nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

व्यवशायिक किसान खोज्दैछन्, 'बिख'को विकल्प

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का कृष्ण गुरुङ व्यवशायिक कृषक हुन् । उनले तरकारी खेती गर्न थालेको दशक नाघिसक्यो । तरकारीबालीबाट राम्रो आम्दानी गर्दै आएका कृषक गुरुङ पछिल्लो समय फलफूल बालीतर्फ पनि आकर्षित भएकाछन् । उनको अहिले नर्सरी पनि छ। उनको नर्सरीमा स्याऊ, नास्पाती, आरुबखढालगायतको विरुवा हुर्किरहेका छन् । 

फूले रोपेको तरकारीबालीमा अलिअलि किरा लागेको देख्ने वित्तिकै विख किन्न बजार धाउने कृषक गुरुङ अहिले हत्तपत्त विख नै प्रयोग गर्दैनन् । बरु उनी, बालीमा किरा लागेको देखेपछि  तितेपाती, टिमुर र अरु पिरो तथा टर्रो हुने वनस्पती खोज्नतिर लाग्छन् । रोग किरा नियन्त्रण गर्नको लागि उनले घरमा गहुत संकलन गरेर राखेका छन् । त्यही गहुत र वनस्पती मिसाएर बालीमा छर्कदा किरा नियन्त्रण हुने उनको अनुभव छ । उनलाई विख हाल्दा मानिसलाई असर गर्छ भन्ने कुरा राम्रोसंग थाहा छ । आफूमा विखको नकारात्मक असरको ज्ञान बढ्दै जाँदा उनले विख हाल्न छाडेका हुन् । ‘मैले पाँच वर्ष भो विख त किनेकै छैन’ कृषक गुरुङले भने । सागपातमा त गहुत मात्रै छर्किदा पनि किराहरु मरिहाल्छ । जैविक विषादी बनाएर प्रयोग गर्दा न स्वास्थ्यलाई असर न माटो बिग्रने डर, उनी निर्धक्क जवाफ फर्काउँछन् । 

पाँचवर्ष अघि गाउँमै संचालन भएको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) पाठशालामा सहभागी भएपछि गुरुङले  तरकारीमा विख प्रयोग गर्न छोडेका हुन् । अर्गानिक उन्मुख भएर खेती गर्न थालेपछि गैरसरकारी संस्था लवग्रिन नेपाल र जिल्ला कृषि विकास कार्यालय मकवानपुरले पनि सहयोग गरेको उनको भनाइ छ । बज्रवाराहीका कृषक शंकर महर्जन अब्बल कृषक हुन् । थाहा नगरपालिका वडा नम्बर १३ का कृषक महर्जनले २१ हप्ते आइपीएम तालीम लिएका छन् ।   तरकारी रोपेपछि लिटरका लिटर विख ओसार्ने कृषक महर्जन पहिलेको तुलनामा ९० प्रतिशत प्रयोग घटाएको सुनाउँछन् । उनी भन्छन्–‘खै विख नै नहाले पनि उत्पादन घट्या छैन ।’ ‘उत्पादन साविकै छ बरु काउलीहरु चाहिँ बिख हालेको जस्तो उज्यालो देखिदैनन् अरु उस्तै हो’ महर्जनले भने । लगाएको बालीमा किरा लागे घरछेवैमा पाइने वनस्पती कुटेर हाल्ने गरेको उनले बताए ।

रोग किरालाई जैविक विधिबाट नियन्त्रण गर्न सकिने सुझाउँदै महर्जनले भने–‘बनमारा, खुर्सानी र टर्रो, पिरो हुने वनस्पती गाई भैसीको गहुतमा मिसाएर डेढ महिना राखेर छर्कदा किराको सातो जान्छ ।’  यसरी तयार गरेको झोललाई छानेर स्प्रे समेत गर्न सकिने उनले बताए । कृषक महर्जनले चारवर्षदेखि रसायनिक विख प्रयोग गर्न असाध्यै कम गरेको सुनाए ।  अर्गानिक नै भनेर गर्न असाध्यै गाह्रो कुरा भएको बताउँदै उनले अर्गानिक उन्मुखतर्फ भएकोे जानकारी दिए । तरकारी बढी फलाउन विख किन्ने वित्तिकै आफ्नो ज्यानको जोखिम शुरु हुने उनको महशुस छ । जब बिर्को खुल्छ तब हात, आँखा, शरिर सबै ठाउँमा असर शुरु हुने उनी बताउँछन् । जब बिखको विकल्प छ भने किन नगर्ने भन्ने थाहा पाएपछि विखको प्रयोग छाडेको कृषक महर्जको भनाइ छ । उनी कृषक समुहमा पनि आवद्ध छन् । अहिले समुहमा आवद्ध सबै किसान जैविकतर्फ आकर्षित भएको उनले बताए । शुरुमा ९÷१० जना आवद्ध भएको उनको समूहमा अहिले ९० भन्दा बढि कृषक आवद्ध छन् । गतवर्ष मात्र माटो परीक्षण गराएका उनको समूहमा आवद्ध किसानहरुले कुल १६ टन कृषि चुन छरेका छन् । यसमध्ये १० टन जिल्ला कृषि विकास कार्यालय मकवानपुरको ढुवानी अनुदानमा ल्याएको उनले जानकारी दिए । 

