nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन

मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको लागि थाहा नगरपालिकाले केवलकार निर्माण परियोजना अघि सारेको हो । थाहा नगरपालिका वडा नं. ४ स्थित सिमभन्ज्याङबाट भिमफेदी गाउँपालिका वडा नं. ४ स्थित पान्द्राङ जोड्ने केवलकारको नगरपालिकाले विज्ञ सहित अध्ययन थालेको छ । मुलुकको तराइ र छिमेकी राष्ट्र भारतबाट नेपाल भित्रने पर्यटकलाई थाहा नगरसम्म ल्याउन मार्ग प्रशस्त पार्न केवलकारको संभाव्यता अध्ययन थालिएको थाहा नगरपालिका प्रमुख लवशेर विष्टले जानकारी दिए । राजधानी काठमाण्डौको पर्यटक थाहामा भित्र्याउन चित्लाङ–चन्द्रागिरी सडकलाई मूल रुपमा अघि बढाइरहेको बेला दक्षिणी क्षेत्रबाट पर्यटकलाई नगरपालिकामा भित्र्याउन केवलकार निर्माणको अध्ययन थालिएको हो ।

थाहानगरलाई काठमाण्डौ जोड्न अर्को विकल्पको रुपमा आर्थिक वर्ष २०७५-०७६ को बार्षिक कार्यक्रममै संघीय सरकाररले चित्लाङ–थानकोट सुरुङमार्ग पनि अघि सारेको छ । पर्यटकीय संभावना बोकेको तर संभावनालाई अवसरमा बदल्नको लागि नगरकै गौरबको योजनाको रुपमा केवलकार निर्माण परियोजनालाई अघि सार्न संभाव्यता अध्ययन थालिएको प्रमुख विष्टले बताए । भिमफेदी गाउँपालिकाको ४ नम्बर वडाको पान्द्राङबाट करिब ३ किलोमीटरको दुरीमा सिमभन्ज्याङ आइपुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । १७ कार्तिकमा केवलकार संभाव्यता अध्ययनको लागि नगर प्रमुख लवशेर विष्टको नेतृत्वमा केवलकार सम्बन्धी जानाकारहरु सहितको एक टोलीले स्थलगत अवलोकन गरको छ । टोलीमा नगर उपप्रमुख खड्ग गोपाली, ३ नम्बर वडा अध्यक्ष राजेश केसी, ४ का दिपकसिंह लामा, अच्युतम प्रसाद ढकाल, अरुण रायमाझी, बिनोद लामालगायतकाको सहभागिता रहेको थियो । अवलोकनको क्रममा सिमभन्ज्यङदेखि पान्द्राङसम्मको भिडियो पनि लिइएको छ ।

प्रारम्भिक स्थलगत अध्ययन अनुसार सिमभन्ज्याङ–पान्द्राङ केवलकार निर्माण संभव देखिएको केवलकार सम्बन्धी एकजना जानकार इन्जिनियर हरिदेव तामाङले बताए । सहजै र छोटो दुरीबाट अन्तराष्ट्रिय पर्यटक समेत भित्र्याउन सकिने केवलकार थाहानगरका लागि उपयोगी हुने तामाङले बताए । एक किलो मीटर दुरीको केवलकार निर्माणको लागि न्युनतम करिब २५ देखि ७० करोडसम्म लाग्ने तामाङले बताए । उनले भने–‘इण्डियन प्रविधिको मेशिन राख्यो भने अहिलेको हिसाबमा एक किलोमीटरको २५ करोड रुपियाँ पर्छ, युरोपियन सामाग्री जडान गर्दा ७० करोडसम्म पर्छ ।’ स्थलगत अध्ययनका अनुसार हेटौंडाबाट १५ किलोमीटरमा पान्द्राङ र त्यहाँबाट तीन किलोमीटरको केवलकार दुरी पार गर्दा थाहानगरको सिमभन्ज्याङ आईपुग्न सकिनेछ । केवलकारको एउटा स्टेशन पान्द्राङ र अर्को सिमभन्ज्याङको अहिले पर्र्यटन सूचना केन्द्र निर्माण हुँदै गरेको क्षेत्रमा रहने प्रारम्भिक संभावना रहेको छ ।

थाहानगरमा धार्मिक क्षेत्रलाई पर्यटनसंग जोडेर धार्मिक पर्यटनको विकासका लागि नगरले अघि सारेको केवलकार निकै फलदायी हुने नगर प्रमुख लवशेर विष्टको विश्वास छ । सिमभन्ज्याङ केवलकारको योजना सफल हुँदा यसले सन्तानेश्वर महोदवको नामले समेत परिचित ऋषेश्वर महादेव मन्दिरमा भक्तजनको आवतजावतमा बढोत्तरी हुने विष्टले बताए । ऋषेश्वर महोदेव थाहानगरको बुद्ध धर्मावलम्वी तथा हिन्दु धर्मावलम्बीको साझा धार्मिक आस्था रहेको ठाउँ हो । पर्यटकहरु सिमभन्ज्याङसम्म आएपछि त्यही बस्ने व्यवस्थित ठाउँहरु निर्माण गर्ने नगरको योजना रहेको छ । थाहाको पर्यटन विकासको लागि आफूहरु राजनीतिक संयन्त्रमा हुँदाबाटै आवाज उठाउँदै आएकोमा अहिले जनप्रतिनीधिले गौरबको योजनाको रुपमा अघि सारेकोमा अच्युतम प्रसाद ढकालले खुशी व्यक्त गरे । ढकालले अहिलेकै जनप्रतिनीधिको पालामा सम्पन्न गर्नका लागि शुभकामना दिए । पर्यटन विकासको मूल आधार केवलकार थाहाका लागि अति उपयुक्त हुने प्रतिक्रिया दिएका छन् । संभाव्यता अध्ययनको लागि स्थलगत निरीक्षणकै कार्य शुभारम्भ हुँदै गर्दा पनि लगानीकर्ताहरुको चासो बढ्दै गएकोले सबैको सहकार्यबाट केवलकार निर्माण तथा संचालन गर्न सकिने बताए ।

सार्वजनिक जग्गा लगत संकलन शुरु थाहा नगरपालिकाले आफ्नै जनशक्तीबाट सिमभन्ज्याङ क्षेत्रमा रहेको खाली सार्वजनिक जग्गाको लगन संकन गर्ने भएको छ । जिल्ला सदरमुकाम हेटौंडा, तराइ क्षेत्र र भारतबाट समेत पर्यटक भित्र्याउन नगरको पर्यटन हबको रुपमा सिमभन्ज्याङलाई विकास गर्नका लागि जग्गाको लगन संकलन थालिने नगर प्रमुख विष्टले बताए । तिहार लगतै सिमभन्ज्याङ क्षेत्रमा नगरपालिकाले आफ्नै जनशक्तीबाट लगत लिनेछ । सिमभन्ज्याङ दामन क्षेत्रमा विभिन्न ठूला होटल व्यवस्थापनका लागि समेत नगरले पहल गर्ने भएको छ । सार्वजनिक सरोकारका सवालहरुलाई सम्बोधन गर्न प्रत्येक वडामा सार्वजनिक खाली जग्गाको अभिलेख लिने नगरपालिकाले जनाएको छ । यसका लागि नगरले गृहकार्य थालेको छ ।



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।