Tuesday, 16th June, 2026
वि.स.

अरु तीन दिन देशैभर वर्षा हुने, सजग रहन आग्रह

प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा शनिबार (२७ असार) राति भारी वर्षा भएको छ। अन्य प्रदेशमा पनि मध्यम र हल्का वर्षा भएको छ। देशभर अरु तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नं. १ को इलाम, झापा मोरङ, प्रदेश नं. २ को राजविराज, बागमतीको मकवानपुर र गण्डकी प्रदेशको स्याङ्जामा भारी वर्षा भएको छ। इलाम, मकवानपुर र स्याङ्जामा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ। राजविराजमा पनि ९० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढीलाई भारी वर्षा भनिन्छ।

आज पनि प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकीका साथै सूदूर पश्चिमका केही भागमा भारी वर्षाको सम्भावना छ। गत विहिबारदेखि दक्षिण तर्फबाट नेपाल प्रवेश गरेको न्यूनचापीय रेखाका कारण देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले प्रदेश १ र २ मा भारी वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार भारी बर्षाले बाढी र पहिरोको सम्भावना अधिक रहन्छ।  त्यसकारण सचेत रहन आग्रह गरिएको छ।

भारी वर्षापछि नदीको सतह खतराको विन्दुसम्म आइपुग्न सक्ने भन्दै सजगता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई महाशाखाले आग्रह गरेको छ। महाशाखाले निकालेको बुलेटिनमा नदी किनारा भएर यात्रा गर्दा पनि सजग रहन आग्रह गरिएको छ।

खासगरी विरिङ, निन्दा, कन्काई, मावा(रतुवा), लोहन्द्रा, चिसाङखोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बलन, खुट्टी, चुरियाखोला, माउली, बकैयामा पानीको सतह खतराको विन्दुसम्म आइपुग्ने संभावना छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०