Saturday, 20th June, 2026
वि.स.

राक्सिराङमा दैनिक १८ घण्टा टेलिकमको सेवा अवरुद्ध

मकवानपुरको पश्चिमी विकट भेग राक्सिराङ गाउँपालिकामा सरकारी टेलिकम सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् । नेपाल टेलिकमकै लापरबाहीका कारण दैनिक १८ घण्टासम्म सेवा अवरुद्ध हुने गरेको उनीहरूको भनाइ छ ।

टेलिकमको टावरमा विद्युत्को व्यवस्था नहुँदा मोबाइल सेवा अवरुद्ध हुने गरेको हो । टेलिकम टावर सोलार प्यानलबाट सञ्चालन गरिँदै आएको थियो । सोलारबाट पूर्ण क्षमतामा टावर नचल्ने भएकाले नेटवर्क अवरुद्ध भएको स्थानीयले गुनासो गरे ।

जाडो मौसममा वर्षौर्ंदेखि गाउँपालिकावासीले नेटवर्क नआउने समस्या भोग्दै आएका थिए । नेटवर्क अवरुद्ध हुँदा गाउँपालिका कार्यालयलाई पनि असर परेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ–२ स्थित भाँटी र राक्सिराङ–८ स्थित टोड्केमा नेपाल टेलिकमको टावर छ । टावर स्थापनाका बेला भाँटी र टोड्केमा विद्युत् आपूर्ति भइनसकेका कारण सोलारबाट सञ्चालन गरिएको थियो । हाल गाउँपालिकाले भाँटी र टोड्केमै विद्युत पुर्‍याएको छ । तर, पनि टेलिकमले विद्युत् जडान गरेर टावर २४ घण्टा सञ्चालनमा नल्याएको स्थानीयको आरोप छ ।

मोबाइल सेवा अवरुद्ध हुने समस्याबारे गाउँपालिका कार्यालय र गाउँबासीले पटक–पटक टेलिकमलाई ध्यानाकर्षण गराइसकेका छन् । नेपाल टेलिकम हेटौंडाले भने राक्सिराङमा नयाँ टावर स्थापनाको तयारी भइरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०