Tuesday, 16th June, 2026
वि.स.

संक्रमित पत्रकार भन्छन्– सिडियो र डिएसपीसहित ७५ जनासँगै थियौँ

 पर्सामा कोरोना भाइरस संक्रमण अझै बढ्न सक्ने संभावना देखिएको छ । पर्सामा मंगलबार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना पत्रकार छन् ।

नारायणी अस्पतालका डाक्टर मदनकुमार उपाध्यायले पर्सामा थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको जानकारी दिनुभएको छ । ‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको छ ।’

संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्लामा भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्ध पर्साका पत्रकार आन्दोलनरत  छन् ।

आन्दोलन र त्यसबारे उनीहरुले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका हुन् । संक्रमित एक संचारकर्मीले भने– सिडियो र डिएसपीसहित हामी ७५ जना भन्दाबढी छलफलमा सँगै थियौँ ।’ यही कारणले पर्सामा कोरोना संक्रमण अझै बढ्न सक्ने स्थिति देखिएको हो ।