Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मेटिदै टिष्टुङको पहिचान

 राजनीतिक परिवेशसँगै हरेक कुरामा फेरबदल हुने गर्छ । यो नेपालमा मात्रै नभई विश्वभरी नै चल्दै आएको मान्यता पनि हो । तर नेपालको एउटा यस्तो ठाउँ जहाँको नाम नेपालको राजनीतिक घटनाक्रम संगै फेरिदै आएको छ । जसले गर्दा यहाका स्थानीयले आफुलाई चिनाउन फरक फरक नाम लिइरहनु परेको छ ।

यो ठाउँ हो टिस्टुङ । हुन् त अहिलेसम्म टिस्टुङ भनेपछि नचिन्ने कमै होलान तर यस बीचमा यहाको नाम पटक पटक फेरिदै आएको छ । बिगतमा टिस्टुङ भनिए पनि पछि 'बज्रबाराही' नामकरण गरियो । अहिले गणतन्त्र आगमनसंगै यो ठाउँलाई पुन: 'थाहा नगरपालिका' नामकरण गरिएको छ । तर यहाका स्थानीय भने यो ठाउँलाई टिस्टुङ नै भन्न रुचाउछन् ।


कुनै समय ७ सय वस्ती रहेको प्राचिन लिच्छविकालिन वस्ती यहाँ राज्य पुर्नसंरचनाको क्रमसँगै एउटै टिस्टुङ वस्तीमा समाहित भयो । र उनीहरुले जोगाइराखेका संस्कृति पनि लिच्छविकालिन नाम टिस्टुङकै भएकाले संस्कृतीसँगै नाम कायम रहनु पर्ने बताउँछन् ।


यो साँस्कृतिक भेषभुषा, बाजा गाजा र नाच हेर्दा लाग्छ उपत्यका काठमाडौको कुनै नेवार समुदायको साँस्कृतिक वस्ति होला । तर यो त मकवानपुर जिल्लाको प्राचिन वस्ति टिस्टुङको संस्कृति हो । जहाँ लिच्छविकालिन र मल्लकालिन संस्कृति अझै उपत्यका काठमाडौमा जस्तै निरन्तर जोगाइराखेका छन् टिस्टुङवासीले । देश विदेशमा टिस्टुङ नामबाट परिचित यो स्थानको पहिचान मेटिन लागेकोमा स्थानिय चिन्तित छन् ।

 

टिस्तुङ कला संस्कृतीको दृष्टिकोणले पनि निकै धनी मानिन्छ । विशेष गरि नेवार समुदायले यो क्षेत्रका पैराणिक सँस्कृती धान्दै आएको छ । त्यसैलाइ मध्यनजर गरी काठमाडौ नेवा मिडिया प्रालिले ज्यापु साँस्कृतिक विकास कोषको सहकार्यमा थाहा नगरपालिकामा अवस्थीत प्राचिन वस्ति तिस्टुङका १० गुठीलाई सास्कृतिक बाजा वितरण गरिएको छ । 

 

कार्यक्रममा थाहा नगरपालिका वडा नं.१का कुन्छाल बाजं खलः र पालुङ्ग बाजं खलः, थाहा नगरपालिका वडा नं.६ का तेष्टुङ्ग बाजं खलः, द्योला बाजं खलः, लिलाखेल बाजं खल), थाहा नगरपालिका वडा नं.९का चित्लाङ्ग बाजं खलः(टौखेल)गरि ६ वटा खलःलाई खिं बाजा, ताः र बबूचा एक–एक सेट, थाहा नगरपालिका वडा नं.१का कुलगांउ बाजं खलः)लाई खिं बाजा १ थान, थाहा नगरपालिका वडा नं.६का कोठननी बाजं खलःलाई धाःबाजा १ थान, कपाली समाजलाई म्वायली बाजा १ थान र बौद्ध गुम्बा (ओखर गाउं)लाई परम्परागत लामा झ्याम्टा १ थान हस्तान्तरण गरिएका थिए । 

 

यो साँस्कृतिक र धार्मिक वस्ती सात सय वर्ष पुरानो लिच्छविकालीन वस्ती मानिन्छ । राजा अंशु बर्माले स्थापना गरेको कोटदरबारले टिस्टुङ नगरलाई ऐतिहासिक खुला सङ्ग्रहालयका रूपमा स्थापित गरेको छ । तर संरक्षण अभावमा यो दरबार अहिले भग्नावशेष अवस्थामा रहेको छ । यहाँ अवस्थीत वज्रबाराही मन्दिरको पनि ऐतिहासिक महत्व निकै छ । बौद्ध र हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर वज्रबाराही मन्दिरमा तीन वर्षमा ठूलो मेला लाग्ने गर्दछ । 

बज्रबाराहीसहित चम्केश्वर महादेव, पालुङको ऋषेश्वर महादेवको मन्दिर र चित्लाङका सातधारा, अन्शुबर्माको पालाका शिलालेखहरु यस क्षेत्रका साँस्कृतिक सम्पदा हुन् । यहाँका महिला र पुरुषहरु  हाकुपतासीमा, भादगाउँले टोपी र दौरा सुरुवालमा सजिएर काठमाडौ उपत्यकामा जस्तै दाफा, बाँसुरी, धिमे, धां, खैजडी बाजाहरू बजाउदै नाच्ने परम्पराले यस क्षेत्र साँस्कृतिक वस्तीको पहिचान कायम छ र यो साँस्कृतिक प्राचिन वस्ती हो भन्ने सन्देश दिन्छ । 

यसका साथै यो एउटा लघु उपत्यका पनि हो  । सानो तर मनोरम दृश्यले भरिपूर्ण यो उपत्यका राजधानीबाट नजिक रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि उचित गन्तब्य बन्ने गरेको छ ।

फोटो: सान्त महर्जन