Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाललाई स्वर्ग बनाउने अभियान : खतिवडा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले बाम गठबन्धनको अभियान नेपाललाई स्वर्ग बनाउने अभियान भएको बताएका छन् । चुनाव जित्न, हार्न वा कसैलाई नेता बनाउनका लागि बामपन्थी एकता भएको नभई बहुसंख्यक जनताले बनाएको संविधानको कार्यान्वयन गर्न र विकासको मूल फुटाउन गठबन्धन भएको  उनको भनाइ छ । 

बाम गठबन्धन थाहा नगरपालिका निर्वाचन परिचालन कमिटीले थाहानगरको शिखरकोटमा ११ मंसिरमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उमेदवार खतिवडाले बाम गठबन्धन अरबी घोडा चढेर निर्वाचनमा आएको बताए । ‘काँग्रेस पनि त्यसैगरी आउँछ भन्ने सोचेका थियौं, तर गधा चढेर आयो’ खतिवडाले भने, ‘राजतन्त्रको हिमायती मण्डलेको बुई चढेर लोकतन्त्रको रक्षा गर्ने भन्दै छद्म भेषमा आएको काँग्रेसले नयाँ संविधान, नेपाली आन्दोलन र जनताको अपमान गरेको छ ।’

४६ सालको ओन्दोलनपछि बनेका २६ वर्षको इतिहासमा २२ वर्ष काँग्रेसले सरकार चलाएको भए पनि नेपाली जनताले चाहेको विकास गर्न नसकेको खतिवडाको भनाइ छ । ‘४८ सालमा सरकार बनाउँदा गाउँ विकास समितिलाई ३० हजार पठाएकोमा ५१ सालमा एमालेले सरकार बनाउँदा ३ लाख पठाउने व्यवस्था ग¥यो । वृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता पठाउने व्यवस्था ग¥यो । काँग्रेसको सरकार ढलेको ३ महिनामै कम्युनिष्टको सरकारले यति ठूलो बजेट कहाँबाट ल्याउन सक्यो ?’ खतिवडाले प्रश्न गर्दै भने, ‘देशमा पैसाको अभाव छैन ।’

एमाले–माओवादी गठबन्धन अस्थायी नभई पार्टी एकताको लागि भएकोले बाम गठबन्धनको उमेदवारलाई मत दिई स्थायी सरकार र विकासको मार्ग प्रशस्त गर्न खतिवडाले आग्रह गरे । बाम गठबन्धन नगर संयोजक अरुण रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी मकवानपुरका इन्चार्ज एवम् प्रदेश सभा सदस्यका उमेदवार कुमारी मोक्तानले सबै कम्युनिष्ट घटकहरुको मत जोड्दा ६० प्रतिशतभन्दा बढी भए पनि सँधै काँग्रेसले कम्युनिष्टहरुलाई फुटाएर राज गरिरहेको बताइन् । ‘अब हामी नछुट्टिने गरी एक भएका छौं, नेपालको समृद्धिको यात्रा यहीँबाट शुरु भएको छ’ उनले भनिन् । 

कार्यक्रममा आइतबार काँग्रेसबाट एमालेमा प्रवेश गरेका नेता विष्णु दाहालले आफू निःस्वार्थ एमालेमा आएको बताउँदै नेपालको समग्र विकासका लागि बामपन्थी गठबन्धनको बिकल्प नभएको बताए ।

कार्यक्रममा मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी एवम् वाम बुद्धिजीवी भुवनप्रकाश बिष्ट, एमालेका निवर्तमान थाहानगर अध्यक्ष अच्युतमप्रसाद ढकाल, थाहा–३ का वडा अध्यक्ष राजेश केसी लगायतले मकवानपुर–२मा बाम गठबन्धनको जीत सुनिश्चित भएको बताउँदै अबको ध्यान अत्याधिक अन्तर कसरी कायम गर्ने भन्नेमा रहेको बताए । 

एमाले जिल्ला पार्टी प्रचार विभाग सदस्य कुमार नेगीले सञ्चालन गरेको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, प्रदेश प्रचार संयोजक विष्णु विष्ट आदर्श, सहसंयोजक विष्णुप्रसाद ढकाल, एमालेका समानुपातिकतर्फ प्रदेश सभाका उमेदवार रामचन्द्र बल, निवर्तमान साँसद सुभाषचन्द्र ठकुरी, जिल्ला कमिटी सदस्य राजु नापित, डिके पुडासैनी, गौतमबुद्ध लामा, एमाले प्रदेश सम्पर्क मञ्चका सहसंयोजक अशोक सिं ठकुरी, माओवादी जिल्ला सचिवालय सदस्य प्रकाश पाण्डे,  जिल्ला समिति सदस्य बरिना बल, रामचन्द्र कार्की, बिनायक गोले लगायतको उपस्थिति रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०