Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका चार जनप्रतिनिधि एकीकृत समाजवादीमा 

nekapa-ekikrit-samajbadi-1630683315.jpg

थाहा नगरपालिकामा सूर्य चिन्हबाट बिजयी भएका २ वडा अध्यक्षसहित ४ जना जनप्रतिनिधिले पार्टी परित्याग गरेका छन् । 

एमाले पार्टी समर्थक मतदाताहरुको मतले विजयी भएका थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष किरणमान बल र वडा नम्बर ५ का वडाध्यक्ष बिष्णुबहादुर गुरुङले पार्टी परित्याग गरेका हुन् । 

१२ वडा रहेको थाहा नगरपालिकामा स्थानीय तह निर्वाचनमा ६ वटा वडा एमालेले जितेको थियो । नगरपालिकामा एमालेका कूल २६ जनप्रतिनिधि थिए । त्यसमध्ये दुई वडाध्यक्षसहित दुबै वडाका १÷१ जना दलित महिला सदस्यले पनि एमाले छाडेका छन् । 

एमाले परित्याग गरेपछि उनीहरु माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा एकीकृत समाजवादीमा लागेका छन् । चारै जनाले १७ भदौमा जिल्ला निर्वाचन कार्यालय हेटौँडामा गएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । 

गत ५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि वडा नम्बर ११ का वडाध्यक्ष बल तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालतिर लागेका थिए  । तर, एमाले परित्याग गर्ने थाहानगरका अन्य तीन जनप्रतिनिधि भने नेकपा एमालेको बैठकहरुमा भाग लिँदै आएका थिए । 

एकीकृत समाजवादीमा सनाखत गरेका वडा नम्बर ५ का वडाध्यक्ष गुरुङ अन्तिम समयसम्म पनि एमालेकै कार्यक्रममा सहभागी हुँदै आएका थिए । 

एमाले थाहा नगर कमिटीले १४ भदौमा आयोजना गरेको पूर्ण बैठकमा पनि उनी सहभागी भएका थिए । एमालेले हेटौँडामा आयोजना गरेको जनप्रतिनिधि भेलादेखि एमालेका सबै गतिविधिहरुमा सहभागी गुरुङ पछिल्लोपटक बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलसहित प्रदेश मन्त्रीहरुसँग नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालसँगै भेटघाटमा सहभागी भएका थिए । 

एमाले थाहा नगर कमिटीका अध्यक्ष ढकालका अनुसार ५ पुस यताका कार्यक्रममा वडाध्यक्ष गुरुङ र दुई जना दलित महिला कोटाबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी भइरहेका थिए । ११ नम्बर वडा अध्यक्ष बल भने यो अवधिमा एमालेको कुनै गतिविधिमा संलग्न भएका थिएनन् ।

थाहा टाइम्स श्रोतका अनुसार थाहा–११ का वडाध्यक्ष बलबाहेक अन्य तीन जन प्रतिनिधि‘विभिन्न आश्वासन’ पछि एकीकृत समाजवादीतिर लागेका हुन् । समाजवादीतिर लागेका दुई दलित महिला सदस्यहरुले एमाले र सूर्य चिन्हप्रति विश्वास कायम रहेको बताएका छन् । 
 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०