Monday, 15th June, 2026
वि.स.

बालुवा झिक्न पाउनुपर्ने माग राख्दै गाउँपालिकामा ज्ञापन पत्र

इन्द्रसरोवर गाउँपालिकामा ७ फागुनमा सर्वाङ–सेरा–खड्बुखेल–दमैढुङ्गा समितिले ज्ञापनपत्र बुझाएका छन् । इन्द्रसरोवर गाउँपालिका १ का जनसमुदायले सेराको खोलामा बालुवा झिक्नका लागि विद्युत प्राधिकरणले दिएको ठेक्का रद्ध गरि जनसमुदायले नै बालुवा झिक्न पाउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । 

सेरा खोलाबाट बालुवा झिक्न नदिएको, नेपाल विद्युत प्रधिकरणले ठेक्कामा निकाल्न दिएको लगायतका कारण देखाउँदै आफुहरुले बालुवा निकाल्न पाउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको समितिका सदस्य कान्छी गोलेले बताउनु भयो । उक्त समितिका जनमानसले सेरामा वि.सं. २०५३ सालदेखि नै खोलाको बालुवा निकालेर जिवन निर्वाह गर्दै आएको थियो । ढुङ्गा गिट्टी बालुवाको ठेक्का दिने अधिकार स्थानीय तहलाई भए पनि नेपाल विद्युत प्रधिकरण आफैले बिना समन्वय नै ठेक्का दिएर बालुवा झिक्ने र बिक्री वितरण कार्य गरेको कारण कानुन विपरित भएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अर्को आदेश नआएसम्मका लागि उक्त कार्य गर्न नदिन आदेश दिइएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । 

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति बसेर छलफल गर्न बाँकी रहेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए ।