nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराहीबाट यसरी शुरु भयो थाहानगरको सरसफाई अभियान
सरसफाइ नगरे सुविधाबाट बन्चित गरिने

sarsafai-1527508532.jpg

सरसफाइको मामिलामा मकवानपुरको थाहा नगरपालिका कठोर ढंगले अघि बढ्ने संकेत देखिएको छ । स्थानीय समुदायसँग मिलेर शुल्कमा आधारित सरसफाइ अभियान संचालन शुरु गरेको नगरपालिकाले सरसफाइ नगरे नगरपालिकाबाट दिइने सुविधाबाटै बन्चित गरिनेसम्मको नियम बनाउन लागेको छ । 

नगरप्रमुख लवशेर विष्टले नगरको बज्रबाराहीमा आयोजित वृहद सरसफाई कार्यक्रममा सहभागी स्थानीयलाई आफ्नो घर, पसल आदिबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्न आग्रह गरे । ‘बजार व्यवस्थापनमार्फत् हामी सरसफाइ कार्ड वितरण गछौं, त्यस कार्डमा सरसफाइ शुल्कको भुक्तानी अभिलेखसमेत हुनेछ । वडा वा नगरमा कुनै सेवा लिन आउँदा सरसफाइ कार्डसमेत लिएर आउनु पर्नेछ ’ उनले भने  । सरसफाई शुल्क नतिर्ने र सरसफाई अभियानमा संलग्न नहुने नागरिकलाई अन्य सुविधाबाट समेत बन्चित गरिने उनले बताए । 

‘सफा घर, स्वच्छ शहर, हराभरा थाहानगर’ भन्ने नारा सहित ऐतिहासिक  बज्रवाराहीको डुक्चेबजार कुन्छालदेखि लीलाखेलसम्म झण्डै ४ किलोमिटर क्षेत्रमा नेपाली सेना, विद्यार्थी, स्थानीय समुदाय र जनप्रतिनिधिहरुको सहभागितामा बृहद् सरसफाई कार्यक्रम संचालन गरिएको थियो । नेपाली सेनाको चनवन व्यारेकबाट क्याप्टेन सागर विष्टको नेतृत्वमा १ सय ५ जना, स्थानीय बज्रवाराही मावि, सुनौला मावि, सरस्वति बालमन्दिर, इअन इंगलिस एकेडेमीका गरी झण्डै १ हजार ५ सय विद्यार्थी र समुदायका व्यक्तिहरु सो कार्यक्रममा सहभागी थिए । नगर प्रमुख विष्ट आफै उक्त अभियानमा खटिएर सरसफाइ गरेका थिए भने थाहा १ नम्बर वडा अध्यक्ष हेरमान गोपाली, ६ नम्बर वडा अध्यक्ष शशिधर सुवेदी, वडा सदस्यहरु तथा बजार व्यवस्थापन समितिका पदाधिकारीले कार्यक्रममा सँगै थिए । 

सरसफाई कार्यक्रमको अन्त्यमा आयोजित सभामा बोल्दै नगरप्रमुख विष्टले समयमै ध्यान दिन नसक्दा राजधानी काठमाण्डौं प्रदुषित भएको भन्दै थाहानगरलाई सफा सहर बनाउन अहिलेदेखि कडाइपूर्वक लाग्ने बताए । उनले भने(‘बजार व्यवस्थापन समितिमार्फत् फोहोर संकलन गर्न घरभित्रको लागि डस्टविन वितरण हुन्छ, सडक छेउमा आउटडोर डस्टबिन हुन्छ । नगरपालिकाको गाडी नियमित रुपमा फोहोर उठाउन आउँछ, तपाईंहरुले सहयोग गर्नुहोस् ।’ यदि सरसफाइमा आलटाल गरी कारबाही गर्ने दिन आए लज्जास्पद हुने उनको भनाइ थियो  ।

यसैबीच थाहा नगरपालिकाले बज्रबाराहीमा निर्माण गरेको सेरिगेसन हाउसको बिहीबारै उद्घाटन गरिएको छ । नगरमा निर्माण गरिएको सेरिगेसन हाउसहरुमध्ये पहिलोपटक बज्रवाराहीमा शुरु गरिएको हो । बज्रवाराहीमासंकलन भएको फोहोर नगरपालिकाको ट्रिपरले उठाएर सेरिगेसन हाउसमै थुपारेको थियो । 

सेरिगेसन हाउस फोहोरमैला संकलन र प्रसोधन गर्नका लागि बनाइएको फोहोरमैला व्यवस्थापन गृह हो । सेरिगेसन हाउसमा कागजजन्य, कपडाजन्य, प्लास्टिकजन्य र सिसा वा धातुजन्य फोहोरहरुलाई छुट्याएर व्यवस्थापन गरिने  बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । 

बजार व्यवस्थापनअन्तर्गत बज्रवाराहीमा झण्डै ४ सयको हाराहारीमा सदस्य बनाउने गरी अभियान थालिएको बजार व्यवस्थापन समितिका सचिब 
मेघराज बलामीले बताए । समितिले सदस्यहरुका लागि प्रवेश शुल्क पाँच सय र मासिक शुल्क घर र सामान्य पसलका लागि १ सय, संघसंस्थाका लागि २ सय र मासु पसल, उद्योग तथा होटल आदिका लागि ३ सय रुपैया तोकेको थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए ।  ।