Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाढी प्रभावित भेट्न गाउँ पुगे जनप्रतिनिधि

लगातारको वर्षापछि समस्यामा रहेका ग्रामीण भेगका बाढी पीडितहरुलाई भेट्न मकवानपुरका प्रतिनिधिहरु गाउँ पुगेका छन्।

जिल्लाको मकवानपुरगढी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रमा वितरण गरेको राहतको सान्दर्भिकता, पीडितहरुले पाएको सहयोग तथा स्थानीय सरकारको समन्वयको बारेमा अनुगमन गर्न मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद गाउँ पुगेका हुन्।

मकवानपुरगढी गाउँपालिका–६ मा रहेको डुम्रेकुना, झल्ला, वडा नं. ३ को धमिले फाँट, वडा नं. ५ को भागरथीखोलालगायतका बाढी प्रभावित क्षेत्रमा सांसदको टोली अनुगमनमा पुगेको छ। प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेशसभा सदस्य मुनु सिग्देलले अनुमगमनका क्रममा उक्त क्षेत्रमा २ सय ५० घरधुरी बाढी प्रभावितलाई भेटेका हुन्।

सांसदहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बाढी प्रभावित क्षेत्रमा बस्ती संरक्षणको प्रमुख समस्या भएको बताए। उनले यहाँको बस्ती र खेतियोग्य जग्गा संरक्षण गाउँपालिकाकै मुख्य समस्या भएको बताएका छन्।

अध्यक्ष हुमागाईंले प्रकोपले वर्षेनी स्थानीयलाई पीडित बनाएको र शिवम् सिमेन्टको खानी उत्खनन् क्षेत्रले गर्दा अझै ठूलो समस्यामा स्थानीयहरु रहेको बताए। शिवम्ले बस्ती संरक्षणको काम वर्षा अगावै नगर्ने र वर्षाले प्रभावित बनाएपछि गर्ने गरेको भन्दै स्थानीयले गुनासो गरे।

असार २७ गते आएको भीषण बाढीले डुम्रेकुनाको ड्याम भत्काएको छ। बाँधसँगै बनाएको तारजालीपनि बाढीले भत्काएको छ भने खेतीयोग्य जमिनमा बाढी पसेको थियो। बाढीले बाँध कटान गर्न थालेपछि स्थानीयलाई स्कुलमा सारिएको वडा अध्यक्ष टिकाप्रसाद दहालले बताए। धमिले फाँटमा पनि खेतियोग्य जग्गामा बाढी पसेको थियो।

प्रतिनिधिसभा सदस्य खतिवडाले मकवानपुरगढीको वस्ती संरक्षणको लागि आफूले प्रथामिकताका साथ बजेटको व्यवस्था गर्न पहल गर्ने स्थानीयलाई बताए। उनले कंक्रिटलगायतका ड्याम निर्माण गर्न करिब १० देखि १५ करोड बजेट छुट्याउन आफ्नो विशेष पहल हुने आश्वासन दिएका छन्।

सोही क्षेत्रमा यसअघि पनि खतिवडाले बस्ती संरक्षणको लागि बजेटको व्यवस्था गरेका थिए। खतिवडाले बाढी पीडित भएर बस्नु नपर्ने भन्दै स्थानीयहरुको दुःखमा आफू साथ रहेको बताए। प्रदेशसभा सदस्य मुनु सिग्देलले प्रदेश सकारको बजेटमार्फत उपलब्ध गराएको बजेटले गाउँ जोगिएको भन्दै स्थानीयले धन्यवाद दिएका थिए। सिग्देलले प्रदेश सरकारको तर्फबाट फेरि पनि वस्ती संरक्षणको लागि बजेटको व्यवस्था गर्ने विश्वास दिलाएकी छिन्।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)