nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनवरी १ मा टोपी दिवस, माइतीघर मण्डलामा प्रभातफेरी

काठमाडौँ । नेपालीको पहिचान हराउदै गएको भन्दै जागरुक युवा अभियान नेपालले नेपाली टोपीलाई राष्ट्रिय पहिचानको रुपमा घोषणा गर्न माग गरेको छ । सामुदायिक पहिचानको कुरा उठिरहदा राष्ट्रिय पहिचान नै संकटमा परेको भन्दै सबै जातीय र क्षेत्रीय पहिचानको प्रतिनिधित्व गर्ने टोपीलाई राष्ट्रिय पहिचानको रुपमा घोषणा गर्न माग गरेको हो ।

'विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट हटाइएको छ । नेपालमा सामुदायीक पहिचानको कुरा जोडतोडका साथ उठ्ने गरे पनि राष्ट्रिय पहिचान नै संकटमा पर्न थालेको छ । त्यसैले नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने हाम्रो माग छ ।' अभियानले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बिज्ञप्तिमा भनिएको छ- 'टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्छ, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्छ भने सवैभन्दा मूनिको समथर भागले तराईको प्रतिनिधित्व गर्दछ । त्यसैले नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ । तसर्थ नेपाली टोपी नेपाली पहिचानकारुपमा घोषणा गर्न हामी जोडदार  माग गर्दछौ ।' 

अभियानले यो बर्ष “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” भन्ने नाराका साथ चौथौ नेपाली टोपी दिवस मनाउदै छन् । अभियान अन्तर्गत आगामी आइतबार (१ जनवरी) मा राजधानीको माइतीघर मण्डलामा भेला भएर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाएको छ ।

अभियानले कार्यक्रममा सहभागी हुन् र नेपाली टोपीमा सजिएर सामाजिक संजालमा फोटो राख्न पनि अनुरोध गरेको छ । यस्तो  कार्यक्रम देशका बिभिन्न भाग र विदेशमा पनि गर्न लागिएको अभियानका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।