nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महिला सशक्तीकरणले हिँसाविरुद्ध उजुरी बढ्योे

मकवानपुर जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशील हुन थालेपछि महिला माथि हुने हिँसाविरुद्ध उजुरी बढ्न थालेको छ । विगतमा महिलामाथि सामाजिक, साँस्कृतिक तथा संरचनागत हिँसाहरु व्यापक भए पनि जनचेतना र महिला सशक्तीकरणको अभावमा कमैमात्र घटनाहरु बाहिर आउने गर्थे । सहेर बस्दा झनै हिँसाको जरा बलियो भएको बुझेपछि अहिले महिलाहरु स्वयम् हिँसाको विरोधमा उत्रिन सक्षम भएका छन् । जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाको तथ्यांक हेर्दा हिंसामा परेका धेरै महिलाहरु उजुरीका लागि सम्बन्धित निकायसम्म पुग्न थालेको पाइएको छ । महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित सेवा केन्द्र र हेटौंडा अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा गत आर्थिक वर्ष २०७२÷०७३ मा ४ सय ४३ जना महिला हिंसामा परेका छन् ।

बालबालिका कार्यालयमा गत आवमा २ सय ४४ वटा महिला हिंसाका घटना आएको प्रमुख महिला विकास अधिकृत शोभा शाहले जानकारी दिइन् । तर, आव २०७१÷०७२ मा १ सय ७९ वटामात्र उजुरी आएको थियो । यसैगरी, केन्द्रमा गत आवमा १ सय ९९ वटा उजुरी परेकामा आव २०७१÷०७२ मा जम्मा ९५ वटा मात्र हिंसाका उजुरी परेको स्टाफ नर्स श्रेया कार्कीले बताइन् । कार्यालयका अनुसार कुटपिटमा १ सय ३९, गाली बेइज्जतीमा ४, यौन दुव्यवहारका ५, आर्थिक हिंसा २, घर परिवारबाट निकाला ६ र अन्य ८८ वटा उजुरी आएको छ । केन्द्रमा घरेलु हिंसा १ सय ११, यौनजन्य हिंसा ६३ र अन्य हिंसाका २५ वटा उजुरी परेको उल्लेख छ । महिला कार्यालयमा परेका उजुरीमध्ये गत आवमा एउटा मात्र फछ्र्यौट हुन बा“की रहेको थियो । केन्द्रले गत आवमा १ सय ८९ जना महिला र १० जना पुरुषलाई सेवा प्रदान गरेको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले जनाएको छ । दुईजना बेवारिसे बालकको उद्धार गरी एकलाई संरक्षकको जिम्मा लगाइएको लगायतका काम गरेको उनले उल्लेख गरिन् । केन्द्रका अनुसार हिंसामा पर्नेमा १५ देखि ४९ उमेरका महिला धेरै रहेका छन् । उक्त उमेर समूहका महिला गत आवमा घरेलु हिंसामा ९२, यौनजन्य हिंसामा २७ र अन्य हिंसामा १८ जना परेको तथ्यांक छ ।

हिंसामा परेका महिलामा गत आवमा दलित २३ जना, जनजाति १ सय ३०, बाह्मण तथा क्षेत्री ४५ जना महिला हिंसामा परेको तथ्यांकमा उल्लेख छ । जसमा गाविसका ८०, नगरपालिका ९८ र अन्य २१ जना रहेको स्टाफ नर्स कार्कीले बताइन् । केन्द्रले लैंगिक हिंसामा पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने गरेको कार्कीले उल्लेख गरिन् । हिंसामा परेकालाई मनोविमर्श सेवा दिने, सूचना प्रदान, सरोकारवाला संघसंस्था समन्वयको काम गरिरहेको उनले बताइन् । बालबालिका कार्यालयले पनि स्वास्थ्य उपचार, कानुनी सेवा, मनोविमर्श र सीप विकास लगायतका काम गरिरहेको शाहले जानकारी दिइन् । उनका अनुसार कार्यालयले सेवा तथा उपसेवा केन्द्रमार्फत हिंसामा परेका महिलालाई आयमूलक सीप सिकाउने, बीउ पुँजीमा लगानी गर्ने, परिवारमा पुनर्मिलन गराउने लगायतका काम गरिरहेको छ । कार्यालयले हिंसामा परेका महिलालाई राख्न र सीप सिकाउन हेटौंडामा सेवा केन्द्र, भीमफेदी, नामटार, पालुङ, आग्रा, मनहरी, छतिवन, फापरबारी र सरिखेतमा उपसेवा केन्द्र सञ्चालन रहेको छ ।

महिला तथा बालबालिका कार्यालयको अतिरिक्त जिल्लामा एक दर्जनभन्दा बढी गैरसरकारी संस्थाहरु महिला हिँसविरुद्ध क्रियाशील रहेका छन् । माइती नेपाल, हिमराइट्स, बाल कल्याण समाज, नारी सीम सिर्जना केन्द्र, ग्रामीण महिला स्वावलम्बन संस्था, एकीकृत ग्रामीण विकास सेवा, एस्थर बेन्जामिन फाउण्डेशन, सिसिडिएन लगायत संस्थाहरुले महिला हिँसा विरुद्ध काम गरिरहेका छन् ।

-कार्टुन साभार


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)