nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 11th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरीबासीले ट्वाङ्ग्रा खोलामा पक्की पुल मागे 

संसद नचलेको मौका छोपेर प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले आफ्नो निर्वाचन क्षेत्रमा पुगी जनताका पीरमर्काबारे छलफल गरेका छन् । 

१९ साउन बिहान मनहरी गाउँपालिका वडा नं ४ मसिनेमा पुगेर सांसद खतिवडाले जनताको पीरमर्का सुनेका हुन् । सांसद खतिवडासमक्ष स्थानीय युवा नेता सञ्जीव पाठक, रामहरि बिष्ट, नवराज गौतम लगायतले लामिटार र मसिने जोड्ने पक्की पुल नहुँदा जनताले दुःख पाइरहेकाले गुनासो व्यक्त गरेका थिए । त्यसैगरी चुरेको कटानका सम्बन्धमा पनि उनीहरुले गुनासो व्यक्त गरे । 

अन्तरक्रियाका क्रममा संविधानसभा सदस्य राजाराम स्याङ्तान, ३ नं प्रदेश सांसद ओमबहादुर ग्लान (प्रदीप), मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट तथा वडा नं ४ का वडाध्यक्ष ध्रुव खड्का लगायत सहभागी थिए । छलफलअघि नारायणी नदी नियन्त्रण कार्यालयको लगानीमा निर्मित २ सय मिटर तटबन्धनको पनि अवलोकन गरिएको थियो । कार्यालयको लगानीमा तटबन्धन निर्माण भएपछि गोलघर क्षेत्र र पशुपति माध्यमिक विद्यालयको खेलमैदान संरक्षण भएको भन्दै जनप्रतिनिधिहरुले खुसी व्यक्त गरेका थिए । 

अन्तरक्रियाका क्रममा रजैया पुलबाट लामिटार हुँदै चकरी मकरी पुग्ने सडकको बीचमा पर्ने ट्वाङग्रा खोलामा पक्की पुल आवश्यक रहेको स्थानीय युवा सन्जीव पाठकले बताएका थिए । त्यसलगत्तै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले वडाध्यक्षले ५० लाख  रुपियाँ सोही पुलको लागि बिनियोजन गर्ने सिफारिस ल्याएमा गाउँपालिकाले थप ५० लाख रुपियाँ थपेर १ करोड रुपियाँको पुल बनाइने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि वडाको तर्फबाट २० लाख रुपियाँ बिनियोजन गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा सांसद खतिवडाले मनहरी गाउँपालिकाको मेरुदण्डको रुपमा रजैया हुँदै चकरी मकरी पुग्ने बाटो रहेकाले त्यसलाई मजबुत र व्यवस्थित बनाउनका लागि आफूले केन्द्रमा पहल गरी केन्द्रीय योजनामा हाल्न सफल भएको जानकारी दिए । पुल पुलेसाहरुको सन्दर्भमा प्रदेश तथा स्थानीय सरकारले नसकेको कामहरु संघीय सरकारलाई सिफारिस गर्न सांसद खतिवडाले आग्रह गरे । 

संविधानसभा सदस्य राजाराम स्याङ्तानले जनप्रतिनिधिहरुको सक्रियताले विकासको रफ्तार अघि बढिरहेकाले विकास वा बिनाश दुबैको जस अपजस नेपाल कम्युनिष्ट पार्टीले लिने बताए । ३ नं प्रदेश सांसद ग्लानले विकास गर्दा दीर्घकालीन सोच राख्नका लागि उपभोक्ताहरुमाझ आग्रह गरे । गाउँपालिका उपाध्यक्ष बिष्टले बजेटको अभावमा विकास रोकिनुपर्ने अबस्था नरहेको भन्दै  दीर्घकालनी महत्वको योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)