nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सन्दर्भ नारी दिवसः पुरुष कार्यक्रममा बारीमा नारी
जनप्रतिनीधि र नेताको आ–आफ्नै बहानाबाजी

नारी दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वभावैले नारीहरुको उपस्थिती हुने नै भैहाल्यो । सन्दर्भ पालुङ बहुउद्देश्य सहकारी संस्थाले श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमको हो । सहकारी थाहानगरमा महिलालाई आर्थिक सम्वृद्धिमा नेतृत्व आएको संस्थाको रुपमा परिचित छ । दिवसको अवसरमा ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तरको रुपान्तरण’ भन्ने मुल नारा सहित कार्यक्रम भएको हो । 

१०८ औं श्रमिक महिला दिवसको अवसरमा संस्थाको आयोजनामा भएको कार्यक्रममा थाहानगर सहित विभिन्न स्थानका महिलाहरुले एक स्थानमा जम्मा भएर नारी दिवस मनाउने अवसर पाए । संस्थाले थाहा नगरपालिकाको थानाबजार, बज्रबाराही र चित्लाङमा दिवसको अवसरमा कार्यक्रमहरु गर्ने तारतम्य मिलाय, फलस्वरुप कार्यक्रम पनि भयो । विशेषतः कार्यक्रम महिला दिवसको अवसरमा थियो, सहकारीको बचतकर्ता तथा सेयर सदस्यहरु धेरै भएका कारण पनि कार्यक्रममा सोचे भन्दा बढी नै महिलाहरुको सहभागिता देखियो । थाहा नगरपालिका डाँडाबास, आग्रा, फेदीगाउँ, गोपालीगाउँ, शिखरकोट, धारापानी, किटेनी, थानाबजार, ओखरबजार, पालुङ, फाँटबजारलगायत विभिन्न स्थानबाट महिलाहरु कार्यक्रम सफल बनाउन संस्थाको कार्यालय थाना बजार पुगे । महिलाहरु आफ्नो हक अधिकार सुनिश्चितताको लागि कार्यक्रममा सहभागी भएका थिए भलै सहकारीको कार्यक्रम सफल पार्न हैन । 

नारी दिवसको कार्यक्रम साँच्चै नारीहरुले नेतृत्व गर्लान् भन्ने कुरा धेरैले अड्कल काटेका थिए । तर कार्यक्रमले अर्कै मोड लिँदै गयो । कार्यक्रमको सुरुवातमा महिलाहरु अगाडी पुरुषहरु मात्र एक लाइन भएर पछाडीको कुर्सीमा बसेका थिए, झट्ट हेर्दा महिलाहरुलाई नेतृत्व गर्न छोडीदिएको जस्तो देखिन्थ्यो । कार्यक्रममा महिला कर्मचारीहरुले पानीको ब्यवस्थापन गर्दै रहे, केही पुरुष कर्मचारीहरु पनि ब्यस्थापनमा नजुटेका भने होइनन् । मञ्चमा राखीएका सम्पुर्ण कुर्सीहरु भरिभराउ थिए, धेरैजना महिलाहरु पालमा पनि बसे । केही समय पश्चात कार्यक्रम सुरु भयो, सुरुमा पछाडी बसेका पुरुषहरु सबै बिशेष अतिथि, अतिथि हुँदै मञ्चमा आशन ग्रण गर्न पुगे । तर महिलाहरु जहाँको त्यही दर्शक भएरै छाडे । उपस्थिति बाक्लिदै जाँदा मुस्किलले ३ जना महिला सदस्यहरु अतिथिको आसनमा थिए । यसरी अतिथी भएका तीन महिला जो स्थानीय तहको निर्वाचनमा महिला सदस्यको रुपमा निर्वाचित जनप्रतिनिधि थिए । 

पुरुष वक्ता, महिला स्रोता

यसवर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै श्रमिक महिला दिवसमा पुरुषले सम्पन्न गरे । महिलाको अधिकारको विषयमा उनीहरुले नै भाषण गरे, मञ्चमा सिट पनि आफैले नै ओगट्न भ्याए । बरु, कार्यक्रममा पुरुषहरुले भाषणको सट्टा महिलालाई गित गाउने मौका जुराए, अतिथीको कुर्सीमा बसेर पुरुषहरुले ताली ठोके । महिलाहरुले गित मार्फत समाजमा महिला अघि बढ्नु पर्नेलगायतको सवाल कोट्याए । कार्यक्रममा बोल्नको लागि महिलाहरुलाई अवसर दिइएको थियो, मञ्चमा रहेका महिलाहरुले आफ्नो अवस्था, समाजले महिलामाथि गर्ने ब्यवहार, महिला र पुरुषलाई समान ज्याला, महिलापछि पर्नका कारण र महिलाले नै महिलालाई गर्ने ब्यवहार लगायतको बिषयमा धक फुकाएर बोल्ने आँट भने गरेरै छाडे ।  

