई फूलपार्नका लागि तातो हावापानी र मरुभुमि नै चाहिन्छ । त्यो हावानी नेपालमा नभएकाले सलहको संख्या वृद्धि नेपालमा हुननसक्ने कृषि विज्ञहरु बताउँछन् ।

नेपालमा प्रवेश गरेको सलहको झुण्डले छिनछिनमा स्थान परिवर्तन गरिररहेको छ । हिंजो सर्लाहीमा देखिएको सलहको झुण्ड सिन्धुलीको भिमान हुँदै त्यहाँबाट पनि चियावारीमा पुगेको थियो । चियाबारीमा रातभर बसेको झुण्ड साँझपख काभ्रे आइपुगेको छ ।

विहानदेखि पानी परिरहेका कारण एक घण्टा घाम लागेपछि मात्र त्यहाँबाट उडेको हुमागाईले बताए । “सलहलाई उडान भर्न अगाडी शक्ति चाहिन्छ, त्यो शक्ति उनीहरुले घामबाट प्राप्त गर्दछ, घाम नलागे सलहको झुण्ड चलायमान हुन सक्दैन,” हुमागाईले भने ।

त्यसैगरी मकवानपुर हुँदै प्रवेश गरेको अर्को झुण्ड चितवनको कालिका गाउँपालिकाको पदमपुर माथिको जंगलमा बसेको छ । अर्को झुण्ड मकवानपुर र काभ्रेको जंगलमा छ ।

रुपन्देहीमा हिंजो देखिएको झुण्ड दुई भागमा बाँडिएको थियो । एउटा झुण्ड पाल्पातिर गएको थियो भने अर्को झुण्ड पश्चिमतिर । सैनामैनामा आज विहानसम्म देखिएको झुण्ड पनि त्यहाँबाट पाल्पातिर गएको छ ।

त्यसैगरी आज दिउसो ४ बजे कपिलवस्तुको तौलिहवामा देखिएको सलहको झुण्ड पनि दुई घण्टापछि अन्यत्र गएको छ ।

कृषि विज्ञहरुका भनाईमा सलहको सरदर आयु करिव ३ महीनाको हुन्छ । एउटा वयस्क सलह ६ हप्तासम्म बस्न सक्छ । तर, नेपालमा प्रवेश गरेका सलहको उमेर भने एकिन गर्न सक्ने अवस्था छैन । त्यसकारण पनि यी कति दिनसम्म बाँच्छन भन्नसक्ने अवस्था नरहेको हुमागाई बताउँछन् ।

अर्को खतरा

नेपालमा अहिले देखिएको सलहको झुण्डले बाली नालीलाई क्षति गर्ने ठूलो सम्भावना नदेखिए पनि अर्को खतरा देखिएको छ । त्यो हो, राजस्थानमा रहेको सलहको झुण्ड नेपालमा आउन सक्ने । कृषिविज्ञहरुका भनाईमा राजस्थानमा देखिएको सलहको झुण्ड हावाको वेगसंगै दिल्लीतर्फ अघि बढिरहेको छ ।

अहिले हावाको वेग नेपालतर्फ नै आइरहेकाले सलहको ठूलो झुण्ड नेपालमा आउनसक्ने खतरा रहेको कृषि विज्ञहरुले औल्याएका छन् ।

-हिमालखबरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०