nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा यसरी सघाउँदैछ, सिसिडिएन

मकवानपुर थाहा नगरपालिकाको विकास कार्यमा गैरसरकारी संस्थाहरुको सघाउलाई नागरिकहरुले सकारात्मक रुपमा लिएका छन् । नगरपालिका क्षेत्रमा पूर्वाधार विकास तथा सामाजिक विकासका क्षेत्रमा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रम संचालनलाई तिब्रता दिएका हुन् । वि.सं. २०७२ सालको विनासकारी भूकम्पछि थाहा नगरपालिका क्षेत्रमा गैरसरकारी संस्थाहरुले विकास कार्यलाई तिब्रता दिएका छन् । नगरपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी अनुमति लिएर संस्थाहरुले कार्यक्रम संचालन गरिरहेको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । स्थानीय सरकार संचालन ऐन, २०७४ मा उल्लेख भए बमोजिम स्थानीय तहसंगको समन्वयका रहेर गैरसरकारी संस्थाहरुले कार्यक्रम संचालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । 

गैरसरकारी संस्थाहरुले नगरपालिकाको वार्षिक कार्यक्रमलाई आधार मानेर कार्यक्रम संचालन अनुमति दिने गरिएको नगर प्रमुख लवशेर विष्टले बताए ।  ‘नगररपालिकामा सहभागितामुलक योजना छनोट प्रक्रियाबाट संकलन भएको सबै योजनामा नगरको बजेटले अपुग हुने भएकोले गैरसरकारी संस्थाको सहयोग लिने गरेका छौं’–प्रमुख विष्टले भने ।   नगरपालिकामा कार्यक्रम संचालन गर्ने अधिकांश गैरसरकारी संस्थाहरुले  अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सहयोगमा परियोजनाहरु संचालन गरिरहेका छन् । गैरसरकारी संस्थाहरुबाट प्रस्ताव भएका कार्यक्रमहरुलाई नगरबासीको माग बमोजिम संचालन गर्ने गरिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । उनले भने–‘योजना तर्जुमाको बेला संकलित योजनाहरुलाई प्राथमिकताको आधारमा गैरसरकारी संस्थाले प्रस्ताव गरेका कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनेछ ।’ सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) ले १५ करोड बढिको कार्यक्रम तत्काल संचालनका लागि  नगरपालिकाबाट अनुमति लिएको छ । सिसिडिएनले विनासकारी भूकम्प जाने वित्तिकै राहत उद्धारको कार्यक्रम संचालन गरेकोमा अहिले थप कार्यक्रमहरु संचालन गर्न लागेको हो । विपद्का बेला भूकम्पपीडितहरुका लागि सेल्टर निर्माण, शौचालय निर्माण, खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रम संचालन गरेको सिसिडिएनले अहिले भूकम्पपीडितहरुका लागि वृहत्त आयोजनाहरु संचालनको अन्तिम तयारी भएको सिसिडिएनका खानेपानी तथा सरसफाई कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए । ६ नम्बर वडाको पापुङ, लिलाखेल, इकुनडोल, ऐलाख, सरस्वती बजार, थहचोक, पाल्चोक, देउला टोल, कलम्बु गाउँका लागि योजना संचालन गर्न लागिएको वडा अध्यक्ष शशीधर सुवेदीले जानकारी दिए । 

खानेपानी योजनाको विषयमा थाहा–१० मा भएको छलफल कार्यक्रम । फोटोः विकास खबरपत्रिका

परियोजनाबाट छसय वटा घारा मिटर सहित जडान हुने अध्यक्ष सुवेदीको भनाइ छ । आयोजनाको कुल लागत २ करोड २९ लाख रहेको सिसिडिएनका खानेपानी तथा सरसफाई कार्यक्रम संयोजक ढकालले जानकारी दिए । भूकम्पपछि मूल सुकेर खानेपानीको अभाव झेल्दै आएका ति गाउँहरुका नागरिकहरुलाई लक्षित गरेर सिसिडिएन÷केयर नेपालले खानेपानी आयोजना संचालन गर्न लागेकोमा वडा नं. ६ का वडा अध्यक्ष शशीधर सुवेदीले खुशी व्यक्त गरे । उनले आयोजनालाई समयमै सम्पन्न गर्न वडा कार्यालयको तर्फबाट सहयोग हुने बताए । आयोजना संचालनका लागि ६ नम्बर वडा कार्यालयबाट १० लाख रुपियाँ, उपभोक्ताहरुको तर्फबाट करिब ७० लाख र कुल लागतको १० प्रतिशत नगरपालिकाले खर्च गर्ने सुवेदीले जानकारी दिए । खानेपानीका लागि वडा नं. ६ को नासलथानमा डिपबोरिङ गरेर चुनदेबी डाँडामा १ लाख ६० हजार लिटर क्षमताको ट्याङ्की बनाएर खानेपानी वितरण गर्ने योजना छ । खानेपानी व्यवस्थापनका लागि चित्रबहादुर बलामीको अध्यक्षतामा वडा स्तरीय खानेपानी बोर्ड गठन भइसकेको छ । ६ नम्बर वडाका अरु माथिल्लो भेगका लागि पनि खानेपानीको व्यवस्थापन गर्न दाताहरुको खोजी भइरहेको अध्यक्ष सुवेदीको भनाइ छ । 

