Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको पर्यटन विकास गर्न रणनीतिक योजना आवश्यक

थाहा नगरपालिकामा पर्यटन क्षेत्रको विकास गर्न ऐतिहासिक, धार्मिक सम्पदा र भौगोलिक संरचनाको संरक्षण, विकास तथा व्यवस्थापनको लागि रणनीतिक योजनाको आवश्यकता औंल्यायएको छ । यसै बिषयमा नेपाल पर्यटन बोर्ड काठमान्डौको सहयोग तथा थाहा नगरपालिका कार्यालयको आयोजनामा नगरका १२ वटै वडाका अध्यक्ष तथा सम्बन्धित निकायका बिज्ञहरुबीच पर्यटन क्षेत्रको विकासका विषयमा एक प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।   छलफल कार्यक्रमका बीच नगरपालिकाका कार्यकारी अधिकृत जीवनप्रसाद आचार्यले नगरको अवधारणा पत्र प्रस्तुत गरेका थिए । 

मकवानपुरको जैविक विविधता अध्ययनको लागि एक खुल्ला विश्व विधालयको रुपमा रहेको अवस्थामा पर्यटन विज्ञ रामचन्द्र सेँढाइले पर्यटन रणनीतिक योजना तर्जुमा प्रकृयाको बिषयमा प्रस्तुत गरेका थिए । कार्यक्रममा पर्यटन विकास सम्बन्धी खोज अनुसन्धान योजना निर्माण तथा कार्यन्वयन, सरकारी निकाय एवम् सरोकारवाला संघसंस्थाहरुसंग सम्बन्धित पर्यटन विकास योजना, पर्यटन विकास पूर्वाधार निर्माणका लागि समन्वय र सहकार्यको बिषयहरुको बारेमा प्रस्तुत गरिएको थियो ।  यसै बिषयमा रहेर आफ्नो क्षेत्र तथा पर्यटनको महत्व बोकेको ठाउँको चिनारी र सम्भावनाको बिषयमा वडा अध्यक्षले पालैपालो कार्यक्रममा बोलेका थिए । 

छलफल कार्यक्रममा आफनो क्षेत्रमा भएका धार्मिक स्थल, मठमन्दिर गुम्बा, संस्कृति, गुफा ऐतिहासिक सम्पदाका साथै यातायातको साधनलाई पर्यटन स्थलसम्म सहज बनाउनुपर्ने खाँचो देखिएको पनि औंल्याएका छन् । मकवानपुरमा विविध पर्यटकीय स्थल भए पनि यसलाई संरक्षण र सम्वर्धन गर्न जरुरी देखिएकोले पर्यटकीय क्षेत्रको विकाससंगै बजार मूल्य पनि तोकिनु पर्ने वडा नं ३ का अध्यक्ष राजेश केसीले बताए ।     

यस्तै ११ नं वडाका अध्यक्ष किरणमान बलले कार्यक्रममा बोल्दै दामन पालुङ र बज्र बाराहीमा रहेका ऐतिहासिक स्थलहरुलाई उचित व्यवस्थापन र सम्भावना बोकेको ठाउँको खोज र नीतिगत योजनाको साथमा पर्यटनको लागि थाहामा प्रकृतिले दिएको चीज नै काफि छ भने । उनले भने, ‘लभ गार्डेनको संरचना मिलेका ठाउँ छन्, पिकनिक स्पटहरुलाई व्यवस्थित बनाउन सकिन्छ, बज्रबाराहीको गहते मोडको भिरलाई बन्जिजम्प विकास गर्न सकिने कुरा कायृक्रममा प्रस्तुत गरे । 

थाहा नगरपालिका प्रमुख लवशेर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलाल, पर्यटन बिभागका महानिर्देशक दिनेश भट्राई, नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेल, पर्यटन सम्पदा तथा सम्बद्र्धन विकास महाशाखाका निमित्त निर्देशक मणिराज लामिछाने, नेपाल पर्यटन बोर्ड अनुसन्धान योजना अनुगमन महाशाखाका निमित्त निर्देशक सुनिल शर्मा, पर्यटन बिज्ञ रामचन्द्र सेंढाई, अनिल उपाध्याय, भिजिवल आर्टिष्ट लक्ष्मण भुजेल, पूर्व स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्ट, कार्यकारी अधिकृत जीवनप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रताप बिष्ट लगाएतको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०