Friday, 19th June, 2026
वि.स.

पालिकामा अस्पताल जनमुखी विकासः सांसद खतिवडा

मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले मुलुकका सम्पूर्ण पालिकाहरुमा स्वास्थ्य उपचारको सहज पहुँच विस्तारका लागि अस्पताल निर्माण हुनु उल्लेख्य कार्य भएको बताएछन् । खतिवडाले यस कार्यलाई जनमुखी विकासको संज्ञा दिएका छन् । आफूलाई संघीय सरकारको प्रतिनीधिको रुपमा नागरिकले निर्वाचित गराएको बताउँदै प्रतिनीधि सभा सदस्य खतिवडाले संघीय सरकारको नीति अनुसार नै थाहानगरमा १५ शैय्या अस्पताल शिलान्यास भएको बताए । थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पा डाँडामा थाहा अस्पतालको शिलान्यास गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । 

समस्या आएपछि मात्र समाधानको उपाय आउने बताउँदै खतिवडाले अहिलेको स्वास्थ्य सुरक्षासंग जुध्ने क्रममा स्थानीय तहहरुमा अस्पतालको अवधारणा आएको बताए । “आज अस्पतालको जग राख्यौं, अब समयमै सम्पन्न गर्न सबै एकजुट हुनु पर्छ”-खतिवडाले भने, हिजोको व्यवस्थाभन्दा ४६ सालको राम्रो ४६ को भन्दा त्यसपछिका व्यवस्था राम्रो र अहिलेको नयाँ संविधान अनुसारका व्यवस्था अझ राम्रो छ ।" उनले निर्वाचनका बेला जनतामा लगिएको घोषणापत्रमा राष्ट्रको आम्दानीको ७० प्रतिशत पठाउने भनेको भएपनि त्यती पठाउन नसकेपनि पहिलेको तुलनामा विकास बजेट बढि पाएको बताए । जनप्रतिनीधि निर्वाचित भएको तीन वर्षमा परिवर्तनको महशुस जनताले गरेको बताउँदै खतिवडाले आफ्नो खाँचो र प्राथमिकता निर्धारण गर्न स्थानीय तह सक्षम भएकोले थप अवसरहरु सृजना भएको बताए । 

कार्यक्रमको विशेष अतिथी तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले निर्वाचनका बेला गाउँगाउँमा जाँदा जनताहरुलाई भनेका थियौं त्यसकै फलस्वरुप यो अस्पताल निर्माणको शिलान्यास भएको बताइन् । आमजनतालाई स्वास्थ्य उपचारमा सहज बनाउनका लागि थालिएको यो अभियान अर्थात अस्पताल चाँडै बन्ने कामना सदस्य मोक्तानको रहेको थियो । नागरिकलाई सहजै उपचार दिलाउन संघीय सरकारले स्थानीय तहहरुमा अस्पताल बनाउने अभियान थालेकोमा प्रदेश सांसद मोक्तानले आभार व्यक्त गरिन् । 

आम जनसरोकारको विषय कोट्याउँदै जनप्रतिनीधि आएपछि विकासमा केही न केही इट्टा थपिएको थाहानगर प्रमुख लवशेर विष्टको भनाइ रहेको थियो । प्रमुख विष्टको अध्यक्षतामा भएको शिलान्यास समारोहमा विकासकै अभियान स्वरुप थाहामा १५ शैय्या अस्पताल निनर्माण शुभारम्भ भएको बताए । थाहा अस्पताल ३३ रोपनी क्षेत्रमा फैलिएको जग्गामा निर्माण गरिन लागेको भएपनि ३ सय शैयाको निर्माण गर्ने भावी योजना प्रमुख विष्टले सुनाए । अहिलेलाई १५ शैय्या अस्पतालको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको बताउँदै आगामि डेढ वर्षमा निर्माण सक्ने बताए । प्रमुख विष्टले भने-"देशभरका अस्पताल निर्माणमा सबैभन्दा पहिले थाहा अस्पताल सम्पन्न हुन्छ । थाहा नगरपालिकाले ९ लाख रुपियाँमा थाहा अस्पतालको विस्तृत परियोजना तयार गरेको समेत विष्टले बताए । शिलान्यास समारोहमा नगर उपप्रमुख खड्ग गोपालीले नागरिकहरु स्वास्थ्य सुरक्षाको लागि अस्पताल निर्माण थालिएको बताए । आम नागरिकको जीवनसंग जोडिएको स्वास्थ्य अधिकार दिलाउन अस्पताललको महत्वपूर्ण भूमिका हुने गोपालीको भनाइ थियो । थाहा अस्पताल १८ करोड ६ लाख ८२ हजार लागतमा निर्माण हुन लागेको हो । 

कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट आदर्श, प्रदेश सदस्य महेश्वर सुवेदी, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्र बहादुर बलामी, थाहा नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, जनता समाजवादी मकवानपुर-२ का इन्चार्ज इन्द्र बहादुर श्रेष्ठ, साझा पार्टी नगर अध्यक्ष माधव कार्की, मालपोत कार्यालय शिखरकोटका प्रमुख मधु लम्साल, नापी कार्यालय प्रमुख निर्जला थापा, नेपाल बैंक लि पालुङ प्रवन्धक यादब पौडेललगायत सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०