nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चुनावमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलको प्रतिवद्धता
बालबािलका प्रयोग भए नभएको बालकल्याण समितिले अनुगमन गर्ने

मकवानपुरका प्रमुख राजनीतिक दलका प्रतिनीधिले आफूहरु निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्ने र चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्घता ब्यक्त समेत गरेका छन् ।  प्लान इन्टरनेशनल मकवानपुर, सिविन बाल हेल्पलाइन हेटौंडा, बाल कल्याण समाज मकवानपुरको समन्वयमा आयोजित क्षेत्र नंम्बर ३ को मकवानपुरमा ‘प्रतिनीधि तथा प्रदेशसभा निर्वाचनमा बालअधिकार संरक्षण विषयक अन्तरक्रिया एवम् प्रतिबद्घता कार्यशाला’ का सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेपाली काङ्ग्रेस मकवानपुरका नेता राजीव सुवेदीले राजनीतिक दलहरुले अबका दिनमा चुनावमा प्रचारशैली परिवर्तन गर्नु आवश्यक भइसकेको र बालबालिका त झन् प्रयोग नै गर्न नहुने बताए । ‘चुनावमा पूर्ण रुपमा आचारसंहिता पालना गर्न हामी प्रतिबद्घ छौं, कोही पनि बालबालिका हामी चुनावमा प्रयोग गर्ने छैनौं ।’ उनले भने । एमाले मकवानपुरका सदस्य इन्द्र नेपालले पनि सांस्कृतिक कार्यक्रम हेर्नका लागि केही बालबालिका सहभागी हुने घटना अपवादका रुपमा भएपनि पछिल्लो समय चुनावमा बालबालिका प्रयोग गर्नुहुन्न भन्ने भावना दलहरुमा आएको बताए । ‘दलहरुमा बालअधिकार संरक्षण गर्नुपर्छ भन्ने भावना छ, एमाले मकवानपुरले पनि चुनावमा बालबालिका प्रयोग गर्दैन । ’ उनले भने । माओवादी केन्द्र मकवानपुरका कमानसिं पाख्रीन पृथक, नयाँशक्ति मकवानपुरका सदस्य जीवनमान मोक्तान, राप्रपा मकवानपुरका कोषाध्यक्ष गोपीनाथ न्यौपाने, ग्रीन नेपाल पार्टीका नीता श्रेष्ठले चुनावमा आफूहरु आचारसंहिता पूर्ण रुपमा पालना गर्न तयार रहेको भन्दै बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्घतापत्रमा हस्ताक्षर गरे ।

राजनैतिकदलका प्रमुख एबं नागरिक समाजका प्रतिनिधिहरुले बाल बालिका एबं विद्यालय शान्तिक्षेत्र हुन् भन्ने सिद्धान्तलाई आत्म सात गर्ने छौं भनि गरेको प्रतिबद्धा दिगोहोस् भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका सदस्यहरुले खुला छलफलको क्रममा भन्नु भएको थियो ।

कार्याशालामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं,  लगायतले तोकिएकै समयमा चुनाव भइरहे बालबालिका प्रयोग पनि घट्दै जाने बताए । कार्यक्रममा सिजपका झबिन्द्र ज्ञबाली र जिल्ला बाल कल्याण समितिका सदस्य प्रकाश खतिवडाले बिगतको निर्बाचनमा दलहरुले बालबालिका प्रयोग गरि आचार सहिंता उल्लघंन गरेको तथ्य प्रदशर्न गर्दै अब यस पटकको निर्बाचनमा बाल अधिकारको संरक्षण गर्न आग्रह गर्नु भएको थियो । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आचारसंहिता पूर्ण रुपमा पालना भए नभएको सवालमा अनुगमनका कार्यमा आफूहरु लागिपरेको जानकारी दिए । बाल अधिकारको संरक्षण गर्नु हामि सबैको दायित्व भएकोले निर्बाचन अधि, निर्बाचनको दिन र निर्बाचन पछि बालबालिका प्रयोग भए नभएको बारे सचेत रहन सबैलाई आग्रह गर्नु भएको थियो ।  

यसैबीच निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा निर्वाचनका बेलामा कुनै पनि बालबालिका प्रयोग गर्न नपाइने उल्लेख छ । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधन २०७४ मा बालबालिकासंग प्रत्यक्ष संशोधित बुँदा नम्बर ४ (ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउँन नहुने’ प्रावधान छ । तर निर्वाचनमा बालबालिका प्रयोगमा कमी भएपनि रोकिएको भने पाइदैन ।

