Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाली काँग्रेसले नाम फेरे हुन्छः हिदम लामा 

नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हिदम लामाले काँग्रेसले आफ्नो नाम अगाडि नेपाली जोडिरहनु आवश्यक नरहेको बताएका छन् । 

मनहरी गाउँपालिकाको रजैयामा युवा संघ नेपाल र वाइसीएल नेपालको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले हरेक कुरा भारतसँग नसोधी नगर्ने भएपछि काँग्रेसको नामको अगाडि नेपाली राख्नु नपर्ने बताए । केही समस्या आयो कि भारतले आएर मिलाइदिनुपर्ने अबस्थाको काँग्रेसको ब्याख्या गर्दै उनले भने–‘निर्वाचनमा टिकटको विवाद मिलाउन समेत भारत गुहार्ने काँग्रेसले देशको समृद्धि गर्छु भन्ने हास्यास्पद छ ।’

अहिले मकवानपुर क्षेत्र नं २ को प्रदेशसभामा काँग्रेसबाट उम्मेदवार बनेका इन्द्रबहादुर बानियाँ खुमबहादुर खड्काको चेला भएको भन्दै बामगठबन्धनले अहिले खुमबहादुरको सामाना गरिरहेको उनको भनाई थियो । ‘हामी इन्द्रसँग चुनाव लडिरहेका छैनौं’, लामाले भने–‘भ्रष्टाचारीका नाइकेसँग चुनाव लडिरहेका छौँ, जो खुलमखुल्ला रुपमा भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्छ भनेर संसदमा निर्वाचन कानून संशोधन गर्न पाउनुपर्छ भनेर लिखित अडान राख्ने व्यक्त हुन् ।’ 

कसैलाई जागिर, कसैलाई गाडीघोडा, कसैलाई बैँक ग्यारेन्टी मिलाइदिन्छु भन्दै बानियाँले युवाहरुको नागरिकता र सर्टिफिकेट जम्मा गर्ने गरेको भन्दै लामाले उनको सचिवालयको तीनवटा दराज नागरिकता र सर्टिफिकेटले भरिएको सुनाए । क्षेत्र नं १ मा आफ्नै वडामा पराजित भएको, आफ्नो क्षेत्र अन्तर्गत बागमती र मकवानपुरगढीमा चुनाव हारेको तथ्य प्रस्तुत गर्दै लामाले अब जनता ढाँट्न नसकिने भयो भनेर यस क्षेत्रमा आएको सुनाए । यस क्षेत्रबाट पनि शानदार ढंगले इन्द्रले चुनाव हारेपछि ती युवाहरुलाई नागरिकता समेत फिर्ता गर्न नसक्ने अबस्थामा बानियाँ पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा उम्मेदवार राजाराम स्याङ्तान, नेकपा माओवादी केन्द्रका नेता रामहरि सुवेदी, रामप्रसाद सापकोटा, नेकपा एमालेका  तर्फबाट नवराज सुवेदी लगायतले युवाहरुलाई निर्देशनात्मक प्रशिक्षण दिएका थिए । युवा संघ नेपाल मनहरी गाउँपालिका अध्यक्ष सगुन स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल नेपालका संयोजक दीपेन्द्र अधिकारीले स्वागत गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०