nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पिसपार्कमा आउँदै फिलिपिन्सकी राजकुमारी: निर्माण अन्तिम चरणमा

तीन बर्षअघि तत्कालीन मनहरी गाविस वडा नं ४ सिमपानीमा रहेको सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहलाई चिन्ताको बिषय थियो–अतिक्रमण कसरी रोक्ने ?

अध्यक्ष नारायण उप्रेतीलाई यही बिषयमा चिन्ता थियो । अतिक्रमण गरेर बस्नेहरु अनेक प्रलोभन त दिन्थे नै, धम्की पनि आइरहन्थ्यो । यस्तै तनाव भोगिरहेका उप्रेतीलाई यहाँका राजनीतिक पार्टी, समाजसेवी, बुद्धिजीवि र वन कर्मचारीहरुले समेत साथ थिए । यही बेला हेटौँडाबाट ब्रह्मकुमारी राजयोग सेवा केन्द्र आइपुग्यो । र, बन्यो एउटा शान्तिवाटिका बनाउने योजना । सबैले सहमति जनाएपछि बन्यो–पिस पार्कको मोडल । माननीय सांसद राजाराम स्याङ्तान लगायत संघसंस्थाहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बिनियोजन गरे । सामुदायिक वन त छँदै थियो नै ।
यही बीचमा स्थानीय तहको निर्वाचन भयो । मनहरी र हाँडीखोला गाविसलाई मिलाएर गाउँपालिका बनाइएपछि साबिकका ४ नं वडामा रहेको सिमपानी वडा नं ८ मा बदलियो । र, निरन्तर गाउँपालिकाले पिसपार्कमा लगानी ग¥यो । अन्य व्यक्तिहरु थपिए । थरिथरिका दाताहरु आएका छन् जसले भौतिक निर्माणमा ठूलो सहयोग गरेका छन् । र, अहिले पिसपार्क अब मकवानपुरबासीले गर्व गर्न सक्ने एउटा गज्जवको पार्क बनेको छ । ५ बिगाह क्षेत्रमा फैलिएको पिसपार्कमा बिस्तारै अरु संरचनाहरु बढ्दै जाँदा क्षेत्रहरु पनि फराकिलो हुन थालेका छन् । नजिकै रहेको टासी छोइलिङ गुम्बा र ऋषेश्वर मन्दिरसँग लिंक अप गरेपछि यो पार्कले यतिखेर पूर्ण रुपमा पर्यटकीय क्षेत्रको रुप धारण गरेको छ । यही पार्कमा मंसीर ३ गते फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अपिनिता चाइचाना आउँदैछन् ।

पिसपार्क:

पिसपार्कको मुख्य भाग भनेको चिडी (तासको पत्तीको चिह्न) को आकारमा डिजाइन गरिएको पार्क हो । यो पार्कमा मुख्य गेट रहेका छन् । आकर्षक र भब्य गेट यहाँस्थित जनसेवा क्रसर उद्योगले निर्माण गरिदिएको हो । यो पार्क घुम्नका लागि पैदलयात्रीलाई सजिलो पारिएको छ भने चिडीको बीच भागमा चाइनिज दुबो रोपेर आकर्षक पारिएको छ । छेउ छेउमा फूलका बिरुवाहरु रोपिएका छन् । गेटको दायाँबायाँ ठूला ठूला गोलघरहरु काष्ठ बुट्टासहित निर्माण भएका छन् । जहाँ सानातिना औपचारिक कार्यक्रमहरु नै आयोजना गर्न सकिन्छ । पिसपार्कसँगैको दाहिनेपट्टि स्थायी मञ्च (स्टेज) निर्माण भएको छ । त्यहाँ ५०० भन्दा बढी मानिसहरु राखेर ठूला औपचारिक कार्यक्रम र प्रवचन गर्न मिल्ने अबस्था छ ।

बुद्धको मुर्ति:

हेटौँडाका व्यापारी एबम् समाजसेवी ज्योतिरत्न बज्राचार्यले आफ्नै लगानीमा पिस पार्क क्षेत्रमा बुद्धको मूर्ति स्थापना गरेका छन् । कमलको फूलको आकृतिसहित निरन्तर पानी झर्ने गरी निर्माण गरिएको संरचनामाथि बुद्धको मूर्ति स्थापित भएको छ । पार्कको देब्रेपट्टि बुद्धको मूर्ति स्थापना गरी व्यवस्थित गरिएको छ ।

पोखरी:

