Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तानाशाही व्यवस्था ल्याउन कांग्रेसले दिंदैन : डिना

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले बर्षौ हराएका नेताहरु जनता झुक्याउन फेरि गाउँ पसेको भन्दै सचेत रहन मतदाताहरुलाई आग्रह गरेकी छिन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय प्रचार कार्यालयको मनहरीमा उद्घाटन गर्दै नेतृ डिनाले जनतामाझ १५ बर्षदेखि नपुगेका नेता अहिले भ्रमको खेति गरेर भोट बटुल्न आएको भन्दै जनताले यस्ता उम्मेदवारबाट सचेत हुनुपर्ने बताएकी हुन् । 

बामगठबन्धनको नाममा भ्रमको खेति शुरु भएको भन्दै विकासका लागि लोकतान्त्रिक गठबन्धन रोज्नुको विकल्प जनतामा नरहेको उनको भनाई छ । स्वतन्त्रतासहितको लोकतान्त्रिक व्यवस्था समाप्त गरि तानाशाही व्यवस्था ल्याउने अभिष्ट बाम गठबन्धनको भएको भन्दै यसलाई नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पुरा हुन नदिने बताईन् । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले १८ बर्ष हराएका ‘पर्यटक उम्मेदवार’ बोकेर त्यस क्षेत्रका निवर्तमान सांसद गाउँ डुलिरहेको भन्दै उनीहरुलाई बर्षौ कहाँ गएका थियौं भनेर जनताले प्रश्न गर्नुपर्ने बताए । आफु मकवानपुरको सबै क्षेत्रमा उत्तिकै भिजेको बताउँदै उनले भाषणबाट नभई कामबाट जनताको मन जित्ने दावि गरे । मकवानपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनको जीत सुनिश्चित भएको भन्दै बानियाँले मकवानपुर क्षेत्र नम्बर २ को विकास गर्नका लागि आफु आएकाले जित्ने दावि गरे । 
नेपाली कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा  राप्रपा क्षेत्रीय अध्यक्ष एवं निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, नेपाली कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्यहरु भीमसेन महत, भरत पराजुली, मनहरी गाउँपालिका चुनाव परिचालन समिति संयोजक भरत पराजुली, महासमिति सदस्य रञ्जन कालाखेति, नगर सभापति आनन्दराम पराजुली, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, राप्रपाका कृष्णहरी थिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा एमाले संगठित सदस्य खड्गबहादुर मोक्तान, माओवादीका नेता खेमराज थिङको नेतृत्वमा २० जना विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

लोकतान्त्रिक गठबन्धनको ३ स्थानमा प्रचार कार्यालय

लोकतान्त्रिक गठबन्धनको मकवानपुर क्षेत्र नम्बर २ को ३ स्थानमा प्रचार कार्यालय स्थापना भएको छ ।

गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र राप्रपाको ३ स्थानमा संयुक्त प्रचार कार्यालय स्थापना भएको हो । मनहरी–६ सुनाचुरी भुलभुले, मनहरी–८ सिमपानी र मनहरी–९ ज्यामिरेमा संयुक्त प्रचार कार्यालय उद्घाटन गरेको प्रवक्ता प्रदिप कोइरालाले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस र राप्रपाका स्थानीय, क्षेत्रीय एवं जिल्ला तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)