nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पढ्नुहोस् ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुभएको पूर्ण पाठ

Anu-1524564692.jpg

माननीय प्रदेश प्रमुख श्री अनुराधा कोइरालाले २०७५ वैशाख ११ गते प्रदेश नं. तीनको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुभएको पूर्ण पाठ ।
प्रदेश सभाका सभामुख र सदस्यहरु ! 

संविधानले ब्यवस्था गरेको सबै तहका निर्वाचन सम्पन्न भई तद् अनुरुप संरचना समेत निर्माण भई हामी संविधान कार्यान्वयनको तीव्र चरणमा छौं । राज्य पुनःसंरचना सम्बन्धी ब्यवस्था बमोजिम संघीय संरचना अनुसार स्थानीय तह, प्रदेश र संघ मध्ये हामी अहिले  प्रदेश नं ३ को प्रदेश सभाको बैठकमा सहभागी भईरहेका छौं । यस वीचमा प्रदेश सभाबाट मुख्यमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन सम्पन्न भएसँगै प्रदेश सरकारले पूर्णता पाई नियमित काम सुरु भइसकेको छ । लामो समयदेखि रहेको राजनीतिक संक्रमणकाल अन्त भई मुलुक अब स्थायित्व र समृद्धिको युगमा प्रवेश गरिसकेको छ । यो प्रदेश सभाको बैठक त्यसैको एउटा अंगको रुपमा रहेको छ । यस्तो राष्ट्रिय सफलता र उज्वल सम्भावना उन्मुख घडीमा यस प्रदेशको गरिमामय प्रदेशसभा बैठकमा उपस्थित भएर संवोधन गर्न पाउँदा मैले हर्ष र गौरवको अनुभुति गरेको छु । 

यस महत्वपूर्ण उपलब्धि हासिल गर्नका लागि अनवरत संघर्षमा समर्पित महान अग्रजहरु प्रति आदरभाव सहित स्मरण गर्दै दिवंगत शहिदहरुप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ साल असोज ३ गते जारी गरेको प्रगतिशिल र लोकतान्त्रिक संविधानले सबैखाले राजनीतिक संक्रमणको अन्त गरी जन निर्वाचित प्रतिनिधिहरुको अगुवाईमा विकास, स्थिरता र समृद्धिको मार्ग खुल्ला गरेको छ । 

संविधान जारी भए पछि २०७४ सालमा सम्पन्न तीनवटै तहका निर्वाचनले जनता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, संचार क्षेत्र र अन्य सरोकारवाला सबैको परिपक्वता बाह्य मुलुकमा समेत गौरव गर्न लायक रुपमा प्रदर्शित गर्दै लोकतन्त्रलाई मेरुदण्डको रुपमा स्थापित गरेको छ । यसका लागि म यी सबै क्षेत्रप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अब हामी प्रदेशबासीवीच कुनै मतभेद भएमा शान्तिपूर्ण विधि र जनमतबाटै समाधानको उपाय अपनाई अगाडि बढ्न सक्ने अवस्था रहेको समेत स्मरण गराउन चाहान्छु । यस प्रदेश भित्रको सडक यातायात, संचार, उर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय र सर्वशुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण, उद्योग र ब्यापारको समुचित विकास लगायत दिगो विकास लक्ष्यले निर्धारण गरेका उद्देश्य प्राप्ति जनताको तीव्र अपेक्षाका विषय रहेका छन् । यसको साथमा यस प्रदेशलाई महत्वपूर्ण सुरुङमार्ग मार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टिकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका वस्तीहरुको स्थानान्तरण, बैज्ञानिक भ–ूउपयोग निति लागु गरी भूमिको ब्यवस्थापन गर्ने जस्ता कार्यक्रम मार्फत अगाडिबढ्न प्रदेश सरकारले लिएको तत्परता र दृढ संकल्पले आम प्रदेशवासीमा पनि उत्साहको संचार जगाउने अपेक्षा गरेको छु । 