पार्कको उत्तरी क्षेत्रमा रहेको सामुदायिक वनको सीमानमा पोखरी निर्माण भएको छ । कालान्तरमा यो पोखरीमा बोटिङको व्यवस्था हुनेछ । बोटिङ सेवा सुरु भएपछि थप आन्तरिक पर्यटकहरु आउने अपेक्षा छ । धेरै लामो नभएपनि बोटिङलाई पुग्नेगरी १५० मिटर बढी लम्बाईको पानी पोखरी निर्माणपछि पिसपार्कको सौन्दर्य अझै बढेको छ । नियमित रुपमा प्राकृतिक पानीको मुहान भएकाले यो पोखरीलाई व्यवस्थित गर्ने पोखरीमाथि सानो झोलुंगे पुल समेत हाल्ने योजना छ । 
गोलघर
पोखरीसँगै जोडिने गरी अर्काे गोलघर निर्माण भएको छ । उक्त गोलघरमा बसेर थकाई मार्न र पोखरी हेर्न सकिन्छ । यहाँ ड्राई फुड बोकेर साथीभाई समूहमा आउने र खाजा खाने मेसो मिलाउन पनि सकिन्छ ।

मेडिटेसन सेन्टर:

पिसपार्कको अर्काे पाटो भनेको मेडिटेसन सेन्टर हो । बिहान बेलुका मानिसहरु आएर ध्यान गर्नका लागि यो मेडिटेसन सेन्टरले सघाउ पु¥याउनेछ । यो ध्यान केन्द्र पिसपार्कबाट उत्तरी पूर्वस्थित जंगलको बीचको टुप्पोमा छ । जहाँबाट सिमपानी र ज्यामिरे गाउँ तथा राजमार्ग देख्न सकिन्छ । यहाँ उक्लनका लागि ८४ वटा सिँढी निर्माण भएका छन् । नेपाली सेनाको १ नं जगदल गणले सिँढी निर्माण गरिदिएको हो । ८४ वटा ठाडो सिँढी चढ्दा थकाई मार्ने ठाउँको रुपमा बीचमा एउटा आकर्षक गोल घर पनि निर्माण भएको छ । यो गोलघर हेटौँडाकी समाजसेवी लता पराजुलीले ३७ औँ जन्मदिनको अबसरमा निर्माण गरिदिएकी हुन् । त्यसैगरी ध्यान केन्द्रमा घुमाउरो बाटो भएर पुग्ने मार्गमा पनि सिमपानी क्षेत्रका अगुवाहरुको लगानीमा मानबहादुर मुक्तान, रामहरि सुवेदी, गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसहितको टोलीले अर्काे गोलघर निर्माण गरिरहेका छन् ।


निर्माणाधीन आमाघर:

पिसपार्क छेउमै आमाघर सेवा आश्रम निर्माण हुँदैछ । ५ तल्ले यो भवन निर्माणका लागि ५ करोड लाग्ने अनुमान छ । सबै सहयोग दातृ निकाय र व्यक्तिहरु नै हुन् । बृद्ध अबस्थामा असहाय बन्न पुगेका १०० जना आमाहरुलाई खानेकुरा र आवाससहितको व्यवस्था गर्न लागिएको हो । यो भवन निर्माणका लागि पनि विभिन्न व्यक्ति र संघसस्थाहरुले सहयोग गरिरहेका छन् ।

समग्रमा एउटा पर्यटकीय क्षेत्रको रुपमा पिस पार्कले लिएको छ । यहाँस्थित राजनीतिक पार्टीका अगुवाहरु, समाजसेवी, शिक्षक, विद्यार्थी, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, उपकेन्द्र लगायत सबैले पिसपार्कमा गएर जनश्रमदान गर्ने लगायतका कामहरु गरिरहेका छन् । जिल्लामा ठूला नेता, सांसद र मन्त्रीहरु आउँदा पिसपार्कमा घुम्न जाने क्रम सुरु भइसकेको छ । कुनै दिन अतिक्रमणले सताएर तनाव दिएको यो स्थानमा यति चाँडै परिपक्व पर्यटकीय पार्क बन्ला भनेर सोचिएको थिएन । तर, आफ्नै संयोजकत्वमा रहेको पिस पार्कमा यति राम्रा संरचना निर्माण भएपछि भने यतिखेर सिमपानी देवकोट संयुक्त सामुदायिक वनका अध्यक्ष नारायण उप्रेती भन्छन–‘त्यतिखेरको अतिक्रमित जग्गा अहिले स्वर्गको टुक्राजस्तो पो भयो ।’



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com