Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुवै पद नछाड्ने ओलीको अडान

OLI-1588088783.jpg

नेकपाभित्र शक्ति बाँडफाँडलाई लिएर आन्तरिक रुपमा संवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न नसकिने अडान लिएका छन् । 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग १५ वैशाख दिउँसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले बरु सम्भावित परिस्थितिको सामना गर्ने तर पद नछाड्ने अडान लिएका हुन् । बैठकपछि ओली र दाहालले आफू निकट नेताहरुलाई बताएअनुसार प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा देखिएका थिए ।

स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतको समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडेर पार्टीको अन्तरविरोधको निकास दिनुपर्ने प्रस्ताव आन्तरिक रुपमा ओलीलाई अगाडि सारिसकेका छन्।

आजको भेटमा पनि अध्यक्ष दाहालले समस्याको निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको एक नेताले बताए । तर, ओलीले दुवै पद नछाड्ने बताएका हुन् । आजको भेटमा ओली र दाहालले खुलस्त आ–आफ्ना कुरा राखेको पनि ती नेताले बताए ।