संवैधानिक सुनिश्चितताबाटै यस प्रदेश सभाको बैठकमा सशक्तरुपमा महिलाहरुको उपस्थिति एवम् यहाँको सामाजिक बनोट अनुसार समावेशी प्रतिनिधित्वको उपस्थितिले सिंगो प्रदेशको चित्र यस सभा भवनमा झल्किरहेको छ । हाम्रो संविधान प्रति हामीले गर्व गर्ने महत्वपूर्ण विषय यो पनि रहेको कुरामा सबैले अनुभुति गरिरहेका छौं । 

विगतमा हामी अधिकार प्राप्तीको लडाँईमा विभिन्न दल, समुह र सरोकारवालाहरुको तर्फबाट लड्यौं । अब त्यो चरण पूरा भएर स्थायित्व, समृद्धि, तीव्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेका छौं । कानूनतः दलीय ब्यवस्थाले सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा रहेपनि अबको लक्ष प्राप्तीका लागि विभाजित हुनुपर्ने कुनै अवस्था छैन । त्यसैले यो प्रदेश समतामूलक, समाजवाद उन्मुख, पूर्ण लोकतान्त्रिक, एकताबद्ध, विकास र समृद्धि प्राप्तिको दिशामा समर्पित हुँदै अगाडि बढ्न सकोस । साथै, कृषि तथा पशुपालनको ब्यवसायीकरण, स्वाधीन अर्थतन्त्रको प्रवद्र्धन र बढ्दो ब्यापार घाटाको न्यूनिकरण गर्दै अगाडि बढ्न सकोस् । नेपालको आफ्नै गौरवपूर्ण स्वाधीन इतिहास छ । यो प्रदेश ती सबैखाले इतिहासको प्रतिबिम्ब तथा भौगोलिक, सामाजिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रदेश पनि हो । यसको गरिमा बचाउनु र समृद्धि थप्नु हामी सबैको कर्तब्य हो । यसका लागि प्रदेशभित्र ब्यापकरुपमा रोजगारीको अवसर सिर्जना गरी विदेश पलायन भएका आफ्ना अति प्रिय छोराछोरीहरुलाइ स्वदेशमै फिर्ता भइ आफ्नो प्रतिभा, सिप, दक्षता र उद्यमशीलतालाई मातृभूमिमै प्रस्फुटन गर्न सक्ने गरी उपयुक्त वातावरण सिर्जना गर्नु पनि प्रदेश सरकारको मुख्य दायित्व भित्र रहेको छ । लोकतन्त्र जनताको आवश्यकता पूर्ति गर्दै विकासको बाटो सुगम बनाउने प्रणाली हो । अर्थात जनताको जीवनस्तरमा सुधार ल्याउन सकिएन भने लोकतन्त्र अर्थहीन नारामात्र बन्न पुग्दछ । अझ हामी २०७२ साल वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पबाट पिडित सिंगो प्रदेश अहिले पनि छानामूनी पुग्न नसकेको यथार्थता सबै सामु रहेको छ । सरकारले दिने राहत पनि करीब तीस प्रतिशत सम्मले आंशिक मात्रामा लिन सकेका छन् भने बाँकि सबैलाई उक्त सहयोग लिन सक्ने वातावरण सहित छानामुनी लाने कुरा प्रदेश सरकारले उच्च प्राथमिकताभित्र राखेर काम गरीरहेकोमा समयसिमा भित्रै सम्पन्न हुन सकोस भन्ने शुभेच्छा पनि ब्यक्त गर्दछु । 

