Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्छ किन भनियो ? : बिरोध खतिवडा

नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडाले मकवानपुरका काँग्रेस सांसदले भ्रष्टाचारीलाई समेत निर्वाचनमा जान पाउने व्यवस्थाका लागि संसदमा संशोधनका लागि गरेको अपिलप्रति प्रति कटाक्ष गरेका छन् । 

राक्सिराङ गाउँपालिकास्तरीय बाम भेला तथा बैठकलाई सम्बोधन गर्दै खतिवडाले पछि आफ्नै लागि पनि त्यस्तो नियम आवश्यक रहने भएकाले मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँसहितले त्यस्तो संशोधन प्रस्ताब ल्याएको हुनसक्ने बताए । उनले खुमबहादुर खड्का, जेपी गुप्ता, गोविन्दराज जोशी लगायत नेताहरुका लागि निर्बाचन लड्न बाटो खुलाउनका लागि त्यस्तो गरिएपनि कालान्तरमा आफैलाई पनि त्यो नियम लागू हुने देखेर बठ्याइँका साथ निर्बाचन कानून बदल्न प्रस्ताव हालिएको भन्दै ब्यंग्य गरे । काँग्रेसले यस्तो चरित्र देखाउँदा आफूलाई अनौठो नलागेको उनको भनाई थियो । 

पूरा हुनै नसक्ने सपना बाँडेर राक्सिराङ गाउँपालिकाका मतदातालाई खसी बोका झैँ खरिद गरेर निर्बाचन जित्ने सपना देख्दै आएका काँग्रेस उम्मेदवारको लक्ष्य कुनै पनि हालतमा कम्युनिष्टहरुले असफल बनाइदिने उनको दाबी थियो । ‘यस क्षेत्रका सचेत जनयुद्ध लडेका र जनआन्दोलनमा सक्रियता देखाएर राजनीतिक चेतना बोकेका मतदाता र कार्यकर्ता खसी बोका झैँ बिक्ने बस्तु होइनन्’, खतिवडाले भने–‘त्यसरी अपमानजनक ढंगले ब्यबहार गर्न आएमा त्यसको प्रतिकार गर्नुहोस् ।’
कार्यक्रममा बोल्दै प्रदेशसभा उम्मेदवार एबम् निबर्तमान सांसद राजाराम स्याङ्तानले काँग्रेसका उम्मेदवार आफ्नो क्षेत्र छोडेर यता आउँदा बाटो समेत भुलेको बताए । कुन गाउँ कसरी जाने भन्ने समेत जानकारी नभएका उम्मेदवारले विकास गर्छु भनेर बोलेको कुरालाई जनताले उडाइदिएको उनले सुनाए । उनले यस क्षेत्रको जलविद्युत योजना, ७ वटा क्षेत्रीय बाटोहरुको डिपिआर तयारी, चेपाङ संग्रहालयको संचालन र व्यवस्थापन लगायतका अनेकौँ काम आफ्ना पालामा भइसकेको भन्दै अहिले आएका पाहूना उम्मेदवारले त्यसको जस लिन खोजेको बताए । ‘म यस क्षेत्रको निवर्तमान सांसद हुँ, यहाँको बाटो, पुल पुलेसा कहाँ के गर्ने भन्ने कुरा नीतिगत रुपमा मैले केन्द्रमा मिलाएको छु, योजना किताबमा हालेको छु ।’  तर, सबै काम मैले गरेको भन्दै पुरानो तोक लगाएको चिठी देखाउँदै राक्सिराङ गाउँपालिका अध्यक्ष र काँग्रेस उम्मेदवारले राजनीतिक रंग दिइरहेकोमा उनले आक्रोस पोखे ।
कार्यक्रममा बाम गठबन्धनका समानुपातिक उम्मेदवार प्रदीप घलान ओम, माओवादी केन्द्रका रामहरि सुवेदी, खुसीलाल चेपाङ, जंगलाल चेपाङ, एमालेका पीवी गोले, लालबहादुर थापा, महेश बर्ताैला, कृष्णबहादुर चेपाङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । निर्वाचन परिचालन कमिटीका गाउँ परिचालन संयोजक बनस्तम थिङको अध्यक्षतामा बसेको बैठकको सञ्चालन उपसंयोजक बाबुलाल स्याङ्तानले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पूर्णबहादुर मोक्तान, जयबहादुर स्याङ्तान, मदन मुक्तान, बीबहादुर ब्लोन, पूर्णबहादुर ब्लोन, पुड्के स्याङ्तान, पूर्णबहादुर लामा, प्रेमबहादुर लामा, सिंहराम स्याङ्तान, भीबहादुर ब्लोन, कृष्णबहादुर मुक्तान, दुर्गा विक, प्रकाश डिम्डुङ समेत गरी ५० जना बाम गठबन्धनमा प्रवेश गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०