Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाम गठबन्धन काँग्रेसलाई भारी

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र २ का उम्मेदवार बिरोध खतिवडाले बाम गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । मनहरी गाउँपालिका स्तरीय नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एमाले एक्लै त काँग्रेसका लागि भारी थियो’, खतिवडाले भने–‘झन् माओवादी समेत थपेर आएपछि काँग्रेसलाई थाल खाउँ न भात खाउँ भएको छ ।’ 

उनले मकवानपुर क्षेत्र नं १ मा जनताले नपत्याउने भएपछि क्षेत्र नं २ तिर काँग्रेस सभापति इन्द्रबहादुर बानियाँ लम्केको भन्दै यहाँका जनतालाई ढाँट्ने उनको उद्देश्य पूरा हुन नदिने बताए । क्षेत्र नं १ मा हरेक गाउँमा लाखौ र करोडौँ रुपियाँ सहयोग गर्छु भन्दै यसअघि गरेको प्रतिबद्धताबारे जनताले प्रश्न गर्ने भएपछि भागेर क्षेत्र नं २ तिर हाम फालेका बानियाँ अर्काे चुनावमा अर्के क्षेत्र पुग्ने भन्दै उनले व्यंग्य गरे । भने, ‘भाग्दा भाग्दै कहाँ पुग्ने हो र ? मकवानपुर ४ क्षेत्रमा अब जान बाँकी ठाउँ २ वटा क्षेत्र मात्र छ ।’

कार्यक्रममा बोल्दै अर्का मकवानपुर २ को ख अन्तर्गत प्रदेशसभा उम्मेदवार राजाराम स्याङ्तानले आफू आगामी दिनमा बाँकी रहेको विकास निर्माण योजना पूरा गर्न गर्नका लागि उम्मेदवार बनेको बताए । उनले यस क्षेत्रका जनताले आफूलाई सभासद बनाएर पठाएपछि नयाँ संविधानसँगै राक्सिराङ, सरिखेत, हाँडीखोला, मनहरीसहितका थुप्रै गाउँहरु प्रवेश गर्ने बाटो, खानेपानी, विद्युत लगायतका कामहरु गरेको दाबी गरे । अझै काम गर्न बाँकी रहेकाले आफ्नो उम्मेदवारी रहेको उनको दाबी थियो । 

नेकपा एमालेका केन्द्रीय लेखा आयोगले काँग्रेसको हाउगुजीमा नफस्न र नलाग्न कार्यकर्तालाई आग्रह गरे । माओवादी केन्द्रका सचिवालय सदस्य प्रदीप घलानले मतदाता किन्ने हिसावमा केही उम्मेदवारहरु आएको हल्ला चलेकाले त्यस्ताको सशक्त प्रतिकार गर्ने बताए । त्यसैगरी विद्यार्थी नेता महेश बर्ताैलाले भ्रष्टाचारीलाई चुनाव लड्न पाउनुपर्छ भनेर निर्वाचन कानून फेर्न प्रस्ताब गर्ने भ्रष्टाचारीहरुलाई जनताले हराएर देखाइदिने दाबी गरे । 
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामहरि सुवेदी, रामप्रसाद कालाखेती, नेकपा एमालेका लालबहादुर थापा लगायतले सम्बोधन गरेका थिए । भेलाले गाउँ र वडा तहमा निर्वाचन परिचालन कमिटी निर्माण गर्ने योजना समेत बनाएको छ । निर्वाचन परिचालन कमिटी संयोजक नवराज सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका बनष्तम थिङले स्वागत गरेका थिए भने सन्जीव पाठकले सञ्चालन गरेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)