Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश राजधानी : हेटौँडाको पक्षमा अधिकांश सांसद

Pradesh-3-Samsad-1-2-1536-1578536985.jpg

प्रदेश–३ को प्रदेशसभामा स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । बुधबारको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई बुझाएको प्रतिवेदनका बारेमा व्यापक छलफल भयो ।

बैठकमा प्रतिवेदनमाथि छलफल होस् भनी संयोजक निरौलाले प्रस्ताव राखेका थिए । छलफलका क्रममा आफ्ना धारणा राख्ने अधिकांश प्रदेशसभा सदस्यले स्थायी राजधानीका लागि हेटौँडा नै उपयुक्त हुने बताएका छन् । काभ्रेका बसुन्धरा हुमागाईंलगायत केही सदस्यले भने राजधानीका लागि काभ्रेपलाञ्चोक नै उपयुक्त हुने धारणा राखेका छन् ।

प्रदेशको १३ जिल्लामध्ये आठ जिल्ला काभ्रेसँग जोडिएको बताउँदै प्रदेशसभा सदस्य हुमागाईंले काठमाडौँबाट नजिक रहेको काभ्रेलाई राजधानी तोक्नुपर्ने बताए । उनले काभ्रेबाट काठमाडौँ आउजाउ गर्न नजिक हुने हुँदा मन्त्री, नेता तथा कर्मचारीलाई आउजाउमा सहज हुने धारणा राखे । धारणा राख्ने क्रमको अन्तमा उनले ‘मुटुमाथि ढुंगा राखी हाँस्नुप¥या छ’ भन्ने नारायण गोपालको गीतको हरफ सुनाउँदै नेकपा शीर्ष नेतृत्वको निर्देशन पालना गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको संकेत दिए ।

प्रदेशसभामा ललितपुरबाट प्रतिनिधित्व गर्नुहुने विद्या श्रेष्ठले हेटौँडा नै उपयुक्त रहेको धारणा राखिन । यहाँको वातावरण, भूगोल, सामरिक महत्व भारतसँगको नाकाबाट नजिक आदि धेरै कारण हेटौँडालाई नै स्थायी राजधानी बनाउनुपर्ने उनको धरणा थियो । दुईवर्ष अलमलिएको प्रदेश राजधानीलाई फेरि नयाँ ठाउँमा सारेर अरू दुई वर्ष अलमल गर्नुहुन्न भन्दै श्रेष्ठले इतिहासमा पनि मकवानपुर राजधानी भइसकेको उल्लेख गरिन् ।

अर्का सदस्य गीता वाग्लेले प्रदेशको राजधानी हेटौँडा नै हुनुपर्ने दाबी गरिन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी र नामाकंनका लागि सबै दललाई एक बनाएर सर्वसम्मतिमा निर्णय गराउन थालेको पहलले काम गरेको आभास हुन्थ्यो । प्रदेश–३ को प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाई बहुमत भए पनि महत्वपूर्ण विषय भएका कारण प्रमुख प्रतिपक्षी काँगे्रस र अन्य दलहरुबीच पनि सहमति गरेर अधिकतम सहमतिमा निर्णय गरेर सबै दलहरुलाई समेत अपनत्व दिलाउने पक्षमा मुख्यमन्त्री पौडेल रहने भएको छ ।

मुख्यमन्त्री पौडेलले नेकपा सचिवालयको सुझावअनुसार नै निर्णय गराउने र त्यसका पक्षमा विपक्षी दलहरुलाई समेत सहमत गराउन प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रसका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाका प्रदेशसभा सदस्यहरु रीना गुरुङ, रीता माझी, विवेकशील नेपाली दलका सदस्य रमेश पौडेल, नेमकिपाका सुरेन्द्रराज गोसाईंलगायतका प्रदेशसभा सदस्यहरुसँग समेत छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटघाटमा सबै दलले नेकपालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले प्रदेशको राजधानी थुप्रै रणनीतिक कारणले हेटौँडा नै उपयुक्त हुने धारणा राख्नुभएको थियो । उनले नेपाली काँग्रेसले हेटौँडालाई राजधानी बनाउने र प्रदेशको नाम वाग्मती राख्ने विषयमा आपत्ति नजनाएको र केही प्रक्रियाको मात्र विरोध गरेको बताए ।

-रिपेश दाहाल/रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)