nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ मकवानपुरको "नमुना विद्यालय"

Lekali-1539332501.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ग्रामीण भेगको एक सामुदायिक विद्यालयमा एउटा कक्षाका लागि एउटा भवन छ । ४० विद्यार्थी क्षमताको एउटा कक्षाका लागि एउटा भवन निर्माण गरिएको हो । 

भीमफेदी गाउँपालिका ९ बसीफाँटस्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थी अध्ययन गर्नका लागि छुट्टाछुट्टै भवन छन् । ‘एउटा कक्षाकोठाका लागि एउटा भवन रहेको छ’ प्रधानाध्यापक एलएल मण्डलले भने, ‘सबै कक्षाकोठाहरू बालमैत्री छन् ।’ सधैं चिसो भइरहने उक्त स्थानमा स्कुलको प्रत्येक कक्षाकोठामा रुम हिटर राखिएको छ । तातो र चिसो पिउने पानीको व्यवस्था छ । विद्यालय परिसरमा फ्रि वाईफाई छ । प्रत्येक कक्षाकोठामा अडियो भिजिवेलबाट पठनपाठन गरिन्छ । छात्रामैत्री शौचालय छ ।

२ हजार ३ सय ८० मिटर उचाइमा रहेको उक्त विद्यालयमा ईसीडीदेखि ४ कक्षासम्म अंग्रेजीमाध्यमबाट पठनपाठन गरिन्छ । २ सय ३५ जना छात्रा र २ सय २० जना छात्र गरी ४ सय ५५ जना उक्त विद्यालयमा अध्ययनरत छन् । छात्रभन्दा १५ जना बढी छात्रा छन् ।

तामाङ समुदायका बालबालिका मात्र अध्ययन गर्ने उक्त विद्यालयमा २ घण्टा पैदल हिँडेर विद्यार्थीहरू पढ्न आउने गर्छन् । विद्यालयमा आउजाउ गर्दा दैनिक चार घण्टा उनीहरू हिँड्नुपर्छ । उक्त विद्यालयमा थाहा नपाको ४, ५ र भीमफेदी गाँउपालिकाको ९ नम्बर वडाका बालबालिकाहरू पढ्न आउने गर्छन् । वासुकी, बतासे, नलिवन, ठूलो माखु, झिरघारी, अघोरलगायत २७ वटा बस्तीका तामाङ बालबालिकाहरू यहाँ पढ्न आउने गर्छन् ।

ठूलोमाखु, वासुकी र अघोरका बालबालिकाहरू दैनिक चार घण्टा हिँड्ने गर्छन् । त्रिभुवन राजपथको छेउमै रहेको उक्त विद्यालयका विद्यार्थीहरू राजमार्ग हुँदै हिँडेर आउजाउ गर्छन् । सवारी साधनका चालकहरू दयालु प्रकृतिका फेला परे भने उनीहरूलाई सवारी साधनमा हालेर स्कुलसम्म ल्याइदिने गर्छन् । ‘छात्रावासको अभावले गर्दा टाढा–टाढाबाट पढ्न आउने विद्यार्थीलाई समस्या भएको छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले भने, ‘छात्रावासको अति आवश्यकता छ तर आर्थिक अभावले बनाउन सकिएको छैन ।’

३३ रोपनी जग्गामा फैलिएको उक्त विद्यालयको बीच भागमा खेलकुद मैदान छ । पुस्तकालय पनि छ । टाढारटाढाबाट आएका शिक्षकहरू विद्यालयमै बस्नका लागि क्वार्टरको पनि सुविधा छ । विद्यालय परिसरमा कक्षा भवन, पुस्तकालय र प्रशासनिक भवन गरी १८ वटा भवन छन् । जाइटी फाउन्डेसनले २०४९ सालमा बसीफाँटमा उक्त विद्यालय स्थापना गरेको हो । २०६५ सालमा उक्त विद्यालय समुदायलाई हस्तान्तरण गरेको थियो ।

उक्त स्कुलमा १५ जना शिक्षक र ३ जना कार्यालय सहयोगी छन । विद्यालयले निजी स्रोतबाट ८ वटा शिक्षक र २ जना कार्यालय सहयोगीलाई तलब खुवाउने गरेको छ । ‘घररघरमा चन्दा संकलन गरेर निजी स्रोतमा राखेका शिक्षक र कार्यालय सहयोगीलाई तलब खुवाउँदै आएका छांै,’ समितिका अध्यक्ष लामाले भने, चन्दा संकलन नगरे तलबै खुवाउन सकिँदैन ।’ गत आवमा ३९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये एक विद्यार्थी ए ग्रेडमा उत्तीर्ण भएका थिए । अरू बी र सी ग्रेडमा उत्तीर्ण भएका थिए । आगामी वर्षदेखि उक्त विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सुरु गर्ने भएको छ । पठनपाठन, भौतिक पूर्वाधार र बालमैत्री आदिका कारणले यो मुलुककै नमुनाको विद्यालय भएको प्रअ मण्डलले दाबी गरेका छन् । गाउँपालिकाको सहयोगमा विद्यालयमा बाली विज्ञानको पढाइ सुरु गर्न लागेको हो । आफ्नो गाउँपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयहरूमा प्राविधिक विषय पढाइ सञ्चालन गर्ने अभियानअन्तर्गत उक्त विद्यालयमा पनि आगामी शैक्षिक सत्रदेखि बाली विज्ञान विषयको पढाइ सुरु गर्ने गापा अध्यक्ष हिदम लामाले बताए ।

-प्रताप विष्ट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Lekali-1539332504.jpg