थाहा नगरपालिका वडा नम्बर ७ का किसान सानोभाइ खड्काले पनि यस वर्ष काउली र खुर्सानीमा विख थोप्पै पारेनन् । एकपल्ट पनि विषादि नछर्कीकन उनले उत्पादन बजार पु¥याए । तरकारीबालीमा  किराहरु देख्ने वित्तिकै उनी टपक्क टिपेर हातैले मार्छन् । अघिल्लो वर्ष विख हालेको तरकारी बिक्दैन भन्ने कुरा सुनेर हच्केका उनले अब विख नै प्रयोग नगरी तरकारी उत्पादन गर्ने लक्ष्य लिएका छन् । तरकारीमा विख छर्कदा आफैलाई पनि रोग लाग्ने, खानेलाई पनि असर गर्ने भएपछि खड्का विख नछर्कने मनस्थितीमा पुगेको बताउँछन् । अब २/४ वर्षमा अर्गानिक तर्फ जाने उनले शुरु गरेका छन् । गाउँमा एक्लैले विख नछर्केर अर्गानिक हुँदैन भन्ने कुराको उनलाई ज्ञान छ । त्यसैले उनले छिकमेकीहरुलाई पनि विख कम गर्न सुझाव दिन थालेका छन् । ‘गाउँमा सबैले बिख कम हाले अर्गानिक उत्पादन गर्न सकिन्छ’–खड्काले भने । उनी भन्छन्–‘जैविक विषादी बनाउन तालीम पाए सबै किसान यसतर्फ आकर्षित हुन्छन्, थाहा  नपाएरै अन्यौलमा परी रासायनिक मल र विषदी प्रयोग गरेका हुन् ।’

सघाउँदै सिसिडिएन 

मकवानपुरको ग्रामिण क्षेत्रमा भुकम्पपीडितहरुका लागि खाद्य सुरक्षा, खानेपानी तथा सरसफाई, उन्नत कृषि प्रविधिलगतायतका कार्यक्रमहरु संचालन गरिरहेको सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन)ले जैविक खेती प्रविधि तालीम दिन थालेको छ । किसानहरुलाई रसायनिक मल, विख प्रयोग गर्दा किसान र उपभोक्ता सबैमा असर पर्ने भएकोले किसानलाई जैविकतर्फ लाग्न तालीम दिएर सघाउन थालेको छ ।  

थाहा नगरपालिका, चित्लाङ, फाखेल र नामटार गाविसका एकसय २० किसानलाई जैविक खेती प्रविधि सम्बन्धी तालिम दिने सिसिडिएनको योजना रहेको जिल्ला कार्यक्रम संयोजक जगत बजगाइले जानकारी दिए । अहिलेसम्म संस्थाले ६३ जना किसानलाई तालीम दिइसकेको छ । खेतबारीको माटोमा अम्लियपन बढेकोले त्यसलाई घटाउन किसानलाई जैविक तर्फ उन्मुख गराउन यस्तो तालीमको आयोजना गरिएको संयोजक बजगाइले बताए । 
कार्यक्रम संयोजक बजगाईले भने–‘हामी विखको प्रमाणित विकल्प खोज्दै थियौं, त्यो हाम्रौ घरछेउमा पाइने भएपछि किन विख प्रयोग गर्नु भनेर किसानलाई जैविकमा आकर्षित गरेका हौ।’ सिसिडिएनले   मकवानपुरको फाखेलमा टनेलमा जैविक खेती प्रविधिबाट नमुना शुरु गरेको छ । माटोमा हुने मित्रजीव बढाउने र भएकालाई संरक्षण गर्नका लागि किसानहरुलाई सीप सिकाउने काम पनि संस्थाले गर्दै आएको छ । 

सरकारः सहुलियत दिदै सघाउँदै 

जिल्ला कृषि विकास कार्यालय मकवानपुरले व्यवशायिक कृषकहरुलाई रासायनिकको सट्टा जैविक विधिबाट खेती गर्नको लागि विभिन्न प्रोत्साहनको कार्यक्रमहरु संचालन गरिरहेको जनाएको छ । कृषकहरुलाई जैविक मल तथा विषादी तयार गर्ने प्राविधिक सीपहरु कृषि सेवा केन्द्र दामनबाट सहयोग भइरहेको सेवा केन्द्र प्रमुख विजयचन्द्र झाले बताए । किसानले आवश्यकता महशुस गरे कार्यालयमै वा फिल्डमै गएर पनि जैविक खेती प्रविधि सिकाउने प्रमुख झाले बताए । 
त्यस्तै खेतीयोग्य माटोलाई अम्लिय हुनबाट जोगाउनको लागि कृषि चुनमा प्रति किलो १० रुपियाँका दरले अनुदान दिने कार्यक्रम रहेको सेवा केन्द्रका कृषि प्राविधिक मधुसुदन आचार्यले जानकारी दिए । त्यस्तै कृषि चुन ढुवानी अनुदानका कार्यक्रमहरु पनि रहेको आचार्यले बताए । 

जैविक विधिबाट नमुना खेती पनि गर्ने योजना जिल्ला कृषिको योजना रहेको बताइएको छ ।कृषि सेवा केन्द्रले रसायनिक को सट्टा जैविक विधिबाट खेती गर्नका लागि कृषकहरुलाई भकारो सुधारका कार्यक्रमहरुमा पनि सहयोग गर्दै आएको छ । 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।