nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राज्यको आँखा पुग्न नसकेको चिसापानीगढी
सन्दर्भ: पर्यटन दिवस

chisapani-gadhi-1-1474964513.JPG

तत्कालीन समयमा अंग्रेजहरुले नेपालमाथि धावा बोलिरहँदा नेपाल एकीकरणको अभ्यासमै रुमल्लिरहेको थियो । नेपाल एकीकरण पछिको समयमा मकवानपुरको चिसापानी गढी राज्यको सुरक्षाका लागि रसुवागढीको ढाँचामा बनाइएको थियो । यसको निर्माणमा कति मेहनत छ भन्ने कुरा यो गढीको प्रवेश ढोकाले प्रष्ट्याउँछ । ढुंगेगढी, मकवानपुरगढी, सिमभञ्ज्यांग गढी, कान्द्रांग गढी, उपरदांग गढी पहिलो अंग्रेज युद्धको लागि किल्ला बनेका थिए भने चिसापानी गढी दोश्रो अंग्रेज युद्धको लागि अंग्रेजलाई प्रवेश रोक्ने किल्लाको रुपमा बनाइएको थियो । 
यसका लागि नेपाली वीरहरुले विभिन्न स्थानमा किल्लाहरु बनाई अंग्रेजहरुलाई प्रवेशमा विभिन्न जुक्तिका साथ रोकेका थिए । त्यो विजयको पहिचान र  प्रमाण भनेकै वर्तमान समयमा त्यसबेलाका किल्ला, शिलालेख आदि नै हो । जसलाई देख्दा मात्रै पनि हाम्रो छाति गर्वले फुल्छ, कि हामी वीर गोर्खालीका सन्तान भनेर । 

हाम्रो पहिचान आज सम्म पनि त्यही वीर पुर्खाहरुका दुख नै हो । यी र यस्ता ऐतिहासिक धरोहरले त हामीलाई नेपाली हुनुको गर्व  दिएको छ । विभिन्न शासन र शासकहरुबाट शासित हामी हाल गणतन्त्र मुलुकका नागरिक भएर बाँचेका छौं । 
यहाँ हाम्रा वीर पुर्खाहरुले नेपाल देशलाई स्वतन्त्र बनाई राख्नका लागि अंग्रेज लगायत तत्कालीन शत्रुहरुलाई परास्त गर्न बनाएको स्थान जसलाई युद्धको भाषामा किल्ला भनिन्छ, त्यो एक किल्लाको बारेमा कुरा गर्छाै –मकवानपुरको चिसापानीगढी किल्ला । जुन अहिले पनि वेवारिसे जस्तै छ, र आफ्नो पहिचान र अस्तित्वको लडाई एक्लै लडिरहेको छ  । 
यही किल्लामा बसेर हाम्रा देशका शत्रुमाथि हामीले विजय प्राप्त गरेका थियौं । चिसापानी गढी किल्ला मकवानपुरको हेटौडाबाट उत्तरतिर पर्छ । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीबाट माथि उकालो लागेपछि चिसापानी गढी आईपुग्छ । अहिले यो किल्लाकै छेउ भएर प्रशासनिक, सरकारी निकायका व्यक्तिहरु काठमाडौ आउने जाने गर्दछन् । चिसापानी हँुदै दैनिक करीब ५ सय निजी तथा भाडाका सवारी साधन आवत जावत गर्छन् । यस गढी किल्लामा अहिले पनि तोप, गोला असरल्ल परेर बसेको छ । किल्ला भित्र अहिले पनि काली तोप, आकाशे तोप लगायत युद्ध सामग्री वेवारिसे जस्तै बसिरहेको छ, हाम्रा पुराना पहिचान टुलुटुलु हामीलाई हेरेर पर्खिरहेकोछ, अनि हामी हाम्रो पहिचानका कुरा गरिरहेका छौं । 

करीब २०० बर्ष अघिको चलन आजसम्म आई पुग्दा पनि कायम छ र सो किल्ला भित्र महिलालाई जान मनाही गरिएको छ । यस विषयमा बेलाबेला महिला अधिकारवादीले आवाज उठाई रहेका पनि छन् ।

