nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हिले वर्षाको पानी प्रयोग नगर्नू, शरीर देखाएर नहिँड्नू

आकासे पानी संकलन गरेर पानीको गर्जो टार्दै आउनु भएको छ ? छ भने होसियार, पछिल्लोपटक परेको यस्तो पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीको साथै छाला र आँखाको समस्या निम्ताउने खतरा पनि हुन्छ ।  विशेषगरी पानीको अभाव रहेको काठमाडौं उपत्यकामा आकासे पानी ट्यांकीमा बचत गर्ने र प्रयोग गर्ने चलन छ । विज्ञहरुले आकासे पानी पिउनयोग्य हुने बताउँदै आएका थिए तर, शुक्रबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको हिलोसहितको पानी भने निकै दूषित छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे दूषित वर्षा भइरहेकाले केही दिन आकासे पानी प्रयोग नगर्न सुझाव दिन्छन् । डा. पाण्डे भन्छन्, ‘वायुमण्डलमा धूलो सघन रहँदा यस्तो वर्षामा विभिन्न हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु छन् । जसले झाडावान्ता, टाईफाईड, जन्डिसजन्य समस्या, छालाको एलर्जी, आँखाको एलर्जी तथा अन्य महामारी फैलिने खतरा छ ।’

यदि त्यो धमिलो पानी ट्यांकी वा कुनै भाँडोमा संकलन भएको छ भने फ्याकिदिनुपर्ने वा प्रयोग गर्नै परेमा शुद्धीकरण गर्नुपर्ने पाण्डे बताउँछन् । 

‘कथंकदाचित हिजोको पानी ट्यांकीको पानीमा मिसिएको छ भने उक्त पानी निकालेर ट्यांकी सफा गर्नुहोला वा पानीमा क्लोरिन चक्की, पियूष आदि राखेर, उक्त पानीलाई फिल्टर गरेर एवं १५ मिनेट उमालेर मात्र प्रयोग गर्नुहोला,’ डा. पाण्डे सुझाव दिन्छन् ।

भिज्नु पनि हानिकारक

विज्ञहरुको अनुसार दूषित वर्षा भइरहेकाले भिज्नु पनि हानिकारक हुन्छ । विज्ञहरुले पानीमा नभिज्न र काठमाडौंको धुलोबाट समेत सचेत रहन सुझाएका छन् ।

डा. पाण्डेका अनुसार धुलोबाट बच्न गुणस्तरको मास्क, आँखा पूरै छोपिने चस्मा तथा शरीर पूरै छोपिने खालका कपडाको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

काठमाडौंको वायुमण्डलमा प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीले विशेष ख्याल गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरुको सुझाव छ ।

मौसमविद सुभास रिमालका अनुसार भारतका विभिन्न स्थानमा केहि दिनयता आएको हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो र त्यो बालुवा उच्च वायु हुँदै नेपालको आकाशसम्म फैलियो । पानी परेपछि धूलो पनि मिसियो, जसले गर्दा पानी धमिलो भयो ।

यस्तो धमिलो वर्षा अझै केही दिन जारी रहने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विज्ञप्ति नै निकालेर भनेको छ, ‘राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलेरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सकृय भै देशको पश्चिमी भागसम्म नाफैलिँदासम्म अझै केहि दिन सो धुलोको प्रभाव नेपालको वायूमण्डल तथा पानीमा देखिने सम्भावना छ ।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)