Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका क्यान्सरपीडित गमाललाई सहयोगको खाँचो

मकवानपुरको थाहा नगरपालिका १० चित्लाङका सरोजकृष्ण गमालले आफ्नो ज्यान बचाई दिन याचना गरेका छन् । २८ बर्षिय गमालले विगत दुई बर्षदेखि ललितपुरको जावलाखेलस्थित नेशनल क्यान्सर हस्पिटलमा उपचार गर्दै आएका छन् ।

गमालको छातीमा क्यान्सर भएको हो । यसले गर्दा उनको फोक्सो र ढाडमा समेत समस्या आउने गरेको छ । सुरुमा ढाड दुखेको भनेर उपचार गर्दै आएका उनले क्यान्सर भएको थाहा पाउन पनि निकै समय लागेको बताए । “विभिन्न अस्पतालहरु चहार्दा पनि समयमा रोग पत्ता नलाग्दा खर्च पनि बढी भयो, रोग पनि फैलियो ।” उनले भने । 

गमालले आफ्नो कमाई र ऋणले दुई बर्षसम्म उपचार गर्दै आए पनि अब असम्भव भएकाले दयालु महानुभावहरुलाई सहयोगको अपिल गरेका छन् । “म जस्ता पीडित कयौ होलान त्यसैले मैले आफूले सकेसम्म उपचार गर्दै आए तर अब मसँग उपचार गर्न सक्ने क्षमता सकिसक्यो त्यसैले दयालु हातहरुको खोजीमा छु ।” गमालले भने । 

ललितपुरको इमाडोलमा सानो मिठाई पसल चलाएर परिवार पाल्दै आएका गमाल थलिएपछि परिवारले समेत निकै दुःख पाएका छन् । “अस्पताल बस्नु परेकाले यो साउन महिनामा एक हप्ता पनि पसल खोल्न पाएन ।” गमालकी पत्नी अम्बिका गमालले भनिन् । पसल बन्द गर्नुपर्दा आम्दानी मात्र रोकिएको छैन सामानहरु समेत बिग्रिन गरेकोे गमालले बताईन । श्रीमान बिरामी भएर पसलमा बस्न नसक्ने भएपछि अम्बिका एक्लैले घर ब्यवहार पसल धान्दै आएकी थिइन । तर दुबै जना अस्पताल बस्न परेपछि उनीहरुको आम्दानीको स्रोत समेत सुकेको  छ । 

आम्दानीको एउटै स्रोत पसल बन्द भएपछि केही महिनादेखि कोठा भाडा तिर्न नसकेकोे गमाल दम्पत्ती बताउछन् । “सटर र कोठाको भाडा तिर्न सकेको छैन, पसलका लागि ल्याईएको सामानको पैसा पनि तिर्न पाएको छैन ।” बिरामी गमालले पीडा पोखे ।  

“यता आप्mनो परिवार हेरौ कि, उता गाउँमा आमा बुवा हेरौ कि आफ्नै उपचार गरौ निकै समस्यामा छु ।” स्ल्याइन जोडिएको हातले टाउकोको पसिना पुछ्दै पीडित गमालले दुखेसो पोखे । आप्mनो भन्दा पनि भर्खर चुलबुल गर्न थालेकी छोरीको भविष्य देखेर चन्तित देखिन्थे गमाल ।

बुबालाई सधै अस्पताल लानुपर्ने भएपछि उनीहरुका एक मात्र छोरी पनि स्कुल जान पाएकी छैनन् । ४ बर्षीय छोरीको पनि अस्पतालमै बास भएको छ । अस्पतालमा ति कलिला नानी बिरामी बाबुसँगै बेडमा सुत्न बिवस छन् । “स्कुलबाट बिल पठाएको पठाई छ, मैले भर्ना समेत गरि दिन सकेको छैन ।” बिरामी बुबा सुतेको बेडमा खेलिरहेकी छोरीको मुख नियाल्दै अम्बिकाले पीडा पोखिन् । 

गमाललाई अलि गाह्रो हुने बित्तिकै अस्पताल जानुपर्छ । मासिक हजारौ रुपैंयाको औषधि किन्नुपर्छ । तीन हप्ताको एक पटक किमो चलाउनु पर्छ । एउटा किमोको १२ देखि १५ हजार रुपैंयासम्म पर्छ । औषधि र आउजाउ भाडा तिर्न पनि मुस्किल छ उनलाई । गमालले आप्mनो बाँकी जीवन यस्तै पीडितहरुको सेवामा समर्पित गर्ने चाहना राखेका छन् । आफ्नो सानी छोरीलाई पनि पीडितको सेवामा लगाउने उनको चाहना छ तर त्यसका लागि उनी बाच्नुपर्ने छ । 

“सबैले सक्दो सहयोग गरि दिए म अझ बाच्छु नत्र...।” गमालले मनको पोको खोल्न खोज्दा खोज्दै पनि खोल्न सकेनन् । गमाल परिवारको पीडामा मल्हम लगाउन चाहनु हुन्छ भने प्रभु बैंकमा अम्बिका गमालको नाममा रहेको खाता नम्वर ००४०१०००९२४७३४०००००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ । साथै भेटेर सहयोग गर्न चाहनु हुन्छ अथवा थप बुभ्mन चाहनु हुन्छ भने ९८१४२०६९०४ र ९८४९९३६९६७  नम्वरमा सम्पर्क गर्न सक्नु हुन्छ ।