Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङ–थानकोट सुरुङ: ढकालले भने–'पार्टीको पहल सार्थक भयो'

Achyotta-1622391006.jpg

थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोड्ने चित्लाङ–काठमाण्डौँ सुरुङ मार्गको निर्माण आगामी आर्थिक वर्ष २०७८/७९ बाट शुरु हुने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । यसरी सरकारले प्राथमिकतामा राखेर चित्लाङ–काठमाडौँ सुरुङ निर्माणको लागि बजेट बिनियोजन गरेकोमा नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले लामो समयदेखिको पहल सार्थक भएका बताएका छन् ।

थाहा टाइम्ससँग कुरा गर्दै ढकालले थाहा नगरको समृद्धिसँग जोडिएको योजनामा बजेट बिनियोजन गरिनु स्वागतयोग्य भएको बताए । बजेट निर्माण प्रक्रिया चलिरहँदा नेकपा एमाले नगर कमिटीको तर्फबाट आफूले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल दुबैसमक्ष सुरुङ मार्गको लागि बजेट विनियोजन गर्न आग्रह गरेको उनले सुनाए । प्रधानमन्त्री केपी शर्मा ओली २०७३ सालमा थाहा नगर आउँदा नेकपा एमालेले थाहा नगरको समृद्धिको मूल आधारको रुपमा रहेको चित्लाङ–थानकोट सुरुङ मार्ग निर्माणसहितको अवधारणा पत्र बुझाएको थियो । उक्त विषयलाई थाहा नगरको नगर सभाबाटै पारित गरेर अघि बढ्नुपर्नेमा ढकालले जोड दिँदै आएका थिए । यसअघि संघीय सरकारको नीति तथा कार्यक्रममा परेर पनि सुरुङ मार्ग निर्माणको ठोस काम हुन सकेको थिएन । अहिले बजेट बिनियोजन गरेको भनिए पनि कार्यान्वयनको लागि ठोस पहल हुनुपर्ने थाहा नगरपालिका–६ का प्रमोद जोशीले बताए ।

‘नगरमा बजेट विनियोजन भएर पनि काम नभएका थुप्रै उदाहरण छन्’ भन्दै जोशीले त्यसतर्फ सजग हुनु पर्ने औँल्याए । संघ तथा प्रदेश सरकारमा नेतृत्व गरिरहेको दलको स्थानीय प्रमुख भएकोले ढकालले दलको तर्फबाट पहल गर्न सक्ने थाहा–१० का हरि मगर बताउँछन् । एमाले नगर अध्यक्ष ढकालले थाहा नगरको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न संघ र प्रदेश दुबै सरकारसमक्ष पहल गरेको बताए । ‘संघीय बजेटअन्तर्गत कतिपय योजना मन्त्रालयगत रुपमा आउँछन्, केही दिनमा थप जानकारी होला’ उनले भने । पार्टीको तर्फबाट प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयमा थाहा नगरको विकास योजनाहरु लिखितरुपमा माग गरी पठाएको पनि ढकालले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०