nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

राक्सिराङ गाउँपालिकामा एमालेको कार्ययोजना

नेकपा एमालेले राक्सिराङ गाउँपालिकामा आगामी चार महिने अभियान सञ्चालनका लागि कार्ययोजना निर्माण गरेको छ । 

शुक्रबार राक्सिराङ गाउँपालिकाको प्रस्तावित केन्द्र साबिकको राक्सिराङ गाविस ८ चैनपुरमा आयोजित समन्वय बैठकमा कार्ययोजना निर्माण भएको हो । जस अनुसार राक्सिराङ गाउँपालिकाका ९ वटै नयाँ वडाहरुमा टोली निर्माण गरी जिम्मेवारी दिइएको छ । खैराङ, राक्सिराङ, काँकडा र सरिखेत गाविसहरु मिसिएर बनेको राक्सिराङ गाउँपालिकाका सबै वडाहरुमा नेकपा एमालेले जिल्ला कमिटी तथा क्षेत्रीय तहका नेताहरुको संयोजकत्वमा टोली निर्माण गरी घरदैलो अभियान सञ्चालन गर्न लागेको हो । घरदैलो अभियानसँगै पार्टी परित्याग गरेकाहरुलाई भित्र्याउने, जिम्मेवारी दिने लगायतका कामहरु अभियान अन्तर्गत गरिने ४ नं क्षेत्रीय इन्चार्ज लालबहादुर थापाले बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य पीवी गोलेले नेकपा एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको प्रशंसा गर्दै जनतामा जानुपर्ने औल्याएका थिए । उनले आगामी दिनमा एमाले बलियो शक्ति बनेर आउन लागेकोले त्यसलाई रोक्न चलखेल भएको र लामो समय सरकारको नेतृत्व नदिएर एमालेमाथि माओवादीले कुठाराघात गरेको आरोप लगाए । 

कार्यक्रममा ३ नं प्रदेश सदस्य एबम एमाले पूर्व जिल्ला अध्यक्ष रामेश्वर रानाले एमालेले आफ्नो एजेण्डालाई जनतामाझ अनुमोदन गर्न अभियान महत्वपूर्ण हुने बताए । बजेट निर्माण, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम लगायतका महत्वपूर्ण उपलब्धीलाई छाँयामा पार्न सरकारको नेतृत्व ९ महिनामै हटाएर एमाओवादी काँग्रेसले अस्वस्थ गतिविधि गरेको उनले बताए । 

कार्यक्रममा अनुगमन समितिका सदस्य रघुनाथ खुलालले मसिनो ढंगले पार्टीको काम गर्न कार्यकर्तालाई ध्यानाकर्षण गराए । कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा सह इन्चार्ज गौतमबुद्ध लामा, जिल्ला सदस्यहरु बच्चीमाया नेगी, क्षेत्रीय अध्यक्ष हेमलाल उप्रेती, जिल्ला सल्लाहकारहरु कृष्णबहादुर चेपाङ, बच्चुराम ढुंगाना, क्षेत्रीय सदस्यहरु तथा सम्बन्धित गाउँ कमिटीका अध्यक्षसहित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।