Wednesday, 25th November, 2026
वि.स.

हिमालयन लघुवित्तले माग्यो ३० जना कर्मचारी, एसएलसीदेखि एसईई उत्तीर्णले आवेदन दिन सक्ने

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कनिष्ठ सहायक (फिल्ड सहायक) पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले मंसिर ९ गते सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको संस्थाले प्रशिक्षार्थी तथा स्थायी सेवाका लागि कर्मचारी नियुक्त गर्न लागेको हो। रिक्त पदका लागि न्यूनतम एसएलसी वा एसईई तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदन दिन चाहने उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

महिला उम्मेदवारको हकमा भने उमेरको माथिल्लो हदमा थप ५ वर्ष छुट दिइने संस्थाले जनाएको छ। मोटरसाइकल चालक अनुमतिपत्र प्राप्त गरी आफ्नै सवारीसाधन भएका उम्मेदवारलाई विशेष ग्राह्यता दिइनेछ। त्यस्तै, कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएका तथा काठमाडौं उपत्यकाबाहिरका दुर्गम र ग्रामीण क्षेत्रमा रहेका कार्यालयमा रहेर काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

उम्मेदवारको छनोट प्रस्तुतिकरण तथा अन्तर्वार्तामार्फत गरिनेछ। छनोट सूचीमा परेका उम्मेदवारलाई मात्र आगामी छनोट प्रक्रियामा सहभागी गराइने संस्थाले जनाएको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बायोडाटा, हालसालै खिचेको फोटो र नागरिकताको प्रतिलिपिसहित आवेदन दिन सक्नेछन्।

अनुभव भएका उम्मेदवारले अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ। आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र https://rigojobs.com/company/hlbsl मार्फत अनलाइन वा संस्थाका पायक पर्ने शाखा कार्यालय तथा चाबहिल, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ। कर्मचारीको तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार हुने सूचनामा उल्लेख छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०