nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वडा अध्यक्ष श्रेष्ठ भन्छन्-‘सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु’

थाहा नगरपालिकाको बजेट विनियोजन पश्चात् हरेक वडाहरुमा कार्यानवयनको चरण रहेको छ । अहिले नगरपालिकाका प्राविधिकहरु वडाका योजनाहरु इस्टिमेटमा व्यस्थ छन् । यसपछि उपभोक्ता समिति गठन गरी विकास आयोजना कार्यान्वयनमा जानेछन् । वडालाई कुन रुपमा विकास गरिदै छ ? वडाका संचभावनाहरु के के छन् ? यिनै विषयमा केन्द्रित भएर यो साता हामीले विकास–बहसमा थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठसंग कुराकानी गरेका छौं ।

तपाई आफ्नो वडालाई कसरी परिचय गराउनुुहुन्छ ? 
– मेरो वडा काठमाण्डौ नजिकैको वडा हो । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐतिहाँसिक महत्व बोकेको पर्यटकीय वडा हो । नयाँ संरचना अनुसार साविक चित्लाङ गाविसको वडा न १, २, ३, ४, ५ र ८ लाई एकीकृत गरी बनाइएको थाहा नगरपालिका वडा नम्बर ९ हो । राजधानीबाट जम्मा १३ किलोमीटर दक्षिणी क्षेत्रमा रहेको छ । ऐतिहाँसिक चन्द्रागिरीको काखैमा रहेको छ मेरो वडा । रमणीय चित्लाङको पर्यटकीय संभावना बोकेको वडा हो । तराइबाट काठमाण्डौं भित्रिने पुरानो नाका पनि हो चित्लाङ । समग्रमा ऐतिहासिक तथा पर्यटकीय वडाको रुपमा म आफ्नो वडाको परिचय गराउन चहान्छु । ‘कृषि, शिक्षा पर्यटन र पूर्वाधार, नगर सम्वृद्धिको आधार’ भन्ने नारलाई साकार पार्न मेरो वडा अग्रपंक्तिको वडाको रुपमा खडा हुनेछौं । 

वडास्तरको विकास गतिविधि कसरी संचालन भइरहेको छ ? 
- लामो समयको अन्तरालपछि यहाँका वडाबासीहरुले जनप्रतिनिधि पाएका छन् । मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको ढाँचा अनुरुपको स्थानीय तह पाएको छ । स्थानीय तहको निर्वाचन पश्चात् नयाँ र जुझारु जनप्रतिनीधिहरु जनताको सामु निर्वाचित भएर आएका छन् । विगतको तितो अनुभवको स्मरण गराउन चहान्छु,–म आफै सर्वदलिय संयन्त्र अन्तर्गत काम  गरिरहँदा सो समय दलिय स्वार्थको हिसाबले काम भएको पाइयो । जसले गर्दा विकासको गतिविधि सुस्त गतिमा भएको थियो । बजेट विनियोजन अबैज्ञानिक तरिकाले हुन्थ्यो । पहिले बजेट धेरै छरिन्थ्यो । अहिले अब त्यस्तो हुँदैन यहि किसिमले काम भइरहेको छ । 

विगतमा भएको अभ्यासलाई अन्त्य गर्नुपर्छ भन्ने प्रणकासाथ म अघि बढि रहेको छु । यसका लागि सम्पूर्ण वडाबासीहरुको सहयोग माया प्राप्त गरी म स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएपछि वडाको विकासको गतिविधिलाई अगाडि बढाउन तत्पर छु । वडाका सम्पूर्ण बुद्धिजीवी  सरोकारवालाहरुसंग राय लिएर कृषि शिक्षा, स्वास्थ्य, सडक खानेपानी जस्ता क्षेत्रमा नवीन ढंगले विकास गतिविधि अघि बढाउने कोशिश गर्दैछु । म नमुना वडा बनाएर अरुसामु प्रस्तुत हुन्छु । फलस्वरप आर्थिक वर्ष २०७४÷२०७५ को बजेट विनियोजन थाहानगरका वडाहरु मध्ये ९ नम्बर वडाको उत्कृष्ट भएको प्रशंसाले जनतामा नयाँ उत्साह थपिएको छ । वडाको बजेट कार्यान्वयनको लागि स्थलगत रुपमा अनुगमनको लागि उपभोक्ता समिति कानून संवत ढंगले गठन गरी कार्यान्वयनमा जाने योजना बनाएको छु । 

तपाई वडा अध्यक्ष भएपछि शुरु गर्नु भएको नयाँ अभ्यास र जनताले त्यसबाट पाएको फाइदा के हुन ?
  –सर्वप्रथम त मलाई वडा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराउनु हुन सम्पुर्ण वडाबासीप्रति हार्दिक आभार व्यक्त गर्दछु । अघि पनि भने मैले वडा अध्यक्ष हुनु अगावै सर्वदलिय संयन्त्रमा बसेर काम गरेको अनुभवले पनि मलाई जनताको काम गर्न सहज भएको छ । अध्यक्ष भइसकेपछि वडागत रुपमा सम्पुर्ण क्षेत्र कृषि, शिक्षा, पर्यटन, सडक आदिको सम्बन्धीत सरोकारवाला विज्ञहरुसंग राय सल्लाह लिइ गुरु योजना बनाउने पहलमा जुटेको छु । जुन गुरु योजनाले प्रत्येक वडाबासीलाई फाइदा पुग्नेछ । जस्तै कृषि आधुनिकीकरण, शिक्षामा स्थानीय तहको माग एवं आवश्यकता अनुकुल स्थानीय पाठ्यक्रम निर्माण गरी सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनेछु ।

