nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका पुस्तकालयको-लाइफ ड्यामेज

एक समय यस्तो थियो, विभिन्न विधाका पुस्तक पढ्ने तथा पत्रपत्रिकाहरु पढ्नका लागि पुस्तकालयहरुमा भीड नै लाग्ने गर्दथ्यो । शिक्षा, स्वास्थ्य, साहित्य, मनोरञ्जन, कला, लेख, रचना तथा विभिन्न ज्ञान विज्ञानका कुराहरु पढ्न र घटना तथा विचार, समाचारको जानकारीका लागि पुस्तकालय एक महत्वपुर्ण स्थल बन्ने गरेको थियो । 

यसो हेर्दा फुर्सदको समयलाई सदुपयोग गर्ने एक महत्वपुर्ण पाटो नै पुस्तकालय थियो । जहाँ बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि चाहिने जुनसुकै प्रकारका पुस्तक पढ्न पाइन्थ्यो । सामान्य ज्ञानदेखि मायाका कथाहरुसम्म र रोचक जानकारीदेखि धार्मिक पुस्तकसम्मको  भण्डारण हुने स्थान नै पुस्तकालय थियो । तर, अहिले बेला फेरिएको छ । पुस्तकालय धाएर जानकारी र शिक्षा लिनेहरु अहिले घरमै बसेर मोबाइल मार्फत जानकारी लिन थालेका छन् । सूचना प्रविधिको विकाससँगै पुस्तकालयहरुमा हुने भीडमा ह्वात्तै कमी आएको छ । 

प्रत्येक वर्ष भाद्र महिनाको १५ गते पुस्तकालय दिवस मनाइन्छ । केही दिन अघि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका स्थानीय तहहरुलाई पुस्तकालय दिवस मनाउन पत्राचार गरेको छ । मन्त्रालयले सबै स्थानीय तहहरुलाई ३० साउनमा पत्राचार गर्दे यहि १५ भाद्रमा परेको १२ औं पुस्तकालय मनाउन आग्रह गरेको छ । 

तर मकवानपुरको थाहा नगरपालिकामा रहेका अधिकांश पुस्तकालयहरुको अवस्था नाजुक छ । पुस्तकालय भवन छ, किताब केही मात्रामा छ तर न पाठक न व्यवस्थापन लथालिङ्ग जस्तै भएको छ । थाहा नगरपालिका क्षेत्रमा ४÷५ वटा मात्र पुस्तकालय रहेको छ । ति मध्ये पनि एक..दुई मात्र मुस्किलले तथ्याङ्कमा उतार्न सकिन्छ । थाहा नगरपालिकाको शिखरकोटस्थित नवजागृत पुस्तकालय, थाहा नगरपालिका वडा नं ६ को बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा रहेको छ । केही पुस्तकालयहरु सहकारी संस्था मार्फत सञ्चालनमा रहेका छन् ।

वि. सं.२०२५ सालमा स्थापना भएको थाहा नगरपालिकाको शिखरकोटस्थित नवजागृत पुस्तकालयमा केही समययता पुस्तकालयमा दैनिक १÷२ जना व्यक्ति पनि अध्ययनका लागि नआएको पुस्तकालयका अध्यक्ष मधुसुदन रायमाझी बताउँछन् । शनिबार बाहेक हरेक दिन बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ला हुने उक्त पुस्तकालय गोपाल गोपाली र तीर्थदास श्रेष्ठ लगायतको प्रयासमा स्थापना भएको थियो । घर भाडामा लगाएर वार्षिक करिब १ लाख ९२ हजार रुपैयाँ आम्दानी हुन्छ । तर आन्दानी भए पनि पुस्तकालयमा पाठक नभए पछि अस्तित्व नै जोगाउन मुस्किल भएको उनले बताए । यहि पुस्तकालय दिवसको अवसरमा पुस्तकालयको जिम्मा यूवा पुस्तामा हस्तान्तण गर्ने योजना रहेको समेत उनले बताए ।

थाहा नगर कै पालुङमा रहेको  जीवन ज्योती पुस्तकालय भने लामो समय देखि बन्द छ । गाउँ पञ्चायत हुँदासम्म सञ्चालनमा रहेको पुस्तकालय पछिल्लो समय बन्द छ । पुस्तकालयमा रहेको महत्वपूर्ण पुस्तकहरु हरायपनि केही बाँकी रहेका पुस्तकहरु समेत संरक्षणको अभावमा  नष्ट हुने अवस्थामा रहेको स्थानीय मधुकर बिक्रम श्रेष्ठले जानकारी दिए । २०२२ सालमा स्थापना भएको पुस्तकालय जिल्लाकै दोस्रो पुस्तकालय रहेको उनले दावी गरे । आफुले ६÷७ वर्ष सम्म पुस्तकालयको जिम्मेवारी बहन गरेको उनले बताए । 

यस्तै थाहा नगरपालिकाको ओखरबजारमा रहेको सूर्योदय पुस्तकालय पनि करिब ६ वर्षदेखि बन्द अवस्थामा रहेको छ । २०४८ सालमा स्थापना भएको पुस्तकालयको अहिले भवन मात्र रहेको स्थानीय जर्म श्रेष्ठले बताए । थाहा नगरपालिका वडा नं ६ को बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक अध्ययन केन्द्र मार्फत पुस्तकालय सञ्चालनमा रहेको छ । थाहाको अन्य पुस्तकालय भन्दा उक्त पुस्तकालय भने इन्टरनेटको प्रयोगले गर्दा नियमित रुपमा सञ्चालनमा रहेको छ । दैनिक विहान र बेलुका नै पुस्तकालय खुल्ने गर्दछ । 

सरकारले पुस्तकालय दिवस मनाउने भनिरहँदा थाहा नगरपालिकामा रहेको अधिकांश सार्वजनिक पुस्तकालयहरुको अवस्था दयनीय रहेको छ । हुन त चियाको चुस्कीसँगै पत्रपत्रिका पढ्न र ताजा समाचारहरु पढ्नका लागि भेला हुने ठाउँ पुस्तकालय जस्तो वातावरण घरमा नहोला । पुस्तकालयलाई प्रविधिको विकास सँगै कसरी अघि बढाउने भन्ने कुरामा सबै सरोकारवालाहरुको चिन्ताको विषय हो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।