Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेशसभा र संघीय संसदको चुनाव आगामी १० मंसिरमा गर्ने निर्णय

सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी १० मंसिरमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को ५ भदौको बैठकले चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी ४ र २१ मंसिरको मिति प्रस्ताव गरेको थियो । आयोगको प्रस्ताव पहिलो चरणमा हिमालीसहितका ३१ जिल्लामा र बाँकीमा दोस्रो चरणमा चुनाव गर्ने थियो ।

तर, प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन मिति घोषणा हुनुलाई स्वागतयोग्य कदम बताएको छ । सचिव योगेश भट्टराईले भने, ‘निर्वाचन गर्नका लागि घोषणा गरिएको हो भने त्यससम्बन्धी कानुन पनि चाँडै पारित गराइनु पर्छ ।’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, ‘एक चरण, दुई चरण भनिएको छैन । १० मंसिरमा दुवै तहको चुनाव गर्ने भन्ने निर्णय भएको छ ।’

स्रोतका अनुसार चुनावमा दुई वटा मतपत्र हुनेछन् । एउटामा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ । यस्तै, अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदानको व्यवस्था मिलाइने छ ।