nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरी, राक्सिराङ र कैलाशमा को बन्लान् "अध्यक्ष र उपाध्यक्ष ?"

as-1492327813.jpg

नेकपा एमालेले मकवानपुर क्षेत्र नं ४ अन्तर्गतका तीनवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार सिफारिस गरेको छ । सिफारिस गरिएका उम्मेदवारलाई जिल्ला कमिटीको समेत सिफारिसमा ३ नं प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान छ । त्यसपछि मात्रै उम्मेदवारहरुको टुंगो लाग्नेछ । यसका लागि अझै एकसाता पर्खनुपर्ने एमालेले जनाएको छ ।

सिफारिस भएका उम्मेदवारहरुमा मनहरीमा एकराज उप्रेतीको नाम अग्रपंक्तिमा छ । माथिल्लो कमिटीमा रहेका र लामो समय कुनै पनि लाभको पदमा नबसेका सोझा, इमान्दार नेताका रुपमा उनलाई ब्याख्या गरिएको छ । उनी हाल ३ नं प्रदेश कमिटी सदस्य पनि छन् । यसअघि पटकपटक जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय÷इलाका इन्चार्जको रुपमा उनले काम गरेका छन् ।

मनहरी गाउँपालिकाका लागि सिफारिस गरिएका अर्का उम्मेदवार भुमिनन्द अर्याल हुन् । उनी पूर्व जनप्रतिनिधि तथा एमालेका पूर्व जिल्ला कमिटी सदस्य पनि हुन् । त्यसैगरी लामो समय महिला आन्दोलनमा सहभागी महिला नेतृ तथा एमाले पूर्व जिल्ला कमिटी सदस्य सरिता बिकको नाम पनि सिफारिस गरिएको नेकपा एमाले मनहरी गाउँ संगठन कमिटीका सचिव हेमलाल उप्रेतीले बताए । उपाध्यक्षमा भने मनिला बिष्ट र मीरा थापालाई सिफारिस गरिएको छ । क्षेत्र नं ४ अन्तर्गतको अर्काे गाउँपालिका राक्सिराङमा दुईजना पूर्व गाविस अध्यक्षलाई गाउँपालिका अध्यक्षमा सिफारिस गरिएको छ । तत्कालीन सरिखेत गाविसका अध्यक्ष एबम् लोकप्रिय नेता लालबहादुर थापा तथा तत्कालीन राक्सिराङ गाविसका अध्यक्ष कृष्णबहादुर चेपाङ अध्यक्ष पदका लागि सिफारिस भएका हुन् । थापा हाल एमाले जिल्ला कमिटी सदस्य तथा ४ नं क्षेत्रीय अध्यक्ष छन् । कुशल संगठकको रुपमा थापाले पार्टीमा परिचय कमाएका छन् । चेपाङ पार्टीमा हाल जिल्ला सल्लाहकार छन् भने यसअघि जिल्ला कमिटी सदस्य रहेका थिए । उपाध्यक्षमा भने सुन्तली चेपाङको मात्र नाम सिफारिस गरिएको छ । उनी एमाले जिल्ला कमिटी सदस्य हुन् ।

कैलाश गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस छ । टंकबहादुर मुक्तान, भोटु बिष्ट र श्याम उप्रेतीको नाम सिफारिस भएको कैलाश गाउँपालिका संगठन कमिटीका संयोजक टंकबहादुर मुक्तानले बताए । मुक्तान हाल जिल्ला कमिटी सदस्य छन् भने भार्ता गाविसमा २०५४ को निर्वाचनमा झिनो मतान्तरले पराजित वैचारिक नेता हुन् । भार्ता गाविसका कर्मचारी रही जनतासँगको समन्वय बढाएका उनी जागिर छाडेर पूर्णकालीन राजनीतिमा आउने घोषणा गरिसकेका छन् । त्यसैगरी युवा संघ नेपालको जिल्ला सदस्य रहेका उप्रेती पनि नामटारमा लोकप्रिय नाम हो । बिष्ट भने माथिल्लो भेगका पुराना नेता हुन् । उपाध्यक्षमा सुकुमाया थिङ र ज्ञानीमाया लामालाई सिफारिस गरिएको छ । सिफारिस गरिएकामध्ये एकजना अध्यक्ष र एकजना उपाध्यक्षमा नाम स्वीकृत भएर आउनेछ ।

यसो हुँदा दुई पदमध्ये एकजना महिला अनिबार्य गरिनेछ भने भूगोल, लोकप्रियता लगायतका कुराहरुको सर्भे गरेर मात्रै उम्मेदवारी टुंगो लगाउने तयारी छ । तीनैवटा गाउँपालिकामा लोकप्रियता, निरन्तरता र जनतामाझ भिजेका नेताहरुको आँकलन गर्दा मनहरीमा एकराज उप्रेती, राक्सिराङमा लालबहादुर थापा र कैलाशमा टंकबहादुर मुक्तान अध्यक्ष पदका उम्मेदवार तय हुने अनुमान गरिएको छ । त्यसैगरी उपाध्यक्षमा मनहरीमा मनिला बिष्ट, राक्सिराङमा सुन्तली चेपाङ र कैलाशमा सुकुमाया थिङले अबसर पाउने अनुमान गरिएको छ ।