जानकारहरुका अनुसार काली तोप नेपाल अंग्रेज युद्धको बेला सन् १८१४ देखि सन् १८१६ को समय अर्थात विक्रम सम्वत १८७१ देखि १८७३ को समयमा देशको सुरक्षाको लागि राखिएको हो । मकवानपुरगढी, सिन्धुलीगढी जस्तै यस क्षेत्र भएर कतै शत्रु आएमा अंगे्रजको सेनालाई लखेट्नका लागि यसको निर्माण भएको थियो । आज सम्म आई पुग्दा यो गढी निर्माणको समय २ सय बर्ष नाघिसकेकोछ । 
चिसापनी गढीको काली तोप एक पटक मात्र प्रयोगमा आएको जानकारहरुको भनाइ छ । यस तोप पड्काउदा यसको आवाजले यस किल्लावरपर रहेका गर्भवति महिलाको गर्भसमेतमा असर पारेकोले गर्भवति महिलालाई यसको वरपर जान तत्कालिन समयमा निषेध गरिएको थियो ।  र करीब २०० बर्ष अघिको चलन आजसम्म आई पुग्दा पनि कायम छ र सो किल्ला भित्र महिलालाई जान मनाही गरिएको छ । यस विषयमा बेलाबेला महिला अधिकारवादीले आवाज उठाई रहेका पनि छन् । चिसापानीगढीको क्षेत्र भित्र दुश्मन आउन नसकोस् भनी वरिपरि ठूलाठूला खाल्डो खनिएकोछ ।   
किल्ला भित्र बटुकभैरवको मन्दिर छ । मन्दिरमा रहेको मूर्तिको बहुमूल्य गरगहना समेत २०७० साल असार १९ गते राति चोरी भैसकेको छ । स्थानीयका अनुसार करीब २५ तोला बराबरको सुनचाँदी मिश्रित गहना सामग्री आजसम्म भेटिएको छैन । प्रहरी यसको खोजीमा लागि परेको बताउँछ तर हालसम्म पनि फेला पार्न नसकिएको प्रहरी प्रमुखको भनाई रहेको छ । नेपाली सेनामा हाल रहेको बटुक दल गुल्म यसै मन्दिरको नामबाट जुराईएको थियो । मन्दिरभित्र समेत आकाशेतोप, अर्थात आकाशतिर मार हान्न सक्ने तोप र क्रिकेटको बल आकारका वारुद हालेर फ्याक्न मिल्ने ग्रिनाईट झण्डै १०० वटाको हाराहारीमा रहेका छन् । त्यसैगरि खाना पकाउन प्रयोग गरिने पित्तलका ठूला भाडाकुडा समेत मन्दिरमा त्यतिकै थन्किएका छन् । यसका अलावा नेपालमा मात्र प्रचलनमा रहेको तौल प्रणाली अन्तर्गत चलनचल्तिका भाषामा बोलिने धार्नी शब्दको प्रयोग यहाका तोपहरुमा देख्न सकिन्छ । करीब ३०० धार्नी (करीब ७५० किलो) का ४ वटा तोपहरु यस किल्लामा अझै सम्म पनि उस्तै रहिरहेको छ तर खुला आकाशमुनी घामपानीले यसको आयु दिनप्रतिदिन घटाईरहेको छ । 

 