सहकारी संस्थाको आयोजनामा कार्यक्रममा उपस्थित हुन नपाएका तथा उपस्थित हुन नसकेका महिलाहरु घरको काम, खेतबरीमा आलु रोप्दै नारी दिवस मनाइरहेका थिए । उनीहरु आफ्नै दैनिकीमा ब्यस्त देखिन्थे । महिलाहरुलाई कार्यक्रममा आउने मन नभएको भने होइन, कतिपय महिलाहरुलाई आयोजकको निम्तो नपाएकाहरु थिए भने कतिचाहिँ कार्यक्रम भन्दा पनि घरको काम नै ठुलो छ भन्ने मानसिकताबाट ग्रसित थिए ।

जनप्रतिनीधिः बारीमा श्रीमती, कार्यक्रममा श्रीमान्

हामीले दिवसको सार्थकता खोज्ने प्रयास ग¥यौ । एक पत्रकार भएको नाताले विविध जिज्ञासा उठ्नू स्वभाविकै थियो  । कार्यक्रममा अतिथि, बिशेष अतिथि र प्रमुख अतिथि बन्न पुगेकाहरुलाइृ हामीले प्रश्न गर्यौ–‘तपाइको श्रीमतीको नाम के हो ? आज कहाँ छिन ? के गर्दै छिन ? कुनै सामाजिक संस्थामा आवद्ध छिन् ? किन महिलाको कार्यक्रममा नल्याउनु भएको, यस्तै–यस्तै ।’  

यस्तै प्रश्नमा हामीले नेकपा माओवादी केन्द्र माओवादीका थाहानगर इन्चार्ज बिष्णु बिष्टले जवाफ फर्काए–“तारा कार्की बिष्ट, आज घरमै छिन, घर कै कामहरु गर्दै होलिन् । अखिल नेपाल महिला संघको सदस्य हो । आज सहकारीको सदस्यहरुलाई मात्र बोलाएको हुनाले आइनन् ।” समाचार तयार गर्दै जाँदा थाहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेश केसीलाई पनि सोध्यौ, उनीकी श्रीमती हिरा केसी श्रीमान नारी दिवसको अवसरमा औपचारिक कार्यक्रममा सहभागी भइरहँदा हिरा  घरधन्दामै ब्यस्त थिइन् । खासै सामाजिक संस्थाहरुमा आबद्ध नरहेकी हिरा घर कुर्ने मान्छे नै नभएपछि कार्यक्रममा सहभागी नभएको अध्यक्ष केसीले बताए । केसीले भने–‘दुबैजना आउँदा घर ब्यवहार नै नचल्ने भयो, त्यसैले एक्लै आएँ।” नारी दिवसको अवसरमा हामीले यो खबर संकलनकै क्रममा थाहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष गुप्तबहादुर कार्कीलाई पनि भेट्यौ । अध्यक्ष कार्की पनि पालुङ बहुउद्देश्यीय सहकारी स.स्थाकै कार्यक्रममा सहभागी थिए ।  उनकी श्रीमती सानुनानी विरामी परेर घरैमा रहेको अध्यक्ष कार्कीले सुनाए । विरामी नभएको भए संगै कार्यक्रममा सहभागी हुने योजना रहेको कार्कीले सुनाए । सानुनानी पालुङ सहकारी पनि आवद्ध छिन ।

जवाफमा थाहा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष टिकाराम रुम्बाले भने “ कुमारी रुम्बा । घरमा घरको काममा ब्यस्त छिन । महिला बचत सहकारीमा आबद्ध छिन । आफुले कार्यक्रममा जाउँ पनि भनिएन, उस्ले जाने कुरा पनि गरिनन् ।”

जवाफमा थाहा नगरपालिका वडा नं ७ का वडा सदस्य दिपेन्द्र कुमार थिङले भने “घरको काममा ब्यस्त होला, महिलाको कार्यक्रममा पनि गइन कि । महिला स्वयमं सेवीका हुन ”

जवाफमा एमाले थाहा नगर कमिटिका अध्यक्ष तथा पालुङ बहुद्धेश्यिय सहकारी संस्था लिमिटेडका सचिब बिष्णु प्रसाद ढकालले भने “ लक्ष्मी ढकाल अर्थात दिल कुमारी अर्यालक । आफुसंगै कार्यक्रममा आएकी छिन । महिलालाइ पनि संगै लानु पर्छ, उसले जाने इच्छा पनि जनाइन मैले पनि जाम भने अनि संगै आयौँ ।”

