nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विष्ट खान्दानको ब्राण्ड घर्तिखोलाको ‘झिँङटी घर’

घर देख्ने वित्तिकै जिज्ञासा जागिहाल्छ, यो घर कस्को होला ? अनि, कति पुरानो होला ? मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको यो घर निकै पुरानो भैसक्यो । घर्तिखोलामा रहेको यसलाई ‘झिङटी घर’ भन्छन् । ऊ बेलामा झिँङटीले छाएकोले घरको नामै झिङटी घर भएको हो । त्यसोतः घर नदेख्नेहरुलाई पनि नामै काफी छ । ‘झिँङ्गटी घर’ भन्ने वित्तिकै पाकापुस्ताले अन्दाज लाइहाल्छन्,–‘यो त घर्तिखोलाको विष्टको घर हो ।’ थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टका हजरबुबा केशर बहादुर विष्टको जन्म पनि यहि घरमा भएको हो । केशरबहादुर डिट्ठा पदका थिए । विष्ट खान्दानको इतिहाँस बोकेकोले ‘झिङ्गटी घर’ यहाँको विष्ट ब्राण्ड हो । 

झिँङटी घर वि.सं. १८७० मा निर्माण गरिएको हो । अतिबल विष्टलाई भिमसेन थापाले पत्र पठाएर झिङ्गटी घर बनाउन भनेका थिए । थापाले विष्टलाई पत्रमा लेखेका थिए–‘घर्तिखोलामा घर तुल्याई बस्नू ।’ अतिबलले नेपाल एकीकरणका विभिन्न काममा सहयोग गरेकोले घर्तिखोलामा डाँडामुखदेखि भकारी ढुङ्गासम्मको जग्गा उपहार पाएका हुन् । पछि, भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म मुख्तियार भए । मुख्तीयार भनेको अहिलेको प्रधानमन्त्री सरहको पद हो । उनी राष्ट्रिय विभूति हुन् । थापाको घर्तिखोलाका विष्टसंग पछिसम्म सम्बन्ध राम्रोे थियो । अंग्रेज र गोरखाबीचको लडाईमा विष्टहरु (वि.सं. १८७१ देखि १८७२) सामेल भएका थिए । गोरखा भनेको त्यत्ति बेलाको नेपाल थियो, पुराना कुरा सम्झँदै ८६ वर्षिय भिम बहादुर विष्टले भने ।  

विष्टहरुको उद्गम थलो थाहानगर होइन । पश्चिमको कालिकोटबाट आएकाले यहाँका अधिकांश विष्टहरु आफूलाई ‘कालिकोटे विष्ट’ भन्छन् । कालिकोटबाटसेवा विष्ट यहाँ आएका थिए । सेवा अहिलेको ३ नम्बर वडाकै डाँडागाउँमा बसे । उनको छ भाई छोरामध्ये साहिँलो छोरो नन्दसिंह झिङटी घरमा पुगे । झिँङटी घर यहाँहा विष्टहरुको मुल घर मात्र होइन, जंगबहादुर राणाको ससुराली पनि हो । जंग बहादुरले अतिबलको नातिनी भक्तकुमारी विवाह गरेका थिए । भक्तकुमारी जंगबहादुरको ठाइली महारानी हुन् । 

झिङटी घरमा जन्मिएका रुपचन्द्र विष्टका हजुरबुबाले भिन्दो भएर माथ्लपट्टी अर्को घर बनाएका थिए । उनको घरको अहिले जग मात्र छ । झिँङटी घर अहिले देखे जस्तो थिएन । २० हात चौडासहित ६० हात लामो थियो । उचाई पनि तीन तले थियो । झन्झटिलो र घर छाउने झिँङटी पाउन छाडेपछि वि.सं. २०५४ सालमा झिङटी घरको छानो बदलियो, तर चिनारी बदलिएन । त्यही वर्ष घर मुडुल्याएर तीनलाई दुई तले मात्र बनाइएको हो । झिँङ्गटी घर अहिले जस्ताले छाएको छ । जस्ताले छाएकोले वि.सं. २०७२ सालको महाभुकम्पले डेक चलाउन सकेन । सुदर्शन विष्ट भन्छन्–‘झिङटी नझिकेको भए त्यसको बोझले घरमा क्षति पुग्न सक्थ्यो झिकेकाले केही भएन ।’ बुट्टेदार आँखी झ्यालहरुले सुन्दर देखिने यो घर निकै आकर्षक छ । घर बनाउनको लागि मात्रै किर्तिपुरबाट डकर्मी सिकर्मी झिकाइएको थियो । उनीहरुले यहिँ भट्टा बनाए, झ्याल कुँदे । महिनौ बसेर घर बनाए । घर पैचो सकेर फर्के । बेला बेलामा झिँङटीको सरसफाई गर्न र फेर्न आइरहन्थे, सुरदर्शन विष्टले सम्झैदै भने–‘झिङटीको लेबल नमिलेर पानी चुहियो भने पनि आइपुग्थे, बनाएर जान्थे । दशैमा झिङटीको सरसफाई गर्न पनि उनीहरुले नै सघाउँथे ।

थाहानगरका माथिल्ला सरकारी ओहोदामा पुगेका विष्टहरुको दरबिलो जग पनि झिङटी घर नै हो । झिँङटी घरकै सन्तान राजन कुमार विष्टले त अमेरिकाबाट पिएचडी गरिसकेका छन् । भुवन प्रकाश विष्ट स्थानीय विकास अधिकारी भएर रिटायर्ड लाइफमा छन् भने रघुराम विष्ट स्वास्थ्य मन्त्रालयमा सह सचिव छन् । लवशेर विष्ट अहिले थाहा नगरपालिकाको प्रमुख छन् । 

झिङटी घरका ८६ वर्षिय भिम बहादुर विष्ट र ८३ वर्षिय शिवजी विष्ट ऐतिहाँसिक महत्व बोकेका यस्ता पूर्वाधारको बेली विस्तार लाउन सक्छन् । भिमबहादुर नेपाली सेनाका सहसेनानी र शिवजी सहायक सेनानीबाट रिटायर्ड व्यक्ति हुन् । इतिहाँसका साक्षी हुन्, दस्ताबेजका आधारहरु हुन् ।

हेर्नुहोस् फोटोहरु: गणेश विष्ट/थाहा टाइम्स

 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।