Friday, 19th June, 2026
वि.स.

अनुदानको मलमा कालोबजारी गर्ने सहकारी सञ्चालक पक्राउ

Pakk-1587128306.jpg

कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानको रसायनिक मल किनेर बढी मूल्यमा बिक्री वितरण गरेको अभियोगमा बारामा एक जना पक्राउ परेका छन्। कालोबजारीको आरोपमा कोल्हवी नगरपालिका-१ बस्ने शम्भु साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। साहले रु.७ सयमा खरीद गरेको युरिया मल रु.९ सयमा बिक्री गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

साहले आफ्नै घरमा श्री लक्ष्मी बहुमुखी सहकारी संस्था संचालन गरी मलखाद कृषि सामग्री कम्पनी लिमिटेड कलैया तथा साल्ट ट्रेडिङ वीरगंजबाट खरीद गरेर बढी मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनको घरमा राखिएको युरिया मल १ सय ८१ बोरा, कृषक पोटास ८३ बोरा, एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा बरामद गरी सहकारी संस्था सिलबन्दी समेत गरेको छ।

साह उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