nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अलमलमा पर्यो थाहानगर वृहत्त खानेपानी आयोजना

मकवानपुर थाहा नगरपालिकामा वृहत्त खानेपानी आयोजना संचालन हुने निर्णय हुँदा जति खुशी छाएको थियो, कार्यान्वयनमा भएको ढिलासुस्तीले  नागरिकमा निरासा पैदा भएको छ । थाहा नगरपालिकाको साविक पालुङ क्षेत्रलाई मध्येनजर गरेर संचालनमा ल्याइने गरी तर्जुमा भएको योजना एक आर्थिक वर्ष बितिसक्दा पनि प्रगति प्रायः शुन्य   छ ।

आर्थिक वर्ष २०७४/०७५ बाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौंडाबाट संचालन हुने गरी स्वीकृत भएको आयोजना अहिले अलपत्र छ । साविक पालुङ गाविसको ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा आयोजना संचालनका लागि आवश्यक पर्ने कार्यालयसहितको पालेघर, इनार खन्ने काम र टेष्ट      बोरिङ भएको छ । आयोजनाको लागि एक हजार पाँचसय नब्बे मीटर फलामे पाइप खानेपानी डिभिजन हेटौंडाले पठाएको  छ । बनेका संरचना छरफस्ट देखिन्छन् भने सामाग्रीहरु अलपत्र अवस्थामा  रहेको छ । 

थाहानगर वृहत्त खानेपानी आयोजना निर्माण स्थल । फोटोः विकासखबर

पालुङमा संचालन हुने वृहत्त खानेपानी आयोजना स्वीकृत भएपछि मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेकोले पनि खानेपानी आयोजना संचालनमा बाधा उत्पन्न भएको अधिकारीहरु बताउँछन् । नेपालको संविधान २०७२  अनुसार खानेपानी सेवा प्रदेशको अधिकार भित्र पर्दछ । ‘आयोजना स्वीकृत हुँदा मुलुकमा संघीयता कार्यान्वयनमा थिएन, पछि देशको संरचना बदलियो त्यसैले समस्या आयो ।’– खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर हरि पौडेलले भने । उनका अनुसार अहिलेसम्म थाहा वृहत्त  खानेपानी  आयोजनाका लागि करिब ७५ लाख रुपियाँ खर्च भइसकेको छ । खानेपानीका लागि इनार र रिङ हाल्नेदेखि पाइप खरिदसम्मको काम भएको इन्जिनियर पौडेलले बताए । पौडेलले आयोजनाको काम नियमित संचालन हुनको लागि संघीय संरचना कार्यान्वयन नै बाधक भएको स्वीकार गरे । 

खानेपानी आयोजनाका लागि निर्माण गरिएको कार्यालय संचालनको घर तथा पालेघर । फोटोः विकासखबर

खानेपानी आयोजनाहरु संघ, प्रदेश र स्थानीय तहले संचालन गर्न सक्ने अधिकार भएकोले कुन तहको सरकारले हेर्ने भन्न टुङ्गो नलाग्नाले आयोजना कार्यान्वयनमा ढिलाई भएको उनको भनाइ छ । थाहा बृहत्त खानेपानी आयोजना संघीय सरकारबाट संचालन हुने भएको छ । तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौंडाबा संचालन भएका आयोजनाहरु मध्ये थाहा सहित चार वटा खानेपानी आयोजना संघीय सरकार मार्फत संचालन हुने भएको हो । संघीय सरकारले संचालन गर्ने आयोजनाहरुमा थाहानगर बृहत्त खानेपानी आयोजना, नामटार–१, बगुवाखोला हर्नामाडी र पदमपोखरी खानेपानी आयोजना रहेका छन् । संघीय सरकारबाट संचालन हुने खानेपानी आयोजना संचालनको लागि गतसाता मात्र हेटौंडामा कार्यालय स्थापना भइसकेको छ । हेटौंडाको सानोपोखरामा कार्यालय स्थापना भएको हो । 

