Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका किसानलाई "गोलभेडाबाटै मालामाल"

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का कृष्णभक्त महर्जन मिहिनती युवा हुन् । सातवर्ष अघि बज्रवाराहीमा गोलभेडा फलाउँछु भनेर आँट गर्ने कृष्णभक्तको सपना अहिले आएर साकार भएको छ । शुरुमा त उनले रहरै  रहरमा छाप्रै नहाली खुल्ला खेतमै गोलभेडा   रोपे । रोपेको गोलभेडा फलेपछि खुशी भए । तर उनको त्यो खुशी धेरै समय टिकेन न त गोलभेडा नै टिक्यो । झरीले गोलभेडाको बोट फत्याकफुतुक्कै गल्यो । उनलाई सिकाई भयो, यसलाई छाप्रो हाल्यो भने टिक्छ होला । 

खुल्ला ठाउँमा गोलभेडा नटिक्ने थाहा पाएपछि बाँसको सहायताले खेतमा एकैपल्ट तीनवटा प्लाष्टिक टनेल बनाए । टनेल बनाउने तरिका कृष्णभक्तले टिभीमा कृषि कार्यक्रम हेररै जानेको सुनाउँछन् । गोलभेडा रोप्ने तरिका, उपचार विधि सबै कुरा उनले टिभीमा हेरेरै थाहा पाएका हुन् । टनेल बनाएको २÷३ वर्षसम्म त उनले फाइदा लिनै सकेनन् । यति हुँदा पनि कृष्णभक्तले हरेस खाएनन् । त्यतिबेला बज्रवाराही ऐलाखका तेज बहादुर उप्रेतीले पनि टनेलमा गोलभेडा रोप्न थालेका थिए । स्नातक तहसम्म अध्ययन गरेका उनी गोलभेडा खेती प्रविधिको बारेमा इन्टरनेटमा खोज्न थाले । गोलभेडा रोप्ने सीप, उपचार विधि, खाद्य तत्वलगायतको कुराहरु इन्टरनेटबाटै थाहा पाएपछि उनको मिहिनत खेर जान छोड्यो । खेतको गोलभेडाले उनलाई फाइदा दिन थाल्यो । कृष्णभक्त भन्छन्–‘मुख्य कुरा ज्ञान रहेछन, त्यो इन्टरनेटबाट थाहा भयो, त्यही अनुसार गरे बाली सप्रिन थाल्यो ।’

कृष्णभक्तको खेतमा अहिले ८ वटा प्लाष्टिक टनेल छन् । उनले यो वर्ष ४ वटामा गोलभेडा र बाँकी ४ वटामा भेडे खुर्सानी रोपेका छन् । टनेलमा मात्रै साँढे चारलाख रुपियाँ लगानी गरेको बताए । सबै टनेलमा थोपा सिंचाई जडान गरी मल्चिङ प्रविधि अपनाएका छन् । विरुवाको फेदसम्म खाद्य तत्व र वस्तुभाउको गहुत थोपा सिंचाइकै माध्यमबाट पु¥याउँछन् । असाध्यै स्याहार गर्नुपर्ने बाली गोलभेडा र भेडे खुर्सानीलाई उनका परिवारकै सदस्यले हुर्काइरहेका छन् । खेतको थोरै क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिने टनेल खेतीबाट उनको परिवारको आम्दानी वर्षैपिच्छे बढ्दै गएको छ ।

मिहिनत अनुसार फरक परे पनि औषत एक बोट गोलभेडाबाट उनले १२ देखि १४ किलोसम्म उत्पादन हुने गरेको सुनाए । उनले भने–‘एक बोटमा १२ किलो मात्रै फले पनि फाइदा राम्रै हुन्छ, तर भाउ चाहिँ हुनु प¥यो ।’ अहिले बज्रवाराहीमा गोलभेडा प्रतिकिलो ७० रुपियाँ र भेडे खुर्सानी ४५ रुपियाँ प्रति किलोमा विक्रि भइरहेको कृषक कर्माचार्यले    जानकारी दिए । उनको टनेलमा एक हजार पाँचसय बोट गोलभेडा र एक हजार पाँचसय बोट नै भेडे खुर्सानी भरेली भएर फलिरहेका छन्् । उनले गोलभेडा र भेडे खुर्सानीबाटै मासिक पौने दुईलाख रुपियाँसम्मको आम्दानी        भइरहेकोे सुनाए । 

कृष्णभक्तको खेतमा भएका टनेल मध्ये दुईवटा मात्र बाँसका छन् भने अरु ग्याल्मोनाइज र रड तथा पाइपका रहेका छन् । उनी बाँसको टनेल ७/८ वर्षसम्म टिक्न सक्ने अनुभव सुनाउँछन् भने अरु १५ वर्षसम्म टिक्ने बताउँछन् । 

वैदेशिक रोजगार भन्दा पनि स्वदेशमै केही गरौं भन्ने भावना भएका महर्जनले २२ हप्ते आइपीएम (एकीकृत शत्रुजीव व्यवथापन) तालीम लिएका छन् । तालीम लिकै कारण उनी बालीमा विख छर्ने    कुरामा निकै सचेत छन् । बालीमा रोग देखिने वित्तिकै उनी इन्टरनेटमा सर्च  गरिहाल्छन् कि त, कृषि सेवा केन्द्रका कृषि प्राविधिकलाई बोलाउँछन् । कृषि प्राविधिकको सल्लाह र इन्टरनेटबाट पाएको ज्ञानलाई उनी बाली हुर्काउन प्रयोग    गर्छन् । उनका लागि कृषि सेवा केन्द्र दामनका प्राविधिक र इन्टरनेट प्रविधि बाली फस्टाउन सहयोग गर्ने सारथि भएका छन् । बालीमा सितिमिती विख नछर्ने कृष्णभक्त यदि छर्नै परे पनि पर्खिने समय पूरा गरेर मात्र बाली टिप्छन् । टनेलमा खेती गरेर राम्रो सफलता हासिल गरेका महर्जन आगामि वर्ष बीस वटा टनेल थप्ने योजनामा छन् । कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक मधुसुदन आचार्य सफल कृषकहरुको सूचीमा एक अब्बल कृषक कृष्णभक्त महर्जन भएको बताउँछन् । कृषक कृष्णभक्त गाउँकै प्रेरणाका स्रोत व्यक्ति भएको प्राविधिक आचार्यले बताए । कृषि भ्रमणमा आउनेहरु पनि कृष्णभक्तको टनेल अवलोकन गर्न नछुटाउने उनको भनाइ छ । 

बज्रवाराहीमा पाँच वर्षसम्म टेलर व्यवशाय गरेका उनी सबै किसिमको कपडा सिलाउन पनि सिपालु छन् । उनी टेलर संचालनपछि मात्र टनेल खेतीतर्फ उन्मुख भएका हुन् । तीनजना कर्मचारी नै राखेर कपडा सिलाउने व्यवशाय गरेका कृष्णभक्तले कृषिबाट थप राम्रो आम्दानी हुने बुझेपछि यसतर्फ लागेको बताउँछन् । 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।