वडा नं. ६ मा जस्तै थाहा नगरपालिका वडा नं. १० का बासिन्दा पनि गाउँमा खानेपानी आयोजना संचालन हुने भएपछि खुशी भएका छन् । ति गाउँका ६ सय ८८ धारा निर्माण गर्ने योजना सहित थाहा–१० बृहत्त खानेपानी आयोजना संचालन हुन लागेको कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए । सिसिडिएनले २ करोड ५६ लाख रुपियाँ लागतमा खानेपानी आयोजना संचालन गर्न लागेको हो । आयोजनाले वडा नं. १० का सबै बासिन्दाहरुलाई समेट्ने वडा अध्यक्ष हिरा बहादुर गमालले प्रतिक्रिया दिए । वि.सं. २०७२ सालको विनासकारी भूकम्पपछि थाहा–१० मा खानेपानीको हाहाकार हुँदै आएको थियो । आयोजनाको १० प्रतिशत रकम स्थानीय तहले व्यहोर्ने योजना अनुसार वडा कार्यालयबाट १५ लाख रुपियाँ विनियोजन गरिएको छ । खानेपानीका लागि थाहा–१० विसिङ्खेलको धाराचौरमा बोरिङ गरी खानेपानी वितरण गरिनेछ । अब निर्माण हुने धाराहरुमा मिटर जडान गरिने वडा कार्यालयले जनाएको छ ।

सिसिडिएन/प्राक्टिकल एक्शनले थाहा नगरपालिकामा चालु आर्थिक वर्ष भित्रै निजि आवासको कार्यक्रम पनि संचालन गर्न लागेको छ । थाहा  नगरपालिकामा वि.संं २०७२ को    विनासकारी भूकम्पबाट घरबास क्षति भई आर्थिक अभावका कारण अझै बनाउन नसकेका लाभग्राहीलाई घर बनाइदिने भएको छ । यस्तो घर बनाउँदा एकल महिला, सहारा विहिन तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई मात्र सहयोग गर्न लागेको ‘कोही नछुटुन परियोजना’ संयोजक सुमिरन कोइरालाले जानकारी दिए । उनका अनुसार थाहा नगरपालिका भरीमा ३ सय भन्दा बढि लाभग्राहकिो घर बनाइने छ । यस्ता लाभग्राहीहरुको सूची नगरपालिका, राष्टिूय पुर्ननिर्माण प्राधिकरण तथा वडा समितिहरुसंगको छलफलबाट तयार गरिएको कार्यक्रम संयोजक कोइरालाले जानकारी दिए । यसका लागि सिसिडिएन÷प्राक्टिकल एक्शनले  थाहानगरमा १० करोड बढि खर्च गर्ने जनाएको छ । निजी आवास निर्माणसंगै कामका लागि नगद कार्यक्रम पनि संचालन हुने संयोजक कोइरालाले जानकारी दिए । उनका अनुसार–‘आवास निर्माणको क्रममा श्रम गर्दा पनि संस्थाले नगद भुक्तानी गर्नेछ ।’ जोखिममा परेका अर्थात एक्लै तर श्रम गर्न नसक्नेहरुका लागि अरुले गएर सघाएमा सघाउनेले नगद पाउने कार्यक्रम छ । त्यस्तै आवास निर्माणका लागि लाभग्राहीहरुलाई सामुहिक रुपमा ब्लक निर्माण, गिट्टी निर्माणका गर्ने मेशिन सहयोग गरिने छ । प्राविधिक काम सकेर फागुनबाट आवास निर्माणको कार्य थालनी गरिने कोइरालालले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।