प्रतिनिधी तथा प्रदेशसभाको चुनावको प्रचार प्रसार भइरहेको मकवानपुरमा विगतमा झैं बालबालिका पार्टी प्रचारमा नहिडेपनि छिटफुट रुपमा संलग्न भएको भने पाइएको छ । जिल्ला बालकल्याण समिति मकवानपुरका अनुसार स्थानीय तहको चुनावमा एमालेले ६ सय ५० जना, नेपाली काङ्ग्रेसले ६ सय ३९ जना, माओवादी केन्द्रले ४ सय ७९, नयाँशक्तिले ३ सय २, राप्रपाले २ सय ४२ चुनावमा प्रयोग गरेका पाइएको छ । समितिले जिल्लाका विभिन्न ठाउँमा पुगेर समुदायसंग लिएको जानकारीका आधारमा आचारसंहिता विपरित बालबालिका चुनावमा प्रयोग भइरहेको पाइएपछि राजनीतिक दलहरुसंग बालबालिकाको अधिकार हनन् नगर्ने प्रतिबद्घता मागेको थियो । 

स्थानीय तहको चुनावका बेला मकवानपुरका दलले आचारसंहिता पूर्ण पालन गर्ने प्रतिबद्घता जनाएपनि पूर्ण रुपमा कार्यान्वयन भने नगरेका हुन् । यही मंशिर २१ गते हुन लागिरहेको प्रतिनीधि तथा प्रदेश सभाको चुनावमा पनि बालबालिका प्रयोग नगर्न मकवानपुरका दललाई सचेत पार्ने काम फेरी पनि गरिएको छ । 

१५ मंसिरमा जिल्ला बालकल्याण समिति मकवानपुर र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान मकवानपुरले जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधीसंग चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्घता मागेको छ । 

बालबािलका प्रयोग भए बालकल्याण समितिले अनुगमन गर्ने

चुनावमा बालबालिकाको प्रयोगका विषयमा जिल्ला बालकल्याण समिति मकवानपुरले यो पटक पनि मकवानपुरमा अनुगमन गर्ने तयारी गरेको छ । समितिले गत स्थानीय तहको चुनावमा झैं यो पटक पनि अनुगमन गरी बालअधिकार संरक्षणमा सघाउ पु¥याउने समितिका सदस्य प्रकाश खतिवडाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले मकवानपुरमा चुनावमा बालबालिका प्रयोग भए नभएको अनुगमन गर्नका लागि विभिन्न बालअधिकारकर्मी सम्मिलित एघार सदस्यीय अनुगमन समिति समेत निर्माण गरेको बालकल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमालले जानकारी दिए । 

विगतमा गरिएका अनुगमनमा पनि बालबालिका प्रयोग गर्ने कार्य कमी हुदै गएको पाइएकाले यस पटक पनि अनुगमन कार्यलाई निरन्तरता दिइने समितिले जनाएको छ । विगत २०७० सालको चुनावदेखि अनुगमनमा सहभागी हुँदै आएका बालअधिकारकर्मी सुशीलराज गिरी पछिल्लो समय चुनावमा बालबालिका प्रयोग हुने क्रम घट्दो रुपमा रहेको बताउँछन् । भन्छन्,‘अनुगमनमा सहभागी भएको आधारमा भन्नुपर्दा अहिले दलहरुमा बालबालिका प्रयोग गर्नुहुन्न भन्ने भावना विकास भएको पाइएको छ । बालबालिकालाई प्रयोग गर्नु आचारसंहिता विपरित हो भन्ने बुझेकाले पनि हुनसक्छन् खासै प्रयोग भएको भेटिएका थिएनन् । ’ 

बालबालिकाका क्षेत्रमा क्रियाशील संस्थाका बालअधिकार अभियन्ताले चुनावमा बेलामा बालबालिका प्रयोग नगर्ने प्रतिबद्घता दलहरुबाट लिएर त्यसको कत्तिको पालना हुन्छ भन्नेमा चनाखो भइरहनुपर्ने बालअधिकारकर्मी कुमारी वाइवाले बताइन् । ‘बालबालिकाका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधीले संयुक्त रुपमा अनुगमनमा सहभागी भएर बालअधिकार संरक्षणमा सघाउ पु¥याउँने दायित्व यो पटक पनि निर्वाह गर्न हामी लागिपरेका हौं ।’ उनले भनिन्, ‘अनुगमनले बालबालिका प्रयोगलाई एक प्रकारले निरुत्साहित गर्नेछ ।’ 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)