nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पुस महिनाभित्रमा स्वास्थ्य वीमा ऐन संसदमा पेश गर्ने-स्वास्थ्यमन्त्री  थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्यमन्त्री  गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन विनाशर्त स्वास्थ्य वीमा अनिवार्य हुनपर्ने बताएकाछन् ।  नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले प्रत्येक नेपालीको विनाशर्त स्वास्थ्य बीमा हुनुपर्ने भन्दै संसदमा सो कानून केहीदिन भित्रैमा आउने भन्दै आफूले काम अघि बढाएको बताए । 

नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले १२ पौषमा मनहरीमा गरेको बृहत आमसभामा बोल्दै मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट कुनैपनि नागरिक बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य वीमाको तयारी गरेको बताए । यसका लागि पुस महिनाभित्रमा स्वास्थ्य वीमा ऐन संसदमा पेश गर्ने बताए । उनले आर्थिक विपन्नता रहेका नागरिकको वीमा सरकारले नै गर्ने र आर्थिक हैसियत भएकाहरुले निश्चित रकम बुझाएर स्वास्थ्य वीमा गर्न सक्ने बताए । उनले ५ बर्षभित्र सबै स्वास्थ्य चौकीहरुलाई भौतिक पूर्वाधार सम्पन्न बनाई ग्रामीण भेगसम्म सर्वसुलभ स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको बताए । 

यसअघि आफ्ना समस्या समाधानका लागि सरकारसम्म पुग्ने अवस्थाको अन्त्य गर्न सरकार जनतामाझ पुग्ने पद्धतिको विकास गर्नु जरुरी रहेको उनको भनाई थियो । मकवानपुरको स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले हेटौँडा अस्पताललाई सुविधा सम्पन्न बनाउनेतर्फ ध्यान दिएको भन्दै मन्त्री थापाले पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनहाँले मनहरी उपस्वास्थ्य केन्द्रकोसमेत स्तरोन्नतीको लागि १५ शैयाको ब्यवस्था केहीदिनभित्रनै गर्ने बताए । 

कार्यक्रममा काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेले संसद अवरुद्ध गरेर लोकमान कार्कीसँग बार्गे्निङ गरिरहेको बताए । उहाँले लोकमान कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश गरेको एमालेले संसद अवरुद्ध गरेर लोकमानसँग बार्गेनिङ गरिरहेको बताए । उहाँले आफुलाई लोकतान्त्रिक पार्टी भन्ने एमालेले जनतालाई दुःख दिएर नभई संसदबाट यसको छिनोफानो गर्नुपर्नेमा संसद अवरुद्ध गर्ने र जनतालाई पनि दुःख दिने काम गरिरहेको बताए । 

राज्यमन्त्री बानियाँले जनताको मतको सम्मान गर्दै काँग्रेसले सिंहदरबारमा मकवानपुरको प्रतिनिधित्व दिएको भन्दै यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए । मकवानपुरको सांस्कृतिक एवं ऐतिहासिक धार्मिक र पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा आफ्नो कार्यकाल खर्चनुका साथै चेपाङ संग्राहालय बनाउन आफू दत्तचित्त भएर लाग्ने उनको दावी थियो ।

नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला नेताहरु अशोक शाक्य, रीता खनाल, जयराम लामिछाने, भरत पराजुली, रामकृष्ण प्रजा, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिवेशन प्रतिनिधि जानकी लामा, क्षेत्रीय उपसभापति नुरोज पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हरिचन्द्र शाही ठकुरी, सन्तबहादुर थिङ ठुल्कान्छा, दावाराम थिङ, दीपक मुक्तान, क्षेत्रबहादुर मुक्तान, कमल थिङ, विकास पाख्रिन, नवराज पाख्रिनलगायत ७ सय २७ जना प्रवेश गरेको ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले बताए ।