Friday, 19th June, 2026
वि.स.

थप उपचारका लागि मुख्यमन्त्री पौडेल सेनाको हेलिकप्टरमा काठमाडौं

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं गएका छन् ।

बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हेटौंडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं गएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुने बताइएको छ ।

'मुख्यमन्त्रीको स्वास्थ्यमा खासै समस्या देखिएको छैन । केही सयम अगाडि मुटुको अप्रेशन गरिएको थियो । जसको कारणले समयमै सावधानी अपनाइएको हो,' मुख्यमन्त्रीको सचिवालयले भनेको छ । सचिवालयका अनुसार गत जेठ १९ गते गंगालालमै मुख्यमन्त्री पौडेलको नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लास्टी गरिएको थियो ।

काठमाडौंमा राजनीतिक भेटघाट गरेर फर्किने क्रममा रुघाखोकीसहित कोरोनाको सामान्य लक्षण देखिएपछि बुधबार मुख्यमन्त्री पौडेलको स्वाब परीक्षण गरिएको थियो । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा ७३ वर्षीय मुख्यमन्त्री पौडेलको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०