नगरपालिकाबाट आर्थिक वर्ष २०७४/०७५ को बजेटलाई  कसरी कार्यान्वयन गर्दै हुनुहुन्छ ?
– यसवर्ष थाहा नगरपालिकाको विनियोजित बजेट मध्ये उत्कृष्ट बजेटको रुपमा चर्चा पाइरहेको परिप्रेक्षमा विना विवादको वातावरण निर्माण गरी हाम्रोलाई नभनी राम्रोलाई प्राथमिकता दिई हरेक विकास निर्माणको कार्यमा अनुगमन समितिको संयोजक बनी स्थलगत अनुगमन गरी सदुपयोग गरी काम अघि बढाउनेछु । म वडामा नै अनुगमन समिति गठन गरेर योजनालाई परदर्शी तथा गुणस्तरीय विकासका लागि प्रतिवद्ध भई कार्यान्वयनमा जान्छु । यसका लागि सबै वडाबासीको सहयोगको अपेक्षा समेत गरेको छु ।

योजनालाई परदर्शी ढंगबाट सम्पन्न गर्नको लागि के के विधि अपनाउनु हुन्छ ?
– वडागत योजनालाई विवाद रहित ढंगबाट कार्य सम्पन्न गराउनु   मेरो प्रमुख दायित्व हो । यसका लागि  योजनाहरुको अनुगमन कार्यलाई कानुन संवत ढंगबाट अघि बढाउने छु । भएको काम त्यसको मुल्याङ्कन र बिल फछ्र्यौट प्रक्रियालाई कडाइका साथ कार्यानवयन गर्नेछु । उपभोक्ता समितिका पदाअधिकारीहरुलाई विकास कार्य पारदर्शी र जवाफदेही बनाउनको लागि अनुरोध गर्छु । त्यस्तै राम्रो काम गर्ने उपभोक्ता सहितिलाई पुरस्कृत र नराम्रो गर्नेलाई कानुनको कठघरमा उभ्याउँछु ।

चित्लाङलाई सरकारले पर्यटकीय गाउँ घोषणा पश्चात अहिलेको अवस्था के छ ?
– चित्लाङलाई पर्यटकीय गाउँको रुपमा नेपाल सरकारले घोषणा गर्नु हामी सबैका लागि गौरबको विषय हो । तर अहिलेसम्म पर्यटन प्रवद्र्धन गरौ भनेर लाग्ने जत्थाले पर्यटन व्यवशायलाई आफ्नो गुम्रामा राखेको तितो यथार्थ छ । चित्लाङमा सीमित व्यक्तिहरुको संजाल र तिनका निर्णयले सिमित सिमित व्यक्तिहरुको मात्रै हित भइरहेको छ । पर्यटन विकास गर्छु भन्नेहरुबाटै पर्यटन व्यवशायमा विकृति ल्याई राम्रा पर्यटन व्यवशायलाई धारासायी बनाउँदैछन् । यी यावत कुरालाई आत्मसात गर्दै चित्लाङको पर्यटन विकासको लागि अब वैधानिक पर्यटन प्रवद्र्धन तथा विकास समिति गठन गर्ने प्रयत्नमा छु । 

चित्लाङलाई होमस्टेको गाउँ पनि भनिन्छ, चित्लाङबासीलाई पर्यटन व्यवशायी बनाउने योजना के छ ?
– चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेपश्चात् आन्तरिक तथा बाह्यि पर्यटकको आवागमनमा केही हदसम्म बढेकै पाइएको छ । चित्लाङमा होमस्टेको एउटा नम्सभित्र रही पर्यटकको मनोभावनाको कदर नभएको पर्यटकको गुनासो सुन्दा दुःख लागेको छ । होमस्टेको अवधारणा भन्दा पनि बाहिर रही काम गरेको, होमस्टे शीर्षकमा पर्यटन बोर्डबाट विनियोजित बजेट पर्यटन पूर्वाधारको विकासमा लगानी गर्नुको सट्टा समिति होमस्टेको निर्माण कार्यमा खर्च हुँदै आएको व्यापक जनगुनासो सुनि रहँदा लक्षितवर्ग यसबाट पाउने सुविधाबाट वञ्चित भएको प्रष्ट हुन्छ । चित्लाङको होमस्टेलाई सुदृढ गर्नको लागि यस वडामा भएका जनजाति धर्म संसकृति, रीतिरिवाज अनुरुप झल्किने खानपिन बसोबास आदिलाई पहिचान दिलाउने   गरी साास्कृतिक कार्यक्रम प्रदर्शन गर्न सकेमा सम्पूर्ण चित्लाङबासीलाई पर्यटन व्यवशायी बनाउन सकिन्छ ।

-धन्यवाद  ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)