Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नातिनीको बालविवाह गरेपछि बाजेको भत्ता रोकियो

नातिनीलाई सानैमा विवाह गरिदिँदा जुम्लाको पातारासी गाउँपालिका ५ चौरका भक्तबहादुर बुढाको सामाजिक सुरक्षा भत्ता रोकिएको छ।बुढाले नातिनी संगिता बुढाको १६ वर्षमै विवाह गरिदिएपछि गाउँपालिकाकाले उनलाई भत्ता दिन छाडेको हो। 

संगिताको सोही गाउँपालिकाको १ नम्बर वडाका विर्ख बोहोरासँग बाल विवाह गरेपछि उनका बाजे भक्त बुढाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नपाएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। जुम्लाको पातारासी गाउँपालिका चौँधविस क्षेत्रका अधिकांश किशोर किशोरीले बाल विवाह गर्ने गरेका छन्। १३, १४ उमेरका बालबालिकाहरुले आफै गाउँघरमा भेटभाट गरी भागेर बाल विवाह गर्ने गरेको स्थानीय चन्द्रबहादुर बुढाले बताए। उनले भने, ‘एकै गाउँबस्तीमा थरी थरीका जातजातीहरुको बसोबास हुन्छ । एक अर्को जातिमा विहेवारी चल्ने हुनाले उमेर नपुगेका किशोर किशोरी भागी विवाह गर्छन।’ बुढाका अनुसार, कतिपयको किशोरीले गर्भ बोकेर माइतीमै बस्ने हुनाले सानै उमेरमा केटाको जिम्मा लगाउनु पर्ने बाध्यता हुन्छ।

पातारासी गाउँपालिकाबाट बालविवाह उन्मूलन गर्ने अभियान चलेको छ । यो अभियानले गाउँमा बाल विवाह गर्ने जोकोहीलाई राज्यको सेवा सुविधा उपलब्ध नगराउने गरेको न्यायिक समिति संयोजक उपप्रमुख पुन्नकली महताराले बताइन्।उनले भनिन्, ‘अहिलेसम्म गाउँपालिकामा बालविवाह गरेको उजुरीको रुपमा आएको छैन । तर, गाउँघरमा यस्तो परम्परा चलिआएको छ । बालविवाह उन्मुलनका लागि बालक्लवदेखि महिला समूह र सरकारी तवरबाट धेरै जनचेतना भएपनि सुधार नभएपछि राज्यको सेवा सुविधाबाट बञ्चित गराउने अभियानको थालनी गरेका छौं।’ पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराले यस क्षेत्रबाट बालविवाह अन्त्य गर्नका लागि कडा रुपमा लागि परेको बताए । उनले भने, ‘म यहाँकै बासिन्दा हुँ मलाई यस क्षेत्रमा प्रयाप्त मात्र बालविवाह हुन्छ भन्ने थाहा छ । तर, हामीलाई कारवाही अगाडि बढाउनका लागि पालिका उजुरी आएका छैन । अब हामी बालविवाह हुदै गरेको जानकारी पाउन वित्तिकै घटना स्थलमा कारवाही गर्ने अभियानमा छौं।’

यहाँ महिला पाठेघरका रोगी
सानै उमेर विवाह गर्ने र सानै उमेर बच्चा जन्माउन हुनाले यहाँका महिला पाठेघरको खस्ने समस्या देखिने गरेको पातारासी स्वास्थ्य चौकीका सिनियर अहेव कृष्ण बुढाले बताए । उनले भने, ‘यहाँ यस्तो समस्या बढी देखिएको हो । महिला हरुले सानै उमेरमा विहे गर्छन, बच्चा पनि सानै उमेरमा जन्मन्छ । महिलाको कार्य बोझ पनि बढी छ, पौष्टिक आहारा हुँदैन।’

सानै उमेरमा विवाह भयो पढ्न पाइन
पातारासी गाउँपालिका ५ छुमकी सानै उमेर आमा बनेकी किशोरी विष्णुमाया बुढाले भनिन्, ‘मेरो १६ वर्षको उमेरमा विवाह भएको हो अहिले २३ वर्षकी भएँ । दुई वटा बच्चा छन् । सानो उमेरमा विवाह गर्नु हुँदैन भन्ने थाहा भएन । अहिले पछुताउनु बाहेक अरु उपाय छैन । सानैमा बालबच्चाका आमा भएपछि पढाई अगाडि बढाउन सकिन।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०