प्रदेश सभाका सभामुख !
हाम्रो समाज अब कुनै पनि वहानामा हिंसा, अराजकता र मुठभेडतर्फ धकेलिनु हुँदैन । अब आफ्नो गौरवशाली इतिहास र परम्परा स्थापित गर्दै तीव्र गतिमा आर्थिक, सामाजिक एवम् मानव विकासको यात्रामा अघि बढ्नै पर्दछ र न्यायपूर्ण समाज स्थापित गर्नैपर्दछ । यो अग्रसरताको मुहान पनि तपाँई जन प्रतिनिधिहरु नै हुनुहुन्छ । यसका स्पष्ट मार्ग चित्रहरु स्पष्टरुपमा देखिन शुरु भई सकेका छन् । अर्थात् नेपाललाइ पछाडि पार्ने सामन्तवाद अब इतिहास बनेको छ । पराधीन बनाउने सोच कमजोर भएका छन् । विभाजित बनाउने शक्तिहरु किनारा लागेका छन् । जात, जाति, क्षेत्र, धर्म, सम्प्रदायको आधारमा वितृष्णा फैलाइ सामाजिक सहिष्णुता र सद्भाव खल्बल्याउने प्रवृतिलाई रोक्न सफल भएका छौं । हाम्रो देश बन्छ र हामी बनाउन सक्छौं भन्ने आत्म विश्वासमा वृद्धि भएको छ । यो राष्ट्रिय चिन्तनलाई अब हाम्रो यो प्रदेशको पनि मुख्य आधार बनाएर अगाडि बढ्नु पर्दछ । 
अन्तरप्रदेश सम्बन्ध, विकासमा सार्वजनिक, निजी र सहकारीक्षेत्र वीचको  साझेदारी, असल कामका अनुभव आदान–प्रदान, विकास र समृद्धिमा सकारात्मक प्रतिस्पर्धा जस्ता विषय पनि हाम्रा विकास यात्राका साधन बन्नुपर्दछ । मनोमालिन्य, अशान्ति, दमन, भ्रष्ट्राचार, उत्पीडन र कुनै पनि प्रकारका विभेदको अन्त्य यो प्रदेशको परिचय बनोस भन्न्ने विश्वास पनि राख्न चाहान्छु । प्रदेश सभा, सरकार र यसका अंगहरुवीच प्रदेशका समस्या र चुनौतिको सम्बोधन तथा सम्भावना र अवसरहरुको सदुपयोग गर्ने कार्यमा आपसीे तालमेल मिलाउदैं अगाडि बढ्न सक्यौं भने नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मुलनारालाई हाम्रो प्रदेशमा पनि सजिलै स्थापित गराउन सक्छौं, जो हाम्रो कर्तब्य पनि हो । यसका लागि आवश्यक कानून समयमै निर्माण गरि सक्ने, प्रदेश सरकारको संगठनात्मक तथा जनशक्ति ब्यवस्थापन एवम् विधि, पद्धति र प्रकृयालाई ब्यवस्थित गर्दै प्रदेशको आवधिक योजना र विस्तृत परियोजना प्रतिवेदन तथा भू–उपयोग नीति जस्ता कार्यलाई प्राथमिकतामा राखी त्यसका आधारमा वार्षिक नीति तथा कार्यक्रम तय गर्दै अगाडि जाने कुरा प्रदेश सरकारको उच्च प्राथमिकताको सूचीमा रहेकाले यसबाट छिटो प्रतिफल प्राप्त हुनेछ भन्ने अपेक्षा पनि लिएकी छु । यी समग्र विषयहरु प्रदेश सरकारको आ.व २०७५÷०७६ को नीति तथा कार्यक्रममा समेटिएर आउने हुँदा यसमा प्रदेश सभाको उल्लेख्य भूमिका हुने नै छ । 

विगत फर्किएर हेर्दा हजारौंको सहादत, लाखौंको त्याग र संघर्ष, धेरैका कष्टपूर्ण जीवन विताई, सुन्दर, शान्त, न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि थियो भन्ने कुरामा कुनै द्धिविधा छैन । आज हामी स्वयं त्यही जनअपेक्षाको कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने स्थानमा आईपुगेका छौं । यस अवसरमा म यो प्रदेश सभा, प्रदेश सरकार लगायत प्रदेशभित्रका सबै सरकारी अंग, गैर सरकारी एवम् निजी क्षेत्र, संचार जगत, सरोकारवाला निकाय, संघ÷संस्था र आम चेतनशील सबै नागरिकहरुलाई सुखी, समृद्ध र सुन्दर प्रदेश निर्माणमा आ–आफ्नो स्थानबाट एकताबद्ध भएर महत्वपूर्ण योगदान गर्न सबैमा हार्दिक आह्वान पनि गर्दछु । यो विषय इतिहासले हाम्रो पिढींलाई सुम्पिएको समाज रुपान्तरणको महत्वपूर्ण दायित्व पनि हो । यिनै ऐतिहासिक दायित्व पूरा गर्न हामी सबैलाई पूर्ण सफलता मिलोस् । मेरो हार्दिक शुभकामना । 

धन्यवाद !
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)