बहुवर्षे आयोजना अन्तर्गत पर्ने थाहानगर वृहत्त खानेपानी आयोजनाको चालु आर्थिक वर्षमा पनि काम उल्लेख्य हुन नसक्ने सम्बद्ध कर्मचारी बताउँछन् । सम्बन्धीत कार्यालयमा हाजिर भएका कर्मचारीहरु समायोजन प्रक्रियामा सहभागी हुने हुनाले यसवर्ष पनि मापन योग्य प्रगति हुन नसक्ने उनीहरुको प्रतिक्रिया छ । कार्यालय स्थापना भएपनि हाजिर भएका कर्मचारी समायोजनकै क्रममा फागुन महिनामा पनि काम शुरु नहुने इन्जिनियर पौडेल बताउँछन् उनी भन्छन्–‘चैत्र महिनाको पहिलो साताबाट केही काम होला ।’ थाहानगर पालुङका करिब आठसय बढि घरधुरीलाई मध्येनजर गरेर संचालनमा ल्याइन लागेको आयोजनालाई निर्माण तिब्रता दिनको लागि घच्घच्याउने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए । समतिका तर्फबाट केही कामहरु भएपनि आयोजनाका लागि पूरा गर्नुपर्ने कामको एकछेउ पनि नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ । दुईवटा पानी संकलन गर्ने ट्याङ्की निर्माण गरेर उपभोक्ताहरुलाई खानेपानी वितरण गरिने श्रेष्ठले बताए । आयोजना अन्तर्गत   रातोमाटे डाँडा र सोल्टूमा यस्ता पानी संकलन गर्ने ठूला ठूला ट्याङ्की निर्माण गरिनेछ । 

खानेपानी आयोजनाका लागि ल्याइएको छरफस्ट तथा अलपत्र अवस्थामा रहेका पाइपहरु ।  फोटोः विकासखबर

थाहानगरमा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना यहि हो । यस आयोजनालाई पूर्णता दिनको लागि डेलिगेशन नै जानूपर्ने थाहानगर वृहत्त खानेपानी उपभोक्ता समितिका सदस्य     निरञ्जन श्रेष्ठले प्रतिक्रिया दिए । खानेपानीको चरम समस्या झेलिरहेका पालुङका उपभोक्ताहरुका लागि योजना संचालन हुनु आवश्यक भएको बताउँदै स्थानीय निरोज प्रधानले भने–‘स्थानीय सरकारले पनि यसतर्फ ध्यान दिनू पर्छ ।’ बृहत्त खानेपानी आयोजनालाई निरन्तरता दिनको लागि आफ्नो तर्फबाट जहाँ पनि जान तयार रहेको नगर प्रमुख लवशेर विष्टले प्रतिवद्धता व्यक्त गरे । प्रमुख विष्टले भने–‘संघीयता कार्यान्वयनसंगै जुन निकायले निर्माण जिम्मा पाउँछ उक्त निकायसंग आवश्यक समन्वय गरेर आयोजनालाई पूर्णता दिन पहल गर्छु ।’ पालुङका ध्रुव श्रेष्ठले निर्माण थालेको दुईवर्ष भइरहँदा पनि काम अघि नबढ्नू लाहापर्बाही भएको भन्दै आक्रोस व्यक्त गरे । खानेपानी हाहाकार हुने ठाउँमा आयोजना निर्माणले निरन्तरता कस्को     कारण नपाएको हो, छानबिन गर्नु आवश्यक भएको औल्याए । पालुङ शहरका श्रीकृष्ण श्रेष्ठ महिनावारी धाराको महशुल समितिमा बुझाउँछन् । महिनाको ६० रुपियाँ तिर्नुपर्ने बाध्यता सुनाउँदै बृहत्त खानेपानी आयोजनाको समयमै निर्माण सक्न सरोकारवलाहरुलाई आव्हान गर्छन् । 
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।