Wednesday, 17th June, 2026
वि.स.

थाहानगरका ४ संक्रमितको यस्तो छ ट्राभल हिस्ट्री, दुईको रिपोर्ट पेन्डिङ

मकवानपुर थाहानगर क्वारेन्टिनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरु थाहा नगरपालिका भन्दा बाहिरबाट आएको ट्राभल हिस्ट्री रहेको छ । 

किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा पिसिआर गरिएको वडा नम्बर ३ का ४० र ४६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो भने वडा नम्बर २ का ४९ वर्षिय पुरुष र वडा नम्बर ७ का ३३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । 

संक्रमण पुष्टि भएका वडा नम्बर ३ का दुईजना रौतहटबाट आएका हुन् । उनीहरु भारतीय नागरिक हुन् । थाहानगर भित्रने तरकारी गाडीमा चढेर २० भाद्र राती शिखरकोट आएका थिए । सिरकडस्ना बनाउने काम गर्दै आएका उनीहरु शिखरकोट स्थित आफ्नै डेरामा बास बसेका थिए । कोरोना संक्रमित क्षेत्रबाट आएको ३ नम्बर वडा अध्यक्ष राजेश केसीले थाहा पाएपछि डाक्टरलाई जानकारी गराएका थिए । उनीहरु २१ भाद्रमा मात्र थाहानगर कोरोना क्वारेन्टिनमा पुगेका थिए । सिरक डस्ना बनाउन कच्चा सामाग्री बोक्ने ट्याक्टर चढेर उनीहरु क्वारेन्टिन पुगेको बताएका छन् । ट्याक्टरको टेलरमा बसेर गएको र चालकहरुसंग कुनै सम्पर्क नभएको संक्रमितहरुले बताउका छन् । २६ भाद्रमा स्वाब संकलन गरी हेटौंडा पठाइएको थियो । 

यसैबीच वडा नम्बर २ र ७ का दुई पुरुष भने हेटौंडाबाट आएका हुन् । इलाका प्रहरी कार्यालय पालुङको भ्यानमा उनीहरु थाहानगर आएका हुन् । १८ साउनमा अवैध लागू औषध गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा चित्लाङबाट पक्राउ परेका तीन मध्ये एकमा हेटौंडामै कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै पालुङ प्रहरीको निगरानीमा राख्ने गरी जिम्मा लगाइएको थियो । कोभिड–१९ जोखिम क्षेत्रबाट आएको हुनाले उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । उनीहरुको हेटौंडामा पिसीआर गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । २२ भाद्रमा क्वारेन्टिमा भर्ना भएका उनीहरुको २६ भाद्रमा स्वाब संकलन गरी हेटौंडा पठाइएको स्टाफ नर्स रमिता भुजेलले बताइन् । 


यसैबीच थाहानगरबाट ७ जनाको स्वाब पठाइएकोमा २८ भाद्रमा ५ जनाको पिसिआर रिपोर्ट आएको हो । रिपोर्ट ४ जनाको पोजेटिभ, एक जनाको नेगेटिभ र २ जनाको रिपोट पेन्डिङमा रहेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

COROOO-1600046212.jpg