यस किल्लाको निर्माण यति बैज्ञानिक रहेको छ कि, किल्ला भित्रैबाट पानी र थप हतियार ल्याउनका लागि सुरुङ तयार गरिएको छ । सुरुङ समेतमा भ¥याङका खुड्किला बनाउँदा सहज हुन्छ भन्ने सोचिएको देखिन्छ । यस्तो विकट स्थानमा रहेको किल्लामा बस्ने नेपाली फौजका लागि पर्याप्त पानीको सुविधा रहोस् भन्नाका लागि इनार समेत खनिएको थियो । 
किल्लामा एउटा जीर्ण  घर छ जुन तत्कालिन समयमा बडाहाकिम बस्ने घर हो । यही घरमा बसेर बडाहाकिमले जिल्लाको सुरक्षा गर्थे । यहा बडाहाकिमको कार्यालय, सैनिक ब्यारेक, जेलघर, भन्सार, चेकपोष्ट लगायतको संरचना निर्माण गरिएको थियो । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीका कतिपय सरकारी कार्यालय, पाटीपौवा, धर्मशाला समेत यसै चिसापानी गढी अन्तर्गत रहेका थिए । काठमाडौ जान आउन यसै किल्लाको बाटो भएर जानु पर्ने भएकोले, चन्द्रागिरी, कुलेखानी,भीमफेदी, हेटौंडा, बीरगञ्ज, रक्सौल समेत जाने एकमात्र बाटो यही रहेकाले र देश भित्र शत्रुहरुको घुसपैठ नहोस भन्नाका लागि बडाहाकिम मार्फत चेक जाँच र अनुमतिपत्र लिएर मात्रै राजधानी प्रवेश पाइन्थ्यो । 
स्थानीय प्रहरी प्रशासन र नेपाली सेनाले बर्ष–दुई बर्षमा यस गढीको सरसफाई गर्न बाहेक राज्यले कुनै रकम खर्चदैन । मन्दिरका पुजारीलाई बटुक भैरब मन्दिरको पूजाखर्च वापत मासिक १ सय ५० रुपैया बाहेक कुनै रकम आउँदैन । कहिलेकाही आउने दर्शनार्थीले चढाएको भेटी बाहेकको यस मन्दिरको कुनै आम्दानी छैन । हुनत यस गढीको नाममा ४ विघा जग्गा समेत छ, तर सो जग्गा समेत अतिक्रमण गरेर होटल, लज सञ्चालन गरिरहेको देख्न सकिन्छ । कतिपय जग्गामा निजी घरटहरा बनेका छन् भने, खेतियोग्य जमीनलाई स्थानीयले खनजोत गर्ने गरेका छन् । 
सरकार र सम्बन्धित निकायले समेत वास्ता नगरेपछि स्थानीय तहबाट हाल संरक्षण समिति निर्माण गरिएको छ । तर समिति दर्ता प्रक्रियामा पुगेर त्यो पनि तेत्तिकै छ । उनीहरु पनि सरकारले यसका लागि केही गर्नु पर्ने बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकका साथै नेपाली इतिहासलाई नजिकबाट बुभ्m्न चाहनेका लागि यो गढी महत्वपूर्ण हुनेमा स्थानीय संरक्षण समितिका अध्यक्ष सीताराम थापा बताउँछन् 
भीमफेदी गाविस अन्तर्गत पर्ने यस चिसापानी किल्लामा केही बर्ष अघिसम्म सानो र ठूलो गरी १० वटा तोप र झण्डै ३०० वटा तोपका गोली र बारुद हालेर पडकाउने ग्रिनेटहरु रहेका थिए । तर हाल काली तोप १ वटा, साधारण ४ वटा, आकाशे तोप १ वटा र सानो १ वटा गरी ७ वटा र बारुद हालेर मारहान्ने ग्रेनाईट आकारका करीब १०० वटा मात्र रहेको छ । तीन वटा साधारण तोप संग्रहालयमा लगेको भनिएता पनि करीब २०० गोलीहरु कहाँ गए कसैले सोधखोज पनि गर्दैनन्, स्वयं पुजारीलाई समेत थाहा छैन । केही समय अघि संग्रहालयमा लाने भन्दै ३ वटा तोप नेपाली सेनाले यहाँबाट लिएर गएको स्थानीयहरुको भनाई रहेको छ ।
सो गढीमा तत्कालिन समयमा कुनै गल्ति गरेमा र शत्रु तर्फका मानिसलाई थुन्नका लागि बनाईएको जेल घर पनि छ  । अहिले यो जेलघरमा झारपात, रुखविरुवा उम्रेको छ । यो जेलघरमा अहिले कुखुरा पालन गरिएकोछ । 
यसरी हामी वर्तमान परिप्रेक्ष्यमा पहिचान र आत्मसम्मानका कुरा गरिरहँदा हाम्रा पुर्खाहरुले छोडेको जुन हाम्रा वास्तविक पहिचान हो तेसलाई जोगाउन ढिला भइरहेको छ ।