जवाफमा थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्टले भने “कमला पाण्डे । अहिले हेटौडामा छिन । घर कै काम गर्दै होलीन, सम्पर्क भएको छैन । सेयर कारोबारको काम गर्छिन ।” यसप्रकारले थाहा नगरपालिकाका जनप्रतिनिधि र नेतुत्वकर्ताहरुको जवाफ थियो । कार्यक्रममा अतिथिको रुपमा रहेका ३ जना महिलाहरुलाइ पनि यस्तै प्रकारले प्रश्न गर्यौ, तपाइको श्रीमानको नाम के हो ? तपाइ यो कार्यक्रममा आउनलाइ घरमा कसरी कुरा गर्नु भयो ? श्रीमाने के गर्नुहुन्छ ? जवाफमा वडा नं २ का महिला सदस्य जानुका ढकाल भन्छिन “झनक प्रसाद ढकाल । घरमै हुनु हुन्छ । कार्यक्रममा जानुपर्छ भनेर स्वत स्फुर्त रुपमा आएको ।” जवाफमा वडा नं ४ का महिला सदस्य आरती तामाङ भन्छिन “मंगल तामाङ । जानु पर्छ चने पछि सहर्श रुपमा स्वीकृती दिनुभयो अनि आए । खेती किसान गर्नुहुन्छ ।” जवाफमा वडा नं ७ का महिला सदस्य सुन्तली माया गुरुङ भन्छिन “झम्क बहादुर गुरुङ । घर सल्लाह गरेर नै आएको, सहर्श रुपमा नै जानु भन्नुहुन्छ । खेती किसान गर्नुहुन्छ ।” 

कार्यक्रममा अधिकांश पुरुषहरुले महिलाको हक अधिकारको विषयमा भाषण ठोके । थाहा नगरपालिका वडा नं ७ का वडाध्यक्ष सनमसिं मोक्तानले वडाध्यक्षहरुसंग श्रम ऐन अनुसार ज्याला निर्धारण गर्नसक्ने अधिकार भएकोले महिला सदस्यहरुले मिलेर आवाज उठाउनु पर्ने बताए । समान ज्यालाको लागि आफ्नो वडाबाट नै सुरु गर्ने प्रतिबद्धता ब्यक्त गरे । यद्यपी थाहा नगरपालिकाको नगर सभाले महिला पुरुषको ज्यालादर एउटै बनाउने भन्ने निर्णय समेत गर्न सकेको छैन । महिला श्रमिक दिवस मनाउनु पर्ने कुरामा प्रतिक्रिया दिदै स्थानिय अक्कल बहादुर केसीले भने–‘मनाउन आवश्यक छ, महिलाहरुमा जनचेतना पुग्छ, केही नयाँ कुरा जान्ने अवसर पाउछन, सन्तानको राम्रो भबिष्यको लागि मातृशिक्षा अत्यावश्यक भएकोले यो दिवस पनि अनिवार्य छ ।’ कार्यक्रममा सहभागी हुन पुगेकी थाहानगर फेदीगाउँकी ईश्वरी केसीले भनिन्–‘महिलाहरु सधै घर ब्यवहारमा नै सिमित हुने भएकाले अघि बढ्न नसकेको हो, नयाँ कुरा सिक्नको लागि पनि यो दिवस जरुरी छ ।’ उनले थपिन्–‘महिलाहरु सधै मेलापातमा मात्र जानुपर्ने भएकोले केही नयाँ कुरा सिक्न पाइदैन, त्यसकारण पनि यो दिवस जरुरी छ , घरमा छोरी बुहारी दुबैलाइ छोरीको ब्यवहार गर्नुपर्छ ।’

ज्यलामै असमानता

कार्यक्रममा महिलाले अधिकार खोसेर होइन मन जितेर लिनु पर्ने सहभागी लक्ष्मी कार्कीले बताइन् । जानुका कार्कीले महिला पुरुषको समान सम्मान हुनुपर्ने, ज्याला बराबर हुनुपर्ने र बहुद्देश्यिय सहकारी नभएको भए महिलाहरुलाइ अघि बढ्न समस्याहुने बताइन । उनले थपे महिला मात्र नभइ पुरुषहरु पनि महिलाबाट अत्याचारमा रहेको बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लबसेर बिष्टले हिजोको पुरुष प्रधान देशले बनाएको नियमलाइ नारी पुरुष दुबैलाई उत्तिकै अधिकार भएकोले नारीले पनि पुरुस समान जिम्मेवारी बहन गर्न सक्षम हुनु पर्ने बताए । उनले बर्तमान समयमा छोरालाइ बोर्डिङ र छोरीलाइ सरकारी स्कुलमा राखी बिभेद गर्दैछौँ भने अहिले नारी दिवस मनाइरहनुमा कुनै औचित्य नभएको र सबैले आफ्ना छोरीहरुलाइ सक्षम बनायो भने यो नारी दिवस सार्थक